क्यान्सरबाट बलिउड अभिनेत्री सुजाताको निधन
श्रीदेवीसँग 'इंग्लिश विंग्लिश'लगायत राँझणा, गुजारिशजस्ता फिल्ममा अभिनय गरेकी बलिउड अभिनेत्री सुजाता कुमारको ५३ वर्षको उमेरमा निधन भएको छ।
श्रीदेवीले पुनरागमन गरेको फिल्म 'इंग्लिश विंग्लिश' (२०१२) मा उनको दिदीको भूमिकामा देखिएकी उनको मुम्बईस्थित लीलावती अस्पतालमा निधन भएको हो। उनलाई मेटास्टेटिक क्यान्सर भएको थियो।
क्यान्सरको चौथो चरणमा संघर्ष गरिरहेकी उनको शरीरका धेरै अंगले काम गर्न छाडेका थिए। सुजाताकी बहिनी सुचित्रा कृष्णमूर्तिले सामाजिक सञ्जालमार्फत निधनबारे जानकारी दिएकी हुन्।
सुजाताले 'राँझणा' (२०१३), 'गोरी तेरे प्यार मे' (२०१३), 'किस हद तक' (२०१०), गुजारिश (२०१०), 'ब्लू अरेन्जेज' (२००९), 'क्या लभस्टोरी हे' (२००७), सलाम-ए-इश्क (२००७), 'अब तुम्हारे हवाले वतन साथियों' (२००४) लगायत फिल्ममा अभिनय गरेकी छन् । साथै, उनले अनिल कपुर अभिनीत '२४' लगायत टिभी सिरियलमा पनि काम गरेकी छन् ।
सुजाताले 'इंग्लिश-विंग्लिश' को रिलिज अगावै सेप्टेम्बर २०१२ मा दिएको एक अन्तर्वार्तामा आफू क्यान्सरमुक्त भएको बताएकी थिइन् । तर, फेरि उनी क्यान्सरबाटै पीडित थिइन् ।
- एजेन्सी