आमाको प्रेरणा, दृष्टिविहीन छोराछोरीको प्रगति
दृष्टिविहीन सन्तानको प्रगतिमै चुनकुमारीका लागि ऊर्जा छ । ७५ वर्षको उमेरमा उनी कहिले गुल्मी, कहिले काठमाडौं गरिरहन्छिन् ।
सबैको चाहना हुन्छ, आफ्ना सन्तान कम्तीमा गरिखान सक्ने हुन् । कस्ता सन्तानले गरिखान सक्छन् ? यसमा पनि सामाजिक मानक बनेको छ । तीन दृष्टिविहीन सन्तान जन्मेपछि चुनकुमारी ज्ञवाली (७५) लाई चिन्ता थियो, यिनीहरूले के गरी खालान् ?
त्यसमाथि गाउँलेका बिझाउने शब्द । “घरभरि आँखा नदेख्ने छोराछोरी हुँदा गाउँलेले नाक खुम्च्याउँथे” चुनकुमारी पुराना दिन सम्झिन्छन्, “कतिले त मेरा अगाडि नै पूर्वजन्मको ठूलै पापले गर्दा घरभरि अन्धा छोराछोरी जन्मेका हुन् भन्थे । आज यिनीहरूले गरेको उन्नति धेरैका लागि प्रेरणा बनेको छ ।”
गुल्मीको दरबार देवीस्थान घर भएकी चुनकुमारीका पाँच सन्तानमध्ये सीता, बलराम र निर्मला दृष्टिविहीन छन् । छोराछोरी सानै हुँदा उनका पति टीकाराम टाइफोइडले थला परे । राम्रो उपचार नपाउँदा दृष्टिविहीन हुन पुगे र २०४५ मा उनको मृत्यु भयो ।
यी सबै दुःखका बीच चुनकुमारी आज सन्तानको प्रगति हेरेर दंग छन् । दृष्टिविहीन छोराछोरी आत्मनिर्भर भई सेतो छडीका भरमा धर्तीका विभिन्न मुलुक आउजाउ गरिरहेको देख्दा चुनकुमारीको हर्षको सीमा रहँदैन । उनी भन्छिन्, “आज मैले चयनको सास फेरिरहेकी छु ।”
छोराछोरीले आफूसँग शहरमै बस्न भन्छन्, तर चुनकुमारीलाई आफू हुर्केको गाउँ नै प्यारो लाग्छ । गाउँको घरमा उनी एक्लै बस्छिन्, सकेको काम गर्छिन् । यता, छोराछोरीको मायाले पनि तानिरहन्छ र गुल्मी–काठमाडौं ओहोरदोहोर गरिरहन्छिन् ।
बाटो देखाउँदा
चुनकुमारी आफ्ना दृष्टिविहीन छोराछोरीलाई आत्मनिर्भर बनाउनेबारे सोचिरहन्थिन् । उनका भाइ उमानाथ पन्थी र बहिनीज्वाइँ झविन्द्र ज्ञवाली काठमाडौंमा थिए । ‘काठमाडौंको जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्र’ ले दृष्टिविहीनलाई सहायता गर्छ भन्ने उनीहरूले थाहा पाए । उनीहरूकै सहयोगमा चुनकुमारीले आफ्ना तीन सन्तानलाई काठमाडौं ल्याइन् ।
पहिलोपटक २०३८ मा छोरी सीतालाई काठमाडौं ल्याउँदा उनीहरू दुई दिनसम्म हिंडेर पाल्पाको तानसेन आएका थिए । त्यहाँबाट पोखरा हुँदै काठमाडौं आउन चार दिन लागेको थियो । धेरै दृष्टिविहीन बालबालिकाको हूलमा ठूली छोरी छाडेर गह भिजाउँदै उनी सात दिनपछि घर फिरिन् ।
ओल्गाको आगमन
चुनकुमारीका दृष्टिविहीन छोराछोरीका लागि ज्योति बनेर आइन्, ओल्गा मोर्रे । कतै ट्रेकिङमा जाँदा लडेर खुट्टा भाँचिएकाले खगेन्द्र नवजीवन केन्द्रकै हाताभित्रको अर्थाेपेडिक अस्पतालमा उनको उपचार भइरहेको थियो ।
अमेरिकामा हरेक दृष्टिविहीनले पढ्ने अवसर पाएको देखेकी उनले यहाँ त्यत्तिकै बसेको देखेपछि उनीहरूका लागि केही गर्ने योजना बुनिन् । यही मेसोमा जन्मियो, ‘नेप्लिज युथ अपर्चुनिटी फाउन्डेसन’ । यो संस्थाको सहयोगमा चुनकुमारीकी अर्की छोरी निर्मला पनि गुल्मीबाट काठमाडौं आइन् ।
ओल्गाको सहयोगमा पढेकी निर्मलाले २०५५ मा राजधानीको झम्सिखेलस्थित आइडल मोडेल स्कूलबाट प्रथम श्रेणीमा एसएलसी पास गरिन् । दृष्टिविहीन भएकाले परीक्षामा रेखाचित्र बनाउने प्रश्न छोड्दा पनि उनले एसएलसीमा ६४ प्रतिशत ल्याइन् ।
सन् २००७ मा अमेरिकाको प्रसिद्ध छात्रवृत्ति कार्यक्रम ‘पार्टनरसिप फर लर्निङ अण्डरग्राजुयट स्टडिज’ मा छानिएर उनले २६ महीनाको कोर्स गरिन् । यसमा विश्वभरिबाट छानिएका ६०० ‘स्कलर’ मध्ये मात्र होइन, सो विश्वविद्यालयमा त्यो बेला पढ्ने २६ हजार विद्यार्थीमध्ये पनि उनी एक्ली दृष्टिविहीन थिइन् ।
अमेरिकाबाट फर्किएर झापा गएकी निर्मलाले ६ वर्ष भूटानी शरणार्थीको पुनर्वास परियोजनामा सांस्कृतिक अभिमुखीकरणको काम गरिन् । त्यहाँ उनले अमेरिका जाने भूटानी शरणार्थीलाई अमेरिकाको बाटोमा हिंड्ने, अभिवादन गर्ने, भाँडावर्तन चलाउने, बिजुलीको प्रयोग, खाना भण्डारण, कानून, नयाँ ठाउँमा पुग्दा हुने सांस्कृतिक आघात, चर्पीको प्रयोग, व्यक्तिगत सुरक्षा जस्ता विषय सम्झाउनुपथ्र्यो ।
सन् २०१४ यता भने निर्मला अमेरिकाको सियाटलस्थित ‘द रोज इन्टरनेशनल फन्ड फर चिल्ड्रेन’ को सहकार्य र समन्वयमा सञ्चालित ‘सक्षमता विकास नेपाल’ नामक संस्थामा कार्यकारी निर्देशकको रूपमा कार्यरत छिन् । यो संस्थाले काठमाडौंको त्रिपुरेश्वरमा एउटा ब्रेल पुस्तक भएको पुस्तकालय चलाएको छ । साथै, अपाङ्गता भएका महिलाका लागि पुनः प्रयोग गर्न सकिने ‘स्यानिटरी प्याड’ बनाएर वितरण थालेको छ ।
निर्मलाको दैनिकी निकै व्यस्त छ । अपाङ्गता भएकालाई आत्मनिर्भर बनाउनेबारे बैठक र छलफल लगायत काममा निर्मलाको दिन बित्ने गर्छ । सात वर्षअघि उनले झापामा रहँदा चिनेका जतिलाई आफ्नो जन्मदिनमा ‘उपहारै दिने भए सामान होइन, नगद दिनू’ भनिन् ।
दशैंमा टीका थाप्न जाँदा पाएको दक्षिणा पनि जम्मा पारिन् । एक्लो प्रयासमा दुई वर्षमै रु.३ लाख ५५ हजार रकम जुट्यो । सुनसरीको धरानस्थित ज्ञानचक्षु विद्यालयसँग सम्झाैता गरेर एउटा अक्षयकोष स्थापना गरिन् र नाम दिइन्, समर्पण । त्यसको ब्याजले त्यस विद्यालयका छात्रछात्राले ब्रेल लिपि लेख्ने कागज पाइरहेका छन् ।
चुनकुमारीका अर्का दृष्टिविहीन छोरा बलरामलाई पनि उमानाथ र झविन्द्रको सहयोगमा २०३९ सालमा काठमाडौं झिकाइयो, जतिबेला उनी ७ वर्षका थिए । स्नातकोत्तर उत्तीर्ण बलराम अहिले सार्वजनिक शैक्षिक गुठीबाट सञ्चालित काठमाडौंको लाजिम्पाटस्थित भानुभक्त मेमोरियल विद्यालयका शिक्षक हुन् । “सडकमा म जस्ता आँखा नदेख्नेहरूले भीख मागिरहेको मलाई राम्रोसँग थाहा छ” उनी गम्भीर स्वरमा भन्छन्, “संयोग, साथ र भाग्यले डोर्याउँदै यहाँसम्म ल्याइपुर्यायो, नत्र मेरो पनि त्यही गति हुनेथियो ।”
बलराम अहिले निजी आवश्यकताका सामान आफैं किन्नुका साथै भान्छा र सरसफाइको काम पनि आफैं गर्छन् । उनी भन्छन्, “मलाई परजीवी भइएला भन्ने त्रासले गाँजिरहन्छ, त्यसैले सकेसम्म कसैको सहारा लिन्न । मलाई यो मेरी आमाले सिकाउनुभएको हो ।”
चुनकुमारीकी जेठी छोरी सीताले २०४७ मा कीर्तिपुरको ल्याबोरेटरी स्कूलबाट एसएलसी पास गरिन् । स्कलरसिपमा अमेरिकाको फिलाडेल्फियाबाट कम्प्युटरको ९ महीने तालिम लिइन् । यो अवसरको चाँजो उनलाई ओल्गाले जुटाइदिएकी हुन् ।
त्यसपछि महेन्द्ररत्न क्याम्पस ताहाचलबाट प्रमाणपत्र र स्नातक, त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरिन् । केही वर्ष काठमाडौंको लिटल एन्जल्स स्कूलमा पढाएकी उनी हाल कीर्तिपुरको ल्याबोरेटरी स्कूलमा पढाउँछिन् । उनी शिक्षाशास्त्रमा स्नातकोत्तर गर्ने पहिलो नेपाली दृष्टिविहीन महिला पनि हुन् ।
आमालाई जस
चुनकुमारीले छोराछोरीलाई आफ्नो काम आफैं गर्न प्रेरणा दिइरहन्थिन् । उनले दृष्टिविहीन छोराछोरीलाई दैनिक कामकाजमा आत्मनिर्भर बनाउने मात्रै नभई सामाजिक जीवन पनि सिकाइन् ।
चुलोमा दाउराले आगो बाल्ने, खाना पकाउने, भान्सा र घरभित्रका अन्य सामान ठीकठीक ठाउँमा राख्ने, चुलेसीले तरकारी काट्ने जस्ता सुन्दा सामान्य लाग्ने तर दृष्टिविहीनका लागि अप्ठेरा काम उनले छोराछोरीलाई सिकाउँथिन्, ताकि उनीहरू आत्मनिर्भर बन्न सकून् ।
गाउँमा कसैका घरबाट पूजाआजा, बिहेको निम्तो आउँदा पनि उनले दृष्टिविहीन छोराछोरीलाई साथै लिएर जान्थिन् । कसैले केही भन्लान् भन्ने सोच्दिनथिइन् । उनी भन्छिन्, “पूर्वजन्मको पाप ठानेर अपाङ्गता भएकाहरूलाई घरबाट बाहिर निस्कन नदिने घर–परिवार पनि देखेकी छु । तर मैले त्यसो गरिनँ ।”
निर्मलाले आज आफूले पाएको सफलताको जस आमालाई दिन्छिन् । भन्छिन्, “आमाले घरभित्र र घरबाहिरका काम सिकाउनुभयो । त्यति मात्र होइन, हामीलाई त उहाँले नजानिंदो पाराले सामाजिक वातावरणमा समेत घुलमिल गराउनुभएको रहेछ ।”
बलराम दृष्टिविहीनहरूलाई सामाजिक बन्ने मौका घरबाटै सिकाइनुपर्ने बताउँछन् । यस अर्थमा उनी आमाप्रति कृतज्ञ छन् । उनी भन्छन्, “अरू दृष्टिविहीनको हकमा पनि घर–समाजबाट थोरै मात्र सहयोग भयो, अपाङ्गतालाई स्वीकारियो भने धेरै राहत हुनेथियो ?”
चुनकुमारीका दृष्टि भएका दुई छोराहरू नहेन्द्र र हिमलाललाई घरबाहिर गएर पढ्ने अवसर जुटेन । उनीहरू गाउँमै मुश्किलले खान पुग्ने जग्गामा खेतीपाती गरेर बसे । भाइबहिनीले काठमाडौंमा उभिन सक्ने पृष्ठभूमि तयार पारेपछि उनीहरू पनि अवसर खोज्दै गाउँबाट निस्किए ।
नहेन्द्रले हाल उदयपुर सिमेन्ट कारखानामा सहयोगीको काम पाएका छन् भने हिमलाल काठमाडौंमै अपाङ्गता भएकाहरूको एक संस्थामा रेखदेखकर्ता छन् । हिमलाल भन्छन्, “यिनै दृष्टिविहीन भाइबहिनीको उन्नति र सफलताले हाम्रो परिवारको इज्जत र हैसियत उठाएको छ ।”