‘बलात्कार रोक्न यौन शिक्षा’
अदिती अधिकारी
महिला–पुरुषबीचको समानतामा बाधक सामाजिक सोच र झाङ्गिदै गएको दण्डहीनताको अन्त्यसँगै कहालीलाग्दो बलात्कार रोक्ने अबको अपरिहार्य शर्त हो– घरपरिवारदेखि विद्यालयसम्म यौन शिक्षा ।
म १३–१४ वर्षकी छँदा काठमाडौंको एउटा चोकमा उभिएका सैनिक पोशाकधारी दुई व्यक्तिले मलाई नराम्रो किसिमले छुन खोजे । सशस्त्र द्वन्द्वको त्यो बेला सैन्य पोशाक आफैंमा त्रासको पर्याय जस्तै थियो । तर, एउटा फोन गर्नासाथ प्रहरीको भ्यान आयो र उनीहरुलाई समातेर लग्यो ।
त्यो घटनाले प्रहरीको तत्परताप्रति यतिसम्म विश्वस्त बनायो कि म काठमाडौंका सडकमा राति ९–१० बजेसम्म निर्धक्क हिंड्न सक्ने भएँ । भारतको नयाँदिल्लीमा २०६९ सालको पुसमा भएको सामूहिक बलात्कार आङ सिरिङ्ग पार्ने खालको भए पनि मनको कुनै कुनामा लाग्थ्यो– धन्न नेपालमा चाहिं त्यस्तो हुँदैन !
प्रहरीको तत्परता धेरै कुरामा निर्भर हुँदोरहेछ । सम्भवतः खबर गर्ने मान्छे को हो, कस्तो छ र कसरी बोल्यो भन्ने कुरा हेरिंदोरहेछ । नभए कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी बालिकाका आमाबाबुलाई ‘तिमीहरूकी छोरी भोलि खोजौंला’ भन्ने आँट प्रहरी हबल्दारले कसरी गर्थे ?
दुई–तीन महीना भयो, दिनहुँजसो बलात्कारका समाचार आइरहेका छन् । स–साना बालिका पनि बलात्कृत भएका छन्, कतिको घाँटी निमोठिएको छ । प्रहरीको कर्तव्यपरायणतामाथि पनि प्रश्न उठेको छ । बलात्कारका मुद्दाहरु लाजै लाग्ने गरी तन्काइएका छन् भने अभियुक्तहरुलाई सजिलै छाडिंदैछ । दण्डहीनता चुलिएको छ ।
किशोरावस्थामा नडराई हुर्केकी म अहिले त्रस्त बनेकी छु । सोच्छु– शहरमा हुर्केकी र विदेशमा पढेकी मलाई त यस्तो डर लाग्छ भने दूरदराजका कमजोर, कलिला, सरल र चञ्चल किशोरी युवतीहरू कति जोखिममा होलान् ! साप्ताहिक खबरपत्रिका हिमाल का लागि बलात्कारका विषयमा अन्तरक्रिया गर्ने तयारीका क्रममा सांसदहरु, वकिल, प्रहरी, सामाजिक अभियन्ता र डाक्टरहरूसित कुरा गर्दा थाहा भो– यो शहर पनि हामीले अनुभूति गरेभन्दा निकै असुरक्षित रहेछ ।
त्यसक्रममा एकजनाले भन्नुभो– “बलात्कार यौन इच्छाले हुने होइन । पीडकहरूले यौन इच्छा पूरा गर्नका लागि बलात्कार गर्छन् भने बच्चीहरू किन बलात्कृत भइरहेछन् ?”
बलात्कार यौन होइन, हिंसा हो । अहिले पनि हिंसा गर्नेलाई सजाय दिनु साटो हामी पीडितलाई दोष दिन्छौं । पीडितका कुरा नपत्याए जस्तो गर्छौं । कोहीमाथि यौन दुव्र्यवहार भयो भने अझै पनि ‘त्यस्तो लुगा लगाउनुहुँदैनथ्यो’, ‘एक्लै हिंड्नुहुँदैनथ्यो’, ‘त्यहाँ जानुहुँदैनथ्यो’ भनिन्छ । हाम्रो समाज बलियालाई सजाय दिन भन्दा कमजोरलाई गाली गर्न सजिलो मान्छ ।
समाजका कमजोर सदस्यहरूलाई सुरक्षाको अनुभूति गराउने कठिन काम पन्छाउँदै हामी उनीहरूको सुरक्षाको जिम्मा उनीहरूलाई नै सुम्पेर आफ्नो जिम्मेवारीबाट भाग्न खोज्छौं । उनीहरूलाई आफ्नो जीउ ढाक्न भन्छौं, अँध्यारो भएपछि बाहिर नजान भन्छौं, तर त्यसबाहेक केही गर्न सक्दैनौं । म जस्ता कम्प्युटर बोक्ने र अंग्रेजी बोल्ने महिलाका कुरा बाध्यतावश समाजले सुन्छ, तर धेरै महिला, बालबालिका, तेस्रोलिङ्गी र पीडितहरूको आवाज दबाइन्छ ।
अहिले बलात्कारीलाई मृत्युदण्ड दिनुपर्छ भन्ने आक्रोश पनि सुनिन्छ । तर, मृत्युदण्ड समस्याको समाधान होइन । मृत्युदण्ड आफैंमा मानवअधिकार विरुद्धको कुरा हो । नेपाल पक्षराष्ट्र रहेका अन्तर्राष्ट्रिय सन्धि र सम्झौताहरूले पनि मृत्युदण्डलाई समर्थन गर्दैनन् । बलात्कारमा सजाय सम्बन्धी अहिलेको कानूनी व्यवस्थाबाटै बलात्कारीहरू उम्किन सफल भइरहेकाले दण्डहीनताको यो अवस्था अन्त्य नभएसम्म बलात्कारका घटनामा कमी आउने छैन ।
बलात्कार आखिर यतिविघ्न किन बढिरहेछ ? यसमा थुप्रै कुरा जोडिएका छन्, जसमध्ये केही कुरामा आमूल परिवर्तन आवश्यक छ । अहिलेसम्म हामीले पढेको र पढाउने यौन शिक्षा व्यावहारिक नभएर कृत्रिम छ । गर्भनिरोधक साधनबारे पढाउनु यौन शिक्षा होइन । हामीले आफ्ना शरीर, अर्को व्यक्तिप्रतिको आकर्षण र यौन इच्छाबारे सिकायौं भने मात्र बालिका, किशोरीहरुले आफूमाथि हिंसा भएको कुरा बेलैमा थाहा पाउँछन् । यौन र यौन हिंसाबारे सानैदेखि बालबालिकालाई सिकाउन अत्यावश्यक भइसकेको छ ।
समाजले महिलालाई यौनिकता नभएका र पुरुषलाई यौन आवश्यकता भएका पात्रको रूपमा चिन्छ । जुन कुराका लागि महिलाले लाज मान्नुपर्छ, पुरुषका लागि त्यो सामान्य हो भनिन्छ । महिला र पुरुषलाई हेर्ने यही दृष्टिकोणका कारण हुनसक्छ, समाजले पुरुषलाई पीडितका रुपमा देख्दैन । पुरुषको बलात्कार भएको छ भन्ने कानूनले पनि मान्दैन ।
यौन हिंसाका कैयौं पाटा छन् । यसको समाधानका लागि सबभन्दा पहिले महिलाको अस्तित्वलाई पुरुषसँग जोडेर हेर्ने नजर बदल्नुपर्छ । दोस्रो, समाजका सबैभन्दा कमजोर सदस्यहरूको सुरक्षामा ध्यान दिनुपर्छ । तेस्रो, सकारात्मक यौन शिक्षामा जोड दिनुपर्छ । बलात्कार, यौनजन्य हिंसा र शोषणका कथाहरूले समाजलाई नै विचलित बनाइरहेका बेला हिमाल ले यिनै विषयमा केन्द्रित रहेर अन्तरक्रिया आयोजना गरेको थियो ।
अन्तरक्रियामा प्रतिनिधि सभाका सदस्यद्वय पवित्रा निरौला खरेल र पुष्पा भुसाल, मनोविद् डा. गंगा पाठक, अधिवक्ता सुष्मा गौतम, नेपाल प्रहरीको महिला तथा बालबालिका सेवा निर्देशनालयका प्रहरी उपरीक्षक (एसपी) किरण राणा, डा. यास्मिन श्रेष्ठ, पत्रकार तथा अभियन्ता नम्रता शर्मा र सुप्रिया मानन्धर, शिक्षक आयुष्मा रेग्मी तथा महिला मानवअधिकार रक्षक सञ्जालमा कार्यरत सामाजिक अध्येता नारायणी देवकोटा सहभागी हुनुहुन्थ्यो ।
मूलतः महिलाको विषयमा आयोजित यो अन्तरक्रियाका सबै सहभागी महिला हुनुहुन्थ्यो । यसलाई सकभर प्रश्नोत्तरभन्दा छलफलमुखी बनाउने प्रयास गरिएको थियो ।
छापामा आएका पछिल्ला खबर अनुसार २०७०/७१ यताका तीन वर्षमा ३००५ वटा बलात्कारका घटना प्रहरीमा दर्ता भएका छन्। दैनिक औसतमा बलात्कारका तीन घटना भएको तथा यो अवधिमा ६७४ जना १० वर्षमुनिका बालिका बलात्कृत भएको देखिन्छ। अर्थात्, प्रत्येक दुई दिनमा एक जना १० वर्षमुनिका बालिका बलात्कृत भइरहेका छन्। सजायको व्यवस्था पनि पीडितको उमेर अनुसार नै छ, होइन ?
सुष्मा गौतम, अधिवक्ताः हो, उमेर अनुसारकै सजाय निर्धारण गरिएको छ । पुरानो मुलुकी ऐनले न्यूनतम पाँच वर्षदेखि अधिकतम १५ वर्षसम्म सजाय सीमा तोकेको थियो । सामूहिक बलात्कार तथा अशक्त, गर्भवती र अपाङ्गता भएका महिलालाई बलात्कार गरेमा थप पाँच वर्ष सजाय हुने व्यवस्था थियो । पुरानो मुलुकी ऐनमा १६ वर्षभन्दा माथिकालाई बालिग मानिएको थियो ।
१ भदौदेखि लागू भएको नयाँ कानून (मुलुकी फौजदारी संहिता) मा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार १८ वर्षलाई बालिग मानिएको छ । अब १८ वर्षमुनिकालाई बालबालिका मानिनेछ । हिजो यो उमेरभित्रकालाई बलात्कार गर्नेमाथि १० वर्षदेखि १५ वर्षसम्म सजाय हुने गरेकोमा अब त्यसलाई बढाएर १५ देखि २० वर्ष बनाइएको छ ।
अहिले बलात्कारको जुन कहालीलाग्दो तस्वीर बाहिर आइरहेको छ, कतै यो दशवर्षे द्वन्द्वकालकै दण्डहीनताको निरन्तरता त होइन भन्ने आशंका पनि छ । जतिखेर म पीडितका फाइल पढ्न थाल्छु, तब कानून व्यवसायी मात्र भइरहन सक्दिनँ । मन भक्कानिएर आउँछ । हामीसँग कानून त छ, तर पीडितको पक्षबाट अनुसन्धानको पाटो र त्यहाँका ‘लुपहोल’ हरु पनि हेर्न जरुरी छ ।
म महिला कानून विकास मञ्चसँग आबद्ध छु । हामी प्रतिवादीको तर्फबाट होइन, सधैं पीडितको तर्फबाट सरकारी वकिललाई नै सहयोग गरिरहेका हुन्छौं । तर, धेरैजसो घटनामा अनुसन्धान पूर्ण र ठीकसँग भएको देखिंदैन । अर्को कुरा, प्रहरीमा जाहेरी पनि निकै ढिलो दर्ता हुन्छ ।
माया वा लोभ देखाएर स–साना बालबालिका र बौद्धिक अपाङ्गता भएका बालबालिका बलात्कारको शिकार बनिरहेको, शिक्षकबाटै विद्यार्थी बलात्कृत बनेको दर्दनाक दृश्य हेर्दा बलात्कारबारे बुझ्दै/नबुझेका बालबालिकामाथि यस्तो क्रूर हिंसा गर्नेहरुलाई सजायको मात्रा अझ बढी हुनुपर्छ । अर्को कुरा, मुलुकी फौजदारी संहिताले वैवाहिक बलात्कारको मर्मलाई खुम्च्याउन खोजेको छ । पति–पत्नीबाहेक अरुले बेमञ्जुरीमा यौनसम्पर्क गर्दा मात्र बलात्कार मान्ने भन्ने आशयको भाषा छ ।
नम्रता शर्मा, पत्रकार/अभियन्ताः उमेर अनुसार भन्दा पनि सजाय सबैलाई बराबर हुनुपर्छ । सजाय सकेसम्म कडा हुनुपर्छ, तर उमेर अनुसार फरक गरिनुहुन्न । जस्तो कि, ८० वर्षकी वृद्धामाथि हुने बलात्कार स–साना बालिकामाथि हुने बलात्कारभन्दा कम दर्दनाक होइन ।
बलात्कारका घटनामा अनुसन्धान
बलात्कारका घटनाको जाहेरी प्रहरीमा दर्ता भइसकेपछि अदालतसम्म कसरी पुग्छ ? अर्थात्, यसको अनुसन्धान कसरी हुन्छ ?
किरण राणा, प्रहरी उपरीक्षकः नेपाल प्रहरीको महिला तथा बालबालिका सेवा निर्देशनालय अन्तर्गत देशभर २४३ वटा महिला तथा बालबालिका सेल कार्यरत छन्, जसले महिला, बालबालिका र अपांगता भएका व्यक्तिहरुका समस्या हेर्छन् । हामीलाई कतैबाट कुनै सूचना वा प्रहरी कन्ट्रोल १०० मा कल आउनासाथ बाटोको अवधिबाहेक १० मिनेटभित्र घटनास्थलमा पुगिसकेका हुन्छौं ।
बलात्कार जस्ता घटना हुँदा घटनास्थलमा हाम्रो विशेष टीम ‘सिन अफ क्राइम अफिसर्स’ पुगेको हुन्छ । त्यसले घटनास्थलको अनुसन्धान गर्ने, त्यहाँको वस्तुस्थिति अध्ययनदेखि मुचुल्का उठाउने, घटनास्थलको प्रमाण संकलन गर्ने र प्रत्यक्षदर्शीको राय लिने काम गर्छ । तर, धेरैजसो पीडितले जाहेरी नै ढिलो दर्ता गराउँछन् ।
त्यसमा विभिन्न कारणले भूमिका खेलेका हुनसक्छन्, तर त्यसबाट अनुसन्धानमा जटिलता थपिन्छ । बलात्कारको घटनामा गोपनीयता कायम राख्न पीडित आफैंले जाहेरी दिन सक्ने भएमा सकेसम्म पीडितकै जाहेरी लिइन्छ । यद्यपि, पीडितले बोलेका आधारमा पनि प्रहरीले जाहेरी लिन सक्छ ।
पीडितसँग गरिने कुराकानी गोप्य हुन्छ । प्रश्न सोध्ने महिला प्रहरी हुन्छन् । सञ्चारमाध्यममा नाम परिवर्तन गरेर आएजस्तै हामी पनि पीडितका कुरा ‘डिकोड’ गर्छौं । पीडितको जाहेरी लिनुभन्दा पहिले वा तत्क्षण शरीरमा देखिने वा लागेका वीर्य, प्यूबिक हेयर (रौं) तथा चिथोरेका, कोतरेका घाउचोट लगायतका प्रमाण संकलन गर्न महिला प्रहरीका साथ सरकारी अस्पतालमा लैजान्छौं ।
त्यसक्रममा पीडितको नाम भने खुलाइँदैन । पीडितको बयानपछि अभियुक्त फेला परेमा उसको पनि बयान लिइन्छ । यसबीचमा सरकारी वकिलहरुसँग पनि कुरा भइरहेको हुन्छ ।
प्रहरी अनुसन्धानमा के देखियो ? पीडित भनिएको व्यक्ति साँच्चिकै पीडित हो कि होइन ? बलात्कार हो या बलात्कार प्रयास मात्र ? बलात्कारपछि हत्या हो या अपहरण, बलात्कार र हत्या सँगसँगै जोडिएको छ ? यी सबै कुरा निक्र्योल गरेर हामी सरकारी वकिलसमक्ष घटनास्थलमा फेला परेका र स्वास्थ्य परीक्षणबाट संकलित प्रमाणसहित प्रस्तावित राय प्रस्तुत गर्छौं ।
नेपाल प्रहरीसँग भएका साधन–स्रोतले भ्याएसम्म अनुसन्धान हुन्छ । अभियुक्तले ढाँटेको जस्तो लागेमा ‘पोलिग्राफ टेस्ट’ गरिन्छ । बलात्कारको मुद्दामा कुनै चीज पनि ‘कन्टामिनेसन’ हुन नपाओस् भनेर वीर्य लगायतका संकलित प्रमाण फरेन्सिक विज्ञकहाँ पठाउँछौं । नेपाल प्रहरीको आफ्नै फरेन्सिक ल्याब पनि छ ।
डा. यास्मिन श्रेष्ठ, चिकित्सकः प्रहरीले नै पीडितलाई अस्पतालसम्म ल्याउँछ । सामान्यतया पीडितसँग हाम्रो एकदमै थोरै समय हुन्छ । पीडित आउनासाथ हामी शारीरिक परीक्षण शुरु गर्छौं । भावनात्मक रुपमा त्यो निकै गाह्रो अवस्था हुन्छ । एक तहको सहज अवस्था बनाएर ‘हाइमन रप्चर’ देखि शरीरका घाउचोट आदि चेकजाँच गर्छौं । कहिलेकाहीं यातना दिइएको अवस्था पनि हुन्छ । शरीरका घाउचोट वा ‘स्क्र्याच’ हरुको जाँच पनि गर्छौं र त्यसको सबै नतिजा प्रहरीलाई बुझाउँछौं ।
बालिकाहरुमा देखिए पनि हाइमन रप्चर (योनिच्छेद च्यातिएको) सबैमा नदेखिन सक्छ। त्यस्तो अवस्थामा के गर्ने ?
नारायणी देवकोटा, अधिकारकर्मी: बालिकाहरुमा धेरै प्रमाण भेटिन सक्छन् । तर, अलि उमेर पुगिसकेका महिलाको हकमा चाहिं अलि गाह्रो नै होला ।
किरण राणाः बलात्कार वा बलात्कारको प्रयास भन्ने दुई वटा अवस्था हुन्छन् । बलात्कारमा ‘डाइरेक्ट पेनिट्रेट’ हुन्छ भने बलात्कार प्रयासमा ‘पेनिट्रेट’ हुँदैन । ‘पेनिट्रेट’ भएको र त्यसमा बालबालिका रहेको अवस्थामा ‘हाइमन रप्चर’ देखि प्यूबिक हेअर, अभियुक्तको नङ र र्यालको नमूना पनि फेला पर्न सक्छ ।
नम्रता शर्माः पेनिट्रेसनकै केसमा पनि कतिपय अवस्थामा ढुंगा र पाइप छिराएको समेत पाइन्छ । यो अवस्थामा वीर्य र हाइमन रप्चर मात्र हेरेर हुँदैन ।
बलात्कार बढेको कि रिपोर्टिङ
सञ्चारमाध्यमहरुमा दिनहुँजसो बलात्कारका समाचार आइरहेका छन्। अहिले बलात्कारका घटना साँच्चै बढेका हुन् या यसको उजुरी गर्ने क्रम मात्र बढेको हो ?
नम्रता शर्माः प्रजातन्त्रको पुनस्र्थापना र महिला आन्दोलनपछि नै सञ्चारमाध्यममा यस्ता कुरा आउन थालेका हुन् । मेरो विचारमा बलात्कारका घटना बढेका होइनन् । बरु पहिले बाहिर नआउने यस्ता घटना क्रमशः आउन थालेका हुन् ।
सुप्रिया मानन्धर, पत्रकार/अभियन्ताः सञ्चारमाध्यममा आएका समाचारले सबैलाई यसबारे जानकारी दिएका छन् । पीडितबारे थाहा पाउनु पनि पर्छ । पीडितबारे थाहा पाएपछि नै हामी सहानुभूति व्यक्त गर्न सक्छौं । तर, सबै पीडित एकैनाशका हुँदैनन् । महिला भनेको अखण्ड समूह पनि होइन । विभिन्न वर्ग, संस्कार, जात, उमेर समूहका महिलाका भोगाइ र अनुभव फरकफरक हुन सक्छन् । त्यसलाई बुझेपछि मात्र हामी समस्यासँग लड्न सक्छौं । पीडित महिला हुन् । तर, कुन वर्गको महिला ? कुन जातको महिला ? कुन ठाउँमा बस्ने महिला ? भन्नेबारे गहन तरिकाबाट विश्लेषण भइरहेको छैन ।
बलात्कारका समाचार र लेखहरु आइरहन्छन्, तर बलात्कार कसले गर्यो ? कुन तत्वले यस्ता घटनालाई बढावा दिइरहेको छ भन्नेबारे सामान्यतया लेखिंदैन । बलात्कारपछि हत्या गरिएका या पीडित जीवनमरणको दोसाँधमा पुगेका डरलाग्दा घटनाको खुबै चर्चा हुन्छ, तर बलात्कार प्रयासका घटना कतै आउँदैनन् । शक्ति र सत्तामा रहेकाहरुबाट हुने यौन हिंसा पनि सामान्यतया कतै सुन्न, पढ्न र देख्न पाइँदैन ।
समाजको सोच र पीडितमाथि थप पीडा
बलात्कार, यसबाट पीडित र पीडकबारे समाजको धारणा कस्तो छ ?
सुप्रिया मानन्धरः सामाजिक सञ्जालमा बलात्कारीलाई फाँसी हुनुपर्छ भनेर कुर्लनेहरु नै फरक परिवेशमा चाहिं महिलाले छोटो लुगा लगाउनु पनि बलात्कार बढ्नुको कारण हो भनिरहेका भेटिन्छन् । यो कस्तो चाहिं मानसिकता हो ? एउटै दिमागभित्र कसरी यस्ता फरकफरक कुरा आउँछन् ? यसको पनि खोजी र विश्लेषण हुनुपर्छ ।
आयुष्मा रेग्मी, शिक्षकः हामी अहिले पनि बलात्कारको कारण यौन इच्छा हो भन्ने सोच्छौं । तर, बलात्कार इच्छा नभई शक्तिसँग सम्बन्धित हुन्छ । किन महिलाकै बढी बलात्कार हुन्छ ? किन बालबालिका बलात्कारको शिकार हुन्छन् ? किन समलिंगीहरु शिकार भइरहेका छन् ? किनभने, उनीहरु समाजमा कमजोर समूह हुन् । यौन इच्छाले बलात्कार निम्त्याउँछ भन्नेहरुलाई मेरो प्रश्न छ– केटीहरूको चाहिं यौन इच्छा हुन्न ? महिलाको यौनिकता नै हुन्न भन्ने गलत सोचले प्रश्रय पाइरहेको छ । महिलामा पनि यौन इच्छा हुन्छ, तर शक्तिशाली पुरुष हुन्छन् ।
मौन संस्कृति तोड्न यौन शिक्षा
बलात्कारका घटना बढ्दै जानुमा यौन शिक्षाको अभावलाई पनि प्रमुख कारण भनिन्छ । के यौन शिक्षा अपरिहार्य बनिसकेको हो ?
आयुष्मा रेग्मी: म शिक्षक हुँ, तर मलाई इन्ष्टिट्युशनल एजुकेशनमा पटक्कै विश्वास छैन । हामीले विद्यार्थीलाई कामका लागि तयार मात्र पारिरहेका छौं । सशक्तिकरणको कुरा गर्ने हो भने हामीले कुनै पनि तहको विद्यालयमा यौन शिक्षा पाएनौं । अहिले पनि त्यस्तो छैन । बरु कताकता यौन भनेको नराम्रो कुरा हो भनेर सिकाइरहेका छौं ।
मलाई यौन इच्छा महसूस गर्नु नै नराम्रो हो भन्ने लाग्यो भने कसैले मलाई बलात्कार गर्दा कसरी भन्न सकुँला ? अनि यसबारे चूप लागेपछि घटना फेरि दोहोरिन्छ । के महिला भनेका पुरुषका लागि मात्र बनेका हुन् ? धेरैजसो विवाहित महिलाहरु भन्ने गर्छन्– म सेक्स इन्जोय गर्दिनँ ।
मेरो विचारमा यौन शिक्षा अपरिहार्य छ र त्यसमा बलात्कारबारे पनि सिकाइनुपर्छ । मेरा शरीरका अंग के के हुन्, त्यसमा राम्रो/नराम्रो छुवाइ (गुड टच/ब्याड टच) के हो भन्ने कुरा सानैदेखि सिकाउनुपर्छ । तिमीले नाइँ भन्न सिक्नुपर्छ, उमेर पुगेपछि ‘एस’ वा ‘नो’ भन्ने निर्णय तिमी आफैंले गर्नुपर्छ भनेर सिकाउनुपर्छ ।
हाम्रा विद्यालयहरुमा सानो कक्षालाई महिला शिक्षकले पढाउने, केयर गर्ने गर्छन् भने ठूला कक्षामा भने पुरुष शिक्षकलाई पढाउन लगाइन्छ । पुरुष शिक्षकहरु भन्ने गर्छन्– ‘खुट्टा फट्याएर नबस, ज्ञानी केटीहरु त्यसरी बस्दैनन् ।’ हाम्रो घरपरिवार र समाजले मात्र होइन, शिक्षा प्रणालीले पनि महिला र पुरुषलाई समान रूपमा हेरेको छैन । मसँग पनि यौन इच्छा छ, यौनको आनन्द लिन सक्छु, तर यौनबारे कुरा गर्ने हुँदाहुँदै पनि नाइँ भन्न सक्छु भन्ने समाजले किन नबुझेको ?
धेरैजसो घटनाबाट प्रष्टिसकेको छ– बलात्कार चिनेकै मान्छे, आफूले विश्वास गर्ने मान्छे, आफूलाई माया गर्ने मान्छे वा साथीभाइ तथा परिवारभित्रकै मान्छेले गर्दा रहेछन् । शिक्षक नै भए पनि मैले आफ्ना विद्यार्थीलाई तिम्रो अभिभावक र परिवारका सदस्यलाई विश्वास नगर भनेर कसरी सिकाऊँ !
गंगा पाठक, मनोविद्ः यौन शिक्षा घरबाटै दिनुपर्छ । यसमा शिक्षक र अभिभावकको बराबरी भूमिका हुन्छ । मसँग आइपुग्ने कतिपय केसमा पीडितले घरभित्र समेत आफ्नो पीडा भन्न सकेका हुँदैनन् । कतिपय डिप्रेसनमा पुगेका बालबालिका लिएर अभिभावक आइपुग्छन् । पढाइ बिग्रियो, एन्जाइटी भयो, एक्लै बस्छ, असामान्य व्यवहार देखाउँछ भन्दै आउँछन् । हामीले खोतल्दै जाँदा विस्तारै ती बालबालिका खुल्न थाल्छन् ।
बालबालिकालाई खुल्न किन पनि गाह्रो हुन्छ भने उनीहरुलाई परिवारको कुरा बाहिर भन्नुहुन्न भनेर सिकाइएको हुन्छ । किनभने, अंकलले वा आफ्नै दाजुभाइले त्यस्तो गरेका हुनसक्छन् र त्यो कुरा बाहिर भन्दा सामाजिक बेइज्जतीको डर हुन्छ । परिवारले नै यस्तो सिकाउँदा बालबालिका थप पीडित बनेका छन् ।
नम्रता शर्माः यो ‘मौन संस्कृति’ केटीहरूमा मात्र होइन, केटाहरूमा पनि छ । आयुष्मा रेग्मीः केटाहरुमा अझ बढी हुनसक्छ । किनभने, पुरुषत्वको सामाजिक छविका कारण कोही केटाले यस्तो कुरा व्यक्त गर्न गाह्रो हुन्छ ।
गंगा पाठकः यस किसिमको दबाइएको अत्यास कहीं न कहीं विस्फोट हुन्छ । त्यो व्यक्तित्वमा पनि झल्कन्छ । समाजमा छोराहरूका यस्ता गतिविधि लुकाउन छोरीहरूलाई आरोप लगाइन्छ । अभिभावकहरू छोरीलाई नै ‘अपिलिङ’ भइस् भनेर गाली गर्छन् । बच्चाको आत्मविश्वास गुमेको, पहिचान संकटमा परेको र त्यही कारण उसले बाँकी जीवनमा केही गर्न नसकेको अवस्थालाई कसैले बुझेको हुँदैन ।
मनोविद्का रुपमा मैले बुझ्न सकुँला, तर गोपनीयताका कारण म पनि त्यसलाई बाहिर ल्याउन सक्दिनँ । यसरी दबाइएको सामाजिक समस्या कुनै पनि दिन विस्फोट नहोला भन्न सकिन्न ।
१८ वर्षमुनिका बच्चामा ज्ञानको विकास भएको हुँदैन । उनीहरु फिल्म हेरेर, पोर्नोग्राफी हेरेर, अरु कसैले सुनाएको वा होस्टलका सिनियरहरुले भनेको आधारमा पनि यस्ता गतिविधिमा सामेल हुनसक्छन् । यस्ता बच्चालाई वयस्कसरह सजाय दिनुभन्दा सुधारात्मक हिसाबले लैजानुपर्छ ।
पवित्रा निरौला, सांसदः भूमिगतकालमा राजनीति गर्ने क्रममा पहाडी गाउँमा बसेकाले छोरा र छोरीलाई फरक माहोलमा कसरी हुर्काइन्छ भन्ने मलाई राम्रोसँग थाहा छ । छोरीलाई कतै हिंड्दा ढकढक गरेर नहिंड भनिन्छ । घरमा कोही पाहुना आउँदा हाँसेर नबोल्न उर्दी गरिन्छ । तर, छोरा बोल्दा चाहिं हक्की पाराले निर्धक्कसँग बोल्यो भनिन्छ । बलात्कारकै घटनामा पनि फलानाकी छोरीको बलात्कार भयो भनिन्छ, तर बलात्कार गर्ने छोराबारे बोलिंदैन ।
गंगा पाठकः वास्तवमा हाम्रो परिवार नै ‘साइकोप्याथिक’ छ । जबसम्म हामी बच्चालाई सानैदेखि ‘गुड टच’ र ‘ब्याड टच’ बारे सिकाउन, बुझाउन र प्रतिवाद गर्न सिकाउँदैनौं, ऊ पछि गएर कुनै नै कुनै रूपमा पीडित हुन्छ । पाठ्यक्रममा प्रजनन् स्वास्थ्यको पढाइ हुन्छ, तर विद्यार्थी निहुरेर बस्छन् । शिक्षकहरू लाजले पढाउँदैनन्, आफैं पढेर आऊ भन्छन् ।
दण्ड भनेको दोस्रो कुरा हो, घटना भइसकेपछि दण्ड दिनुभन्दा पहिले हामी रोकथाममा केन्द्रित हुनैपर्छ । तर, त्यो काम भएकै छैन । बाबुआमा बच्चाहरूको यौन मनोविज्ञान बुझ्नै खोज्दैनन् । छोराछोरीलाई बुझ्ने/बुझाउने विषयमा बाबुआमा सहभागी हुनै खोज्दैनन् । किनभने, उनीहरूमै यौन शिक्षा पुगेको छैन । त्यसकारण पहिले घर, अनि स्कूलमा यौन शिक्षा दिइनुपर्छ ।
शक्तिको सम्बन्ध र राजनीति
के बलात्कार र शत्तिको एकापसमा सम्बन्ध हुन्छ ?
नम्रता शर्माः बलात्कार गाउँ देहातमा मात्र हुँदैन । अमेरिकाका कलेजहरुमा पनि बलात्कारका कैयौं घटना हुने गर्छन् । अर्को कुरा, महिला मात्र बलात्कृत हुँदैनन्, पुरुष पनि हुन्छन् । तर, त्यसको आँकडा हामीलाई थाहा छैन । अबको कानूनले महिला मात्र होइन, पुरुष, समलिंगी र यौनिक अल्पसंख्यकहरुको बलात्कारबारे पनि बोल्नुपर्छ ।
पवित्रा निरौलाः बलात्कृत हुनेहरुको आर्थिक अवस्थाले पनि धेरै कुरा निर्धारण गर्दोरहेछ । धनी, मध्यमवर्गीय र गरीब परिवारमा बलात्कारको आयाम फरकफरक छ । अहिले सञ्चारमाध्यममा मध्यमवर्गीय र गरीब परिवारका घटनाहरू बढी चर्चामा ल्याइए पनि उच्चवर्गका परिवारका घटना बाहिर आएका छैनन् ।
मैले चुनाव जितेको झापा क्षेत्र नम्बर २ को एउटा नगरपालिकामा पछिल्लो तीन महीनामा बलात्कारका सात वटा घटना भए । १० दिनमा भएका तीन घटना सार्वजनिक भएलगत्तै अरु पुराना घटना पनि बाहिर आए । एउटा घटना सार्वजनिक हुँदा अरुलाई पनि आफू पीडित भएको आवाज उठाउन आँट मिल्दोरहेछ ।
केही समयअघि बलात्कार र यौन हिंसाबारे संसदमा कुरा उठे पनि त्यसबारे छलफल अघि बढेन। विभिन्न पार्टीका महिला सांसदहरूबीच यसबारे कत्तिको एकमत हुन्छ ? त्यसमा पार्टीको हस्तक्षेप हुन्छ कि हुँदैन ?
पवित्रा निरौलाः हामी महिला सांसदहरू यसमा लागिपरेका छौं । केही पुरुष सांसदले पनि यसबारे बोल्नुभएको छ । यो महिलाको मात्र होइन, समाजको मुद्दा हो । हामीले पेश गरेको संकल्प प्रस्ताव संसदको कार्यसूचीमा परिरहेको छैन । हामी यसलाई अगाडि बढाउने र दण्डहीनता अन्त्य गर्न कठोरभन्दा कठोर सजायको व्यवस्थाका लागि कटिबद्ध छौं ।
पुष्पा भुसाल, सांसदः कानून बन्नु मात्र पर्याप्त नहुने र राज्य नै बलियो हुनुपर्ने महसूस गरेर हामीले महिलामाथि हिंसा बढेको अवस्थालाई ध्यानमा राख्दै संकल्प प्रस्ताव ल्यायौं । सबै पार्टीका महिला सांसद एकजुट भएर महिलामाथि हुने हिंसा विरुद्ध यस्तो प्रस्ताव ल्याएका थियौं ।
संकल्प प्रस्ताव कति महत्वपूर्ण हुन्छ भने, यसलाई फेल गराउने त प्रश्नै उठ्दैन, पास गरेपछि त्यसलाई मान्न सरकार बाध्य हुन्छ । हामीले सभामुखलाई दिनदिनैजसो भनिरहेका छौं– “समाजमा दिनहुँजसो बलात्कार लगायतका महिलामाथिका हिंसाका घटना बढिरहेका छन्, सञ्चारमाध्यमले त्यसलाई महत्वसाथ उठाइरहेका छन् । यो अवस्थामा सदन मूकदर्शक बन्न सुहाउँदैन ।” बालबालिकालाई सानैदेखि यौन शिक्षा दिइनुपर्छ भन्ने कुरामा संकल्प प्रस्तावले जोड दिएको छ ।
अबको आशा र प्राथमिकता
बलात्कारका घटनाप्रति राज्यको उदासीनताका बावजूद अबका दिनमा उसको प्राथमिकता रहन्छ भन्ने आशा गर्ने ठाउँ छ ?
सुप्रिया मानन्धरः बलात्कारका घटनाहरूको कभरेज बढे पनि त्यो मूलतः घटनाप्रधान छ । बलात्कारको प्रवृत्तिबारे अनुसन्धान र विश्लेषण हुनसकेको छैन । समाज नै मनोरोगको चपेटामा परेको प्रष्ट देखिन्छ । अब, यसमा अध्ययनसँगै एक्सन पनि आवश्यक छ । राज्यका लागि यो ‘पाराडाइम सिफ्ट’ गर्ने अवसर पनि हो ।
गंगा पाठकः दण्ड सजायले मात्र पीडितले भोगेको पीडाको पुर्ताल गर्न सक्दैन । त्यसकारण अब सजाय भन्दा यसको रोकथाममै लाग्नुपर्छ । अहिलेका अधिकांश बालबालिका अत्याधुनिक प्रविधि प्रयोग गर्छन् । उनीहरु हेर्न हुने/नहुने सबै साइट हेर्छन् । तर, अभिभावकहरू बालबालिकाका यस्ता गतिविधिप्रति बेपरवाह देखिन्छन् ।
अब अभिभावकले आफ्ना सन्तानका गतिविधि निगरानीमा राख्नुपर्यो, घरमा उनीहरुले खुलेर कुरा गर्न सक्ने वातावरण बनाउनु पर्यो । त्यसो हुन सक्यो भने शिक्षकले विद्यार्थीलाई बलात्कारको प्रयास गर्दा इज्जतको डरले अभिभावक र विद्यालय प्रशासन दुवैले घटना लुकाउनुपर्ने अवस्था आउँदैन ।
आयुष्मा रेग्मीः महिलालाई सुरक्षा चाहिन्छ भन्ने कुराले नै मलाई कताकता पिरोलिरहेको छ । यसले हामीलाई झन् आवाजविहीन बनाइरहेको जस्तो लाग्छ । महिलालाई सशक्तिकरण गर्ने उपायमा जोड दिनुपर्यो, थप कमजोर बनाउने होइन ।
नारायणी देवकोटाः बर्दियामा एक जना प्रभावशाली स्थानीय व्यक्तिले १० वर्षीया बालिकालाई बलात्कार गरे । हामी उनकी आमालाई भेट्न गयौं, न्यायका लागि सहयोग गर्छौं भन्यौं । तर, उनले उल्टै हामीलाई सोधिन्, “भोलि धम्की आयो भने तिमीहरूले बचाउन सक्छौ ?”
अहिले स्थानीय सरकारहरु बनेका छन् । स्थानीय तहमा न्यायिक समिति पनि गठन भएका छन् । महिलाले हाँक्ने न्यायिक समितिले यसमा ठूलो भूमिका खेल्न सक्छन् । बलात्कार लगायतका महिलामाथिका हिंसा नियन्त्रणका लागि सांसदभन्दा कैयौं गुणा ठूलो भूमिका स्थानीयस्तरमा वडा सदस्यले खेल्न सक्छन् ।
पढ्नुहाेस् ।