नयाँ पर्यटकीय गन्तव्य: चन्द्रागिरी
धार्मिक र ऐतिहासिक घटनाका कारण चर्चित चन्द्रागिरि पर्यटकीय गन्तव्यको रूपमा अगाडि आएको छ।
धार्मिक र ऐतिहासिक दुई कुरा जोडिएको काठमाडौंको चन्द्रागिरि डाँडो अहिले दोस्रो पटक केबलकारको कारण चर्चामा छ। दैनिक हजारौं मानिस आधुनिक केबलकारमा चढेर समुद्र सतहबाट २,५५१ मिटर अग्लो चन्द्रागिरि पुगिरहेका छन्।
यसअघि चन्द्रशमशेरको पालामा १९८१ सालमा सरकारी तवरबाट धोर्सिङ्ग–चिसापानी–चन्द्रागिरि रोप–वे संचालन भएपछि चन्द्रागिरिको नयाँ ढंगको चर्चा भएको थियो। ९२ वर्षपछि अहिले व्यवसायी चन्द्र ढकाललगायतले निजी क्षेत्रबाट चन्द्रागिरिमा केबल कार सञ्चालन गरेका हुन्।
थानकोट, चित्लाङ र मार्खु आसपासका बासिन्दा उहिल्यैदेखि हिन्दू धार्मिक मान्यता अनुसार भालेश्वर महादेवको पूजा गर्न चन्द्रागिरि जाने गरेका छन्।
चन्द्रागिरिबाट काठमाडौं उपत्यका नियालेपछि पृथ्वीनारायण शाह नेपाल एकीकरणमा उत्प्रेरित भएको अर्को ऐतिहासिक सन्दर्भ छ। काठमाडौं उपत्यकामा चढाइँ गर्नुअघि उनले भालेश्वर मन्दिरमा पूजापाठ गरेको भनाइ छ।
गएको २८ साउनदेखि जोडिएको केबल कारले भने चन्द्रागिरि डाँडोलाई पर्यटकीय गन्तव्यका रूपमा चर्चामा ल्याएको छ।
रु.७०० मा ओहोर–दोहोर
केबलकार सञ्चालक कम्पनी चन्द्रागिरि हिल्स लि.का महाप्रबन्धक अभिषेकविक्रम शाहका अनुसार अहिले दैनिक सरदर तीन हजार आन्तरिक तथा बाह्य पर्यटक चन्द्रागिरि पुग्न थालेका छन्। सार्वजनिक विदाका दिन यो संख्या दोब्बर हुन्छ।
चन्द्रागिरिलाई अन्तर्राष्ट्रियस्तरको सेवा सुविधासहितको पर्यटकीय गन्तव्य बनाउने उद्देश्य अनुसार थप काम भइरहेको शाहले बताए।
ढकाल अध्यक्ष रहेको कम्पनीले सरकारबाट ४० वर्षका लागि चन्द्रागिरि डाँडोको ७२० रोपनी जमीन भाडामा लिएर केबलकार सञ्चालनमा ल्याएको हो।
कम्पनीले सरकारलाई वार्षिक रु.१ लाख ८० हजार भाडा तिर्नुपर्छ। करीब १०० रोपनी क्षेत्रमा विभिन्न संरचना निर्माण भइरहेको छ। केबलकार त्यसैभित्र पर्छ, जसको कुल लागत रु.३ अर्ब हुनेछ।
कम्पनीले चन्द्रागिरिको २,५५१.३० मिटर उँचाइमा रहेको भालेश्वर मन्दिरलाई पगोडा शैलीमा पुनर्निर्माण गरेको छ। मन्दिर परिसरबाट काठमाडौं उपत्यका र अन्नपूर्णदेखि सगरमाथासम्मको हिमशृंखला देखिन्छ।
मन्दिर पश्चिमको २,५४७ मिटर उँचाइमा भ्यू–टावर बन्दैछ भने त्यसको दक्षिण–पश्चिममा बाल उद्यान र पश्चिममा सभा हल। यी दुवै स्थानबाट पनि काठमाडौं उपत्यका र हिमशृंखला दृश्यावलोकन गर्न सकिन्छ। बार, रेस्टुरेन्ट, फास्टफुड सेन्टरलगायतका सुविधा भएको चन्द्रागिरिमा आफैंले खानेकुरा लैजान भने पाइँदैन।
यो पिकनिक स्थल नभएको र सरसफाइलाई ध्यानमा राखेर पर्यटकलाई खानेकुरा नल्याउन भनिएको जनसम्पर्क अधिकृत रूपा श्रेष्ठ बताउँछिन्।
डाँडाको दक्षिणी थुम्कोमा चन्द्रागिरि हिल्स लि.ले नै पाँचतारे रिसोर्ट बनाइरहेको छ। यो निर्माण सम्पन्न भएपछि पर्यटकहरूले चन्द्रागिरिमै रात विताउन पाउने छन्।
त्यसपछि प्याराग्लाइडिङ र जीप लाइन सञ्चालनमा ल्याउने कम्पनीको योजना छ। त्यसका लागि भने केही समय लाग्ने महाप्रबन्धक शाहले बताए।
अहिले केबलकारले समुद्री सतहबाट १,५६४ मिटर उँचाइको फेदबाट २,५२० मिटरको उँचाइमा रहेको माथिल्लो स्टेशनमा पुर्याउँछ। केबलकारका ३८ वटा डब्बा (गोन्डालो) ले एक घण्टामा एक हजार यात्रुलाई आवतजावत गराउँछन्। एउटा गोन्डालोमा बढीमा आठ जना बस्न मिल्छ।
कम्पनीका जनसम्पर्क अधिकृत श्रेष्ठका अनुसार, ९.६ मिनेटको दूरी भए पनि यात्रुको चाप र चढ्न–ओर्लिन लाग्ने समयका कारण १४ मिनेटसम्म लाग्ने गरेको छ।
कम्पनीले प्रतियात्रु एकतर्फी रु.४१५ र दुईतर्फी रु.७०० लिने गरेको छ। बालबालिका, विद्यार्थी, वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति र स्थानीयलाई छूटको व्यवस्था गरिएको जनसम्पर्क अधिकृत श्रेष्ठले बताइन्। सार्क राष्ट्रबाहेकका यात्रुलाई भने एकतर्फी १३ अमेरिकी डलर र दुईतर्फी २२ डलर तोकिएको छ।
नेपालमा केबलकार
चन्द्रागिरि केबलकार अस्ट्रियाको 'डोप्लमेयर' कम्पनीको प्रविधि हो। महाप्रबन्धक शाह केबलकार शतप्रतिशत सुरक्षित रहेको बताउँछन्। उनका अनुसार, हरेक पटक पर्यटकका लागि खुला गर्नुअघि कम्पनीका इन्जिनियरहरूले केबलकारको अवस्था जाँच्छन् र बिहान ९ देखि साँझ् ५ बजेसम्म निगरानी पनि गरिरहेका हुन्छन्।
बेलायतले सन् १८९३ मा आफ्नो उपनिवेश रहेको दक्षिण स्पेनको जिब्राल्टर शहरमा सैनिक बोक्न केबलकार निर्माण गरेको दुईदशकपछि प्रधानमन्त्री चन्द्रशमशेरको पालामा नेपालमा बनेको रोपवे २२ किलोमिटर लामो थियो। २०२१ सालमा अमेरिकी आर्थिक सहयोगमा त्यसलाई हेटौंडासम्म विस्तार गरेर ४२ किमिको बनाइयो।
त्यसपछि नेपालमा २०४१ सालमा १२०० मिटरको आँधीखोला, २०४६ मा १८०० मिटरको झिम्रुक, २००० मिटरको खिम्ती रोपवे र २०५५ सालमा मनकामना केबलकार बनेका थिए।
नवौं पञ्चवर्षीय योजनामा सरकारले निजी क्षेत्रलाई केबलकार निर्माणमा सहभागी गराउने नीति लिएपछि यसको विस्तार हुन थालेको छ। रोपवे नेपाल प्रा.लि. र रोपवे तथा केबलकार प्रा.लि.ले एक दर्जनभन्दा बढी सम्भाव्यता अध्ययन गरेको छ। केही निर्माणको चरणमा र केही निर्माणको तयारीमा रहेको ती कम्पनीहरूले जनाएका छन्।
चीन, क्यानडा, स्वीट्जरल्याण्ड, बोलिभिया, ब्राजिल, फ्रान्स, न्यूजिल्याण्डलगायतका देशले केबलकारको सञ्जाल विस्तार गरेका छन्। चीनले 'हेभन्स गेट माउन्टेन' मा संसारको सबभन्दा लामो (७,४५५ मिटर) ताइमन शान केबलकार संचालन गरेको छ।
'अन्य ठाउँमा पनि सम्भाव्यता अध्ययन गरिरहेका छौं'
चन्द्र ढकाल
अध्यक्ष, चन्द्रागिरि हिल्स लि.
चन्द्रागिरिमा केबलकार चलाउने सोच कसरी आयो?
व्यावसायिक कामको सिलसिलामा विभिन्न देश घुम्दा पर्यटकीय स्थलहरू हेर्ने मौका पायौं। ती देशहरूमा केबलकारसहितका पर्यटकीय पूर्वाधारले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरेजस्तै नेपालमा पनि गर्न सकिन्छ भन्ने सोचले काठमाडौंका विभिन्न स्थान हेर्यौं र चन्द्रागिरि रोज्यौं।
यत्रो लगानीको कस्तो प्रतिफल अनुमान गर्नुभएको छ?
व्यवसायमा प्रतिफल मुख्य कुरा हो। उपत्यकाका करीब ५० लाख मानिसका लागि छुट्टी मनाउन निस्किने ठाउँको अभाव थियो। विदेशी पर्यटकको लागि यो मुख्य गन्तव्य हुन्छ भन्नेमा हामी विश्वस्त छौं। शुरुआतकै चरणमा स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण उत्साहजनक छ।
रिसोर्ट, प्याराग्लाइडिङ लगायतका संरचना कहिलेसम्म बनिसक्छ?
डेढ वर्षभित्र सबै पूर्वाधार निर्माण गरिसक्ने गरी काम भइरहेको छ।
चन्द्रागिरिमा खानेकुरामा समेत एकाधिकार गर्नुभयो भन्ने गुनासो छ नि?
हामीले सेवाको गुणस्तरलाई महत्व दिएका छौं। विश्वको उत्कृष्ट केबलकार निर्माता डोप्लमेयर कम्पनीको प्रविधि प्रयोग गर्यौं। सम्पूर्ण पूर्वाधार पनि त्यही अनुसारको छ। अरू बस्तु तथा सेवालाई पनि त्यही मापदण्ड अनुरूप बनाउन यो नियम लागू गरेका हौं।
अन्य ठाउँमा पनि केबलकार सञ्चालन गर्ने योजना छ?
नेपालमा केबलकार व्यवसायको ठूलो सम्भावना भएकोले अन्य ठाउँका धार्मिक तथा पर्यटकीय गन्तव्यहरूमा पनि सम्भाव्यता अध्ययन गरिरहेका छौं।