कुनै समय होटलमा भाँडा माझ्ने रणदीप हुडाको बलिउड यात्रा
बलिउड अभिनेता रणदीप हुडाले प्रभावशाली अभिनयबाट सबैलाई प्रभावित पारेका छन् । उनले सन् २००१ मा 'मनसुन वेडिङ' फिल्मबाट करिअरको सुरुवात गरेका थिए ।
यसपछि उनले 'रिस्क', 'डरना जरूरी हे', 'वन्स अपन अ टाइम इन मुम्बई', 'साहेब बीवी और ग्याङस्टर', 'जिस्म २', 'मर्डर ३', 'हाइवे', 'किक', 'रंग रसिया', 'लाल रंग', 'सरबजीत', 'सुल्तान' जस्ता फिल्ममा काम गरे । यो वर्ष उनी 'बागी २' मा देखिए ।
अभिनयसम्म पुग्न रणदीपले धेरै संघर्ष गर्नुपर्यो । कलाकार बन्ने सपना पूरा गर्नुअघि उनले पढाइ पूरा गर्नु थियो । बिजनेस म्यानेजमेन्टमा मास्टर्स गर्न उनी अस्ट्रेलिया गए । तर, पहिलो वर्ष नै फेल भए । सर्जन बुवा र समाजसेवी आमाका छोराले पढाइ पार लगाएर अभिनयमा रमाउनु थियो । दत्तचित्त लगाएर पढेपछि अन्तत: पास गरे ।
अस्ट्रेलिया बसाइमा उनले चिनियाँ रेस्टुरेन्टमा काम गरे । रेस्टुरेन्टमा वेटर तथा भाँडा माझ्ने काम सम्हाले । उनले कार धुने काम पनि गरेका थिए । यसका साथै दुई वर्षसम्म ट्याक्सी ड्राइभर पनि बने ।
अस्ट्रेलियाबाट सन् २००० मा भारत फर्केर रणदीपले एक एयरलाइन कम्पनीमा मार्केटिङको काम गरे । यसपछि उनी मोडलिङ र नाटक कर्ममा व्यस्त भए । एउटा नाटकको रिहर्सलका क्रममा निर्देशक मीरा नैरले उनलाई आफ्नो नयाँ फिल्मको एउटा रोलका लागि अडिसन दिन आग्रह गरिन् । त्यो फिल्म 'मनसुन वेडिङ थियो', जसबाट रणदीपले बलिउडमा डेब्यू गरे ।
उनी अभिनयमा समर्पित कलाकार मानिन्छन् । अभिनयका लागि उनले आफ्नो शरीरसँग पनि सम्झौता गरेका थिए । पाकिस्तानको जेलमा २२ वर्षको सजाय काटेका भारतीय नागरिक सरबजीत सिंहको कथामा सन् २०१६ मा बनाइएको फिल्म 'सरबजीत' का लागि उनले २८ दिनमा १८ किलो तौल घटाएका थिए । – एजेन्सी