कञ्चनपुर तनावग्रस्त, प्रहरीद्वारा १० सेल अश्रुग्यास प्रहार, पाँच प्रदर्शनकारी पक्राउ
कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको घटनामा प्रहरी अनुसन्धानमाथि प्रश्न उठाउँदै स्थानीयले आन्दोलन गरिरहेका छन् ।
आन्दोलनका क्रममा स्थानीयले प्रहरीको म १ झ ७३६५ नम्बरको जीपमा ढुङ्गामुढा गरेपछि प्रहरी र प्रर्दशनकारीबीच झडप भएको छ ।
स्थितीलाई नियन्त्रणमा लिन प्रहरीले १० सेल अश्रुग्यास प्रहार गरेको छ भने पाँचजना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ ।
अभियुक्तका रुपमा दिलिपसिंह विष्टलाई सार्वजनिक गरेर मुख्य अपराधीलाई उन्मुक्ति दिइएको स्थानीयको आरोप छ ।
कञ्चनपुरको महेन्द्रनगर बजारका विभिन्न स्थानमा स्थानीयले प्रर्दशन जारी राखेका छन् भने बजार बन्द गराएका छन् ।
निर्मला हत्याकाण्डमा प्रहरीले सार्वजनिक गरेकाे व्यक्ति निर्दोष रहेको भन्दै यूथ भ्वाइस महेन्द्रनगरले एक घण्टा आँखामा पट्टी बाँधेर मौन आन्दोलन गरेको छ ।
प्रहरीले राजनीतिक दबाबमा मुख्य अभियुक्त बचाउन खोजेको स्थानीयको आरोप छ ।
१० साउनमा साथी रोशना बमको घरमा गएकी निर्मला बेपत्ता भएकी थिइन् । भोलिपल्ट उखुबारीमा उनको शव फेला परेको थियो ।