नेपथ्य फेरि लण्डनमा
नेपथ्य तेस्रोपटक बेलायतमा प्रस्तुत हुनेभएको छ । पाँच वर्षअघि विम्बले एरेनामा ऐतिहासिक प्रस्तुति दिएको नेपथ्यले तीन वर्षअघि लण्डनकै ओ टु एकेडेमी ब्रिक्सटनमा प्रस्तुत भएको थियो । नेपथ्यले फेरि आफूलाई ओ टु एकेडेमीमै उभ्याउँदैछ ।
यसै वर्ष सेप्टेम्बरको १ तारिख (भदौ १६ गते) का दिन बेलायतमा प्रदर्शनको तयारी ब्याण्डले शुरु गरिसकेको छ ।
कार्यक्रमका निम्ति ओ टु एकेडेमीले पहिलेजस्तै अनलाइन बुकिङको समेत ब्यवस्था गरेको छ ।
त्यस हलमा बब डिलन, मडोना, आइरन मेडन, सेक्स पिस्टल्स र युबी फोर्टी जस्ता हस्ती एवं टोलीहरुले प्रस्तुति दिइसकेका छन् । त्यसैगरि विश्वप्रसिद्ध नामहरु एरिक क्ल्याप्टन, डायर स्ट्रेट्स्, द पुलिस, ह्वाम र कल्चर क्लबजस्ता अरु थुप्रै नामहरु ओ टु एकेडेमीसँग जोडिएका छन् ।
बेलायतको शोलाई यसपटक ‘देब्रे इभेन्ट्स्’ का चन्द्र गुरुङले आयोजना गर्न लागेका हुन् ।
सँधैझैँ यसपटक पनि लण्डनमा अमृतलाई उनका साथीहरु ड्रममा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाउने छन् ।
ताजा सर्भेक्षण अनुसार बेलायतमा यतिबेला ८० हजार नेपाली बसोबास गरिरहेका छन् भने वर्षेनी ३० हजार बेलायती पर्यटक नेपाल घुम्न आउँछन् ।