कञ्चनपुर बालिका हत्या काण्डः प्रहरी र प्रदर्शनकारीबीच झडप
कञ्चनपुरकी १३ वर्षीया बालिकाको बलात्कार र हत्यामा संलग्न भएको आरोपमा प्रहरीले सार्वजनिक गरेका दीलिपसिं बिष्ट वास्तविक हत्यारा नभएको भन्दै आन्दोलित स्थानीय र प्रहरीबीच महेन्द्रनगरमा झडप भएको छ ।
कञ्चनपुर प्रहरीले भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिकाको बलात्कार र हत्याको आरोपमा भीमदत्त नगरपालिका १९ बागफाँटाका ४१ वर्षीय दीलिपसिंह बिष्टलाई २ भदौमा पक्राउ गरी ४ भदौमा सार्वजनिक गरेको थियो ।
वास्तविक अपराधिलाई उम्काउन प्रहरीले अरु नै व्यक्तिलाई पक्राउ गरेको भन्दै सर्वसाधारण र व्यवसायीले बजार ठप्प पारी प्रदर्शनमा उत्रिएपछि प्रहरीसँग झडप भएको हो ।
आन्दोलनका क्रममा आज, स्थानीयले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको मुल गेटमा प्रदर्शन गरे । प्रशासन कार्यालयको मुलगेटमा प्रदर्शन गरिरहेका केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यसक्रममा प्रहरीले ८ राउण्ड अश्रुग्यास समेत प्रहार गरेको छ ।
प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा दुई प्रहरी र सयौँ प्रदर्शनकारी सामान्य घाईते भएको प्रहरीले जनाएको छ ।
नागरिक संघर्ष समितिका संयोजक मिना भण्डारीले प्रहरीले अपराधि भनी सार्वजनिक गरेका बिष्ट नै वास्तविक हत्यारा भएको मान्न नसकिने बताइन् ।
महेन्द्रनगरका व्यवसायी टेकराज भारतीले प्रहरीले सार्वजनिक गरेका व्यक्ति अपराधी नभएकाले घटनाका वास्तविक दोषिलाई पक्राउ गरेर कार्वाही गर्नुपर्ने बताए ।
कञ्चनपुर प्रहरीले भने प्रारम्भिक अनुसन्धानबाट अपराध दीलिपले गरेको खुलेको दाबी गरेको छ । प्रहरीले विष्टलाई थप अनुसन्धान गर्नका लागि आदालतबाट १० दिनको म्याद थप गराएको छ ।
‘वास्तविक अपराधी पक्राउ गर’
वास्तविक दोषिलाई पक्राउ गर्न नसकेपछि मानसिक सन्तुलन गुमाएका दिलिपसिंह बिष्टलाई अपराधी करार गरी मुख्य दोषीलाई उम्काउन खोजेको बालिकाका आफन्तले आरोप लगाएका छन् ।
बालिकाका दाजु पर्ने स्थानीय लक्ष्मीदत्त भन्छन्,“बिष्ट घटनाका वास्तविक दोषी होइनन्, उनीमाथि दोष थुपारेर मुख्य दोषीलाई उम्काउन खोजिदै छ ।”
घटनालाई ढाकछोप गर्न मानसिक अवस्था ठिक नभएको व्यक्तिलाई अपराधि बनाइएपछि स्थानीय थप आक्रोशित बनेको नागरिक समाजका अध्यक्ष भवराज रेग्मीले बताए ।
रेग्मीका अनुसार घटनाका आरोपी बिष्ट प्रायः घरमा पनि बस्दैनन् । माग्दै हिंड्छन्, जे भेट्यो त्यही खान्छन् । लुगा कसरी लगाउने भन्ने पनि थाहा छैन् । सडक पेटीमै दिनरात बिताउँछन् । “यस्तो व्यक्तिले बलात्कार गरी हत्या गर्यो होला भन्नेमा शंका छ,” उनले भने ।
प्रहरीको दबाब
अभियुक्त बिष्टले अहिलेसम्म प्रहरी कार्यालयमा अपराध स्वीकार नगरे पनि उनले अपराध स्वीकारेको भन्दै प्रहरीबाट बयानबाजी गरिनु दुखद भएको दीलिपका दाजु खड्ग बिष्टले बताए ।
उनले भने, “जबर्जस्ती अपराध स्वीकार्न प्रहरीले भाइलाई यातना दिइरहेको छ ।”
बिष्टलाई पक्राउ गर्नुअघि प्रहरीले भिमदत्त नगरपालिका–२ का २३ वर्षीय चक्रदेव वडुलाई पक्राउ गरेको बालिकाका आफन्त लक्ष्मीदत्त पन्तले बताए ।
पन्तका अनुसार प्रहरीले बडुलाई अपराध स्वीकार गर्न दबाब दिए पनि उनले स्वीकार नगरेपछि रिहा गरेको थियो ।