म लोभी कलाकार हुँ: राजकुमार राव
राजकुमार रावले अभिनयको बलमा बलिउडमा खास स्थान बनाएका छन् । उनले बताए अनुसार उनी हरेक पटक सोच्छन्, वर्षामा दुई भन्दा बढी फिल्म नखेल्ने ।
तर, उनकै शब्दमा उनी 'लोभी' अभिनेता हुन् । त्यस्तो अभिनेताले कुनै पनि राम्रो स्क्रिप्ट हातबाट उम्काउन चाहँदैन, किनकि बलिउडमा कुनै पनि स्थान स्थायी र टिकाउ हुँदैन ।
बलिउड अभिनेता राजकुमार रावको गत वर्ष ६ वटा फिल्म रिलिज भएका थिए । जसमा 'ट्र्याप्ड', 'बरेली की बर्फी' र 'न्यूटन' जस्ता फिल्म समावेश थिए ।
उनले २०१८ को सुरुवात 'ओमेर्टा' फिल्मबाट गरेका थिए र त्यसपछि 'फन्ने खां' आयो । अहिले उनी यस वर्षको तेस्रो फिल्म 'स्त्री' रिलिज हुने पर्खाइमा छन् । यो फिल्म अमर कौशिकको निर्देशनमा बनेको हरर कमेडी हो ।
रावका अनुसार, एउटा राम्रो फिल्म अस्वीकार गर्न उनी सक्दैनन् । अन्तत: उनी त्यसमा काम गरेरै छाड्छन् ।
उनले भने, “म जब वर्षमा दुई फिल्म गर्नेबारे सोच्छु, मेरो अगाडि 'स्त्री' जस्तो गजबको कथा आउँछ र म नाइँ भन्नै सक्दिनँ । यहाँ (बलिउडमा) कोही पनि स्थायी छैनन्, जोसुकै जुनसुकै बेला विस्थापित हुन सक्छन् । यदि मैले वर्षमा दुई फिल्म गर्ने आफ्नो चाहनाको कारण कुनै फिल्म नगर्ने भनेर घरमा बसेँ भने अरु कसैले त्यो फिल्म गर्नेछ ।"
राव अगाडि थप्छन्, "यसैले म आफ्नो बाटोमा आउने हरेक राम्रो फिल्ममा काम गर्छु, चाहे मलाई आराम गर्ने समय थोरै होस् । जब म अब केही विश्राम लिन्छु भनेर सोच्ने गर्छु, अर्को राम्रो स्क्रिप्ट मेरो सामु आइदिन्छ ।"
एजेन्सी