कलंकीको अण्डरपास बन्द, जाम उस्तै !
कलंकीमा निर्माण गरिएको अण्डरपास सञ्चालनमा आएको एक हप्ता नहुँदै बन्द भएको छ ।
अण्डरपास बन्द भएपछि कलंकीमा पहिलेजस्तै फेरी जाम शुरु भएको छ ।
चीन सरकारको सहयोगमा निर्माण भएको नेपालको पहिलो अण्डरपास १ भदौदेखि सञ्चालनमा आएको थियो ।
तर, अण्डरपास सञ्चालनमा आएको चौथो दिनमै चिनियाँ पक्षले अण्डरपास बन्द गराएको हो ।
चक्रपथ सुधार आयोजनाका अनुसार अण्डरपासमा धुलो उडेर समस्या भएपछि अण्डरपास निर्माणको ठेक्का पाएको चिनियाँ निर्माण कम्पनी शाङ्हाई कन्स्ट्रक्सन ग्रुपले अण्डरपासबाट सवारी साधन सञ्चालनमा रोक लगाएको हो ।
अण्डरपासको लम्बाई ८ सय मीटर छ । निर्माण कम्पनी १ भदौदेखि सञ्चालन गर्न सकारात्मक नभएपनि चक्रपथ सुधार आयोजनाको दबाबमा अण्डरपास सञ्चालन गरिएको थियो ।
कालोपत्रेको काम पूर्ण रुपमा सकेर एक हप्तापछि पुनः अण्डरपास सञ्चालनमा ल्याइने चक्रपथ सुधार आयोजनाले जनाएको छ ।
सन् २०१६ मा अण्डरपास निर्माणको काम शुरु गरिएको थियो ।