ऋतिक रोशनको ‘सुपर ३०’ को प्रदर्शन मिति तय, ३ फिल्मसँग भिड्ने
बलिउड अभिनेता ऋतिक रोशन अभिनीत नयाँ फिल्म ‘सुपर ३०’ को सुटिङ पूरा भएसँगै रिलिज मिति तोकिएको छ। फिल्म आगामी वर्षको जनवरीमा रिलिज हुने भएको छ। विकास बहल निर्देशित 'सुपर ३०' २५ जनवरीमा रिलिज हुने भएको छ।
फिल्ममा ऋतिकको अपोजिटमा मृणाल ठाकुर देखिनेछिन्। ठूलो पर्दामा मृणालको यो डेब्यू हुनेछ। उनले टीभी सिरियल 'कुमकुम भाग्य' मा बुलबुल अरोराको भूमिकाबाट दर्शकको मन जितेकी थिइन्।
'सुपर ३०' लाई भारतीय गणितज्ञ तथा शिक्षाविद् आनन्द कुमारको बायोपिक भनिए पनि यसलाई स्वतन्त्र काल्पनिक कथामा परिणत गरेको निर्माण टोलीले जनाएको छ।
निर्देशक बहलले भनेका छन्, "बायोपिकमा गरीब तथा आधारभूत सुविधाबाट वञ्चित बालबालिकालाई समाजको मूल प्रवाहमा जोड्ने कहानी बताइएको छ। आनन्द कुमारका कारण धेरै मानिसको जीवनमा शिक्षाले महत्त्वपूर्ण परिवर्तन ल्याइरहेको छ, यही विषय फिल्ममा सबैभन्दा प्रेरणादायक छ।"
बहलका अनुसार, उनले गणितज्ञ आनन्दसँग विभिन्न विषयमा धेरै चरणमा बसेर कुराकानी गरेका थिए, ता कि बायोपिकमा उनको जीवनको सार प्रस्तुत गर्न सकियोस्। सुपर ३० भारतको पटनामा सुरु गरिएको विशिष्ट शैक्षिक कार्यक्रम हो, जुन गरीब परिवारबाट आउने बालबालिकालाई इन्डियन इन्स्टिच्यूट्स अफ टेक्नोलोजी (आईआईटी) को तयारी गराउन चर्चित छ। निर्देशक बहलले फिल्म निर्माणको तयारीका क्रममा सुपर ३० का विद्यार्थीलाई पनि भेटेको बताएका छन्।
२५ जनवरीका लागि तय गरिएको रिलिज मिति हेर्दा 'सुपर ३०' फिल्मले भारतीय बक्स-अफिसमा अन्य फिल्मसँग भिडन्त गर्नुपर्ने देखिन्छ। किनकि उक्त मितिमा ऋतिकको सहित चार फिल्म रिलिज हुनेछन्। भारतको शिव सेना पार्टीका संस्थापक बाल ठाकरेमा आधारित नवाजुद्दीन सिद्दीकीले अभिनय गरेको 'ठाकरे', इमरान हासमी अभिनीत 'चिट इन्डिया' र कंगना रनौत अभिनीत 'मणिकर्णिका' को रिलिज मिति पनि २५ जनवरी तोकिएको छ। यसैले 'सुपर ३०' निर्माण टोलीले प्रदर्शन मिति सार्ने निर्णय गरेको जानकारी फिल्म निकट सूत्रले दिएको छ। – एजेन्सी