‘सकेको तिरौंला, नत्र फिरिमा !’
ध्रुवसत्य परियार
बजार र व्यवस्थाको अगाडि निम्न वर्गको इमान र आदर्श कसरी कमजोर बन्न पुग्छ भन्ने नाटक ‘सकेको तिरौंला, नत्र फिरिमा !’ मा देखाइएको छ ।
एउटी महिलाले चोरीका साधारण सामान लुकाउन पनि गर्भवती भएको अभिनय गर्नुपरेको छ । यस्तो हुनु पछाडिको देश, काल र परिस्थिति कस्तो होला ? गर्भवती भएको अभिनयबाट आफन्तदेखि प्रहरीसम्म झुक्किएको छ, त्यहाँ कलाको कस्तो संयोजन होला ?
यो गम्भीर मानवीय संवेदना र कला ‘ब्ल्याक ह्युमर’ मा संयोजन भएर काठमाडौंस्थित मण्डला थिएटरमा मञ्चन भइरहेको नाटक ‘सकेको तिरौंला, नत्र फिरिमा’ को कथावस्तु र नाट्यलय शुरु हुन्छ ।
नोबेल पुरस्कार विजेता इटालियन नाटककार डारियो फोको हास्यप्रधान नाटक ‘कान्ट पे, वन्ट पे’ लाई विकास जोशीले अनुवाद र निर्देशन गरेका हुन् । सरकारको कर र बजारको महँगीलाई व्यंग्य गरिएकाले नाटकको कथावस्तु आम नेपालीको दैनिकी जस्तो लाग्छ ।
कुनै पनि साहित्यिक कृतिको चर्चा गर्न कृतिकारको देश, त्यहाँको कला र सभ्यताको इतिहासलाई नियाल्नुपर्ने हुन्छ । प्राचीन रोम (इटाली) र प्राचीन युनान (ग्रीक) नाटकका नाभि क्षेत्र हुन् । युनानका दुःखान्त नाटककार एस्काइलस (५२५–४५६ इसापूर्व), सोफोक्लिज (४९६–४०६ इसापूर्व) र युरिपिडिज (४८०–४०६ इसापूर्व) विश्व नाट्य सभ्यतामा स्मरणीय छन् ।
भारतीय इतिहासकार एसएल नागोरीका अनुसार, भौगोलिक रूपमा नजिकै भएकाले पनि रोम, युनानी कला–सभ्यताबाट अधिक प्रभावित रह्यो । प्राचीन रोमका नाटककारमा प्लौटस (२५४–१८४ इसापूर्व) र टिरेन्स (१८५–८९ इसापूर्व) उल्लेखनीय छन् ।
नाटकमा लामो इतिहास बोकेको इटालीका नाटककार फोले सन् १९७४ मा लेखेको यस नाटकले निम्न वर्गका आवाज मुखर गरेको छ । सन् ७० को दशकताका बढ्दो महँगी र बेरोजगारीविरुद्ध इटालीका निम्न वर्गीय गृहिणी र मजदूरहरूले आवाज उठाएका थिए । यस नाटकले इटालीको तत्कालीन व्यवस्थालाई व्यंग्य गरेको छ ।
मूल मर्म नमारी कथानक, पात्र र परिवेशलाई नेपालीकरण गरिएको नाटकमा सरिता गिरी, अनुपम शर्मा, विजय बराल, प्रमिला खनाल र उमेश तामाङले अभिनय गरेका छन् । नाटकको कथावस्तु अनुसार, निम्न वर्गीय केही मानिसले सुपरमार्केटमा चोरी गर्छन् । ट्याक्सी चालक श्रीमान्काे कमाइले डेराभाडा तिर्न पनि समस्या भएपछि सरिता अन्य महिलाको लहलहैमा लागेर सुपरमार्केटबाट चोरी गर्न पुग्छे ।
इमान नबेच्ने आफ्नो आदर्शवादी श्रीमान् अनुपमदेखि चोरीका सामान लुकाउन सरिताले लगाएको युक्तिका कारण प्रमिलाले गर्भवती भएको अभिनय गर्नुपर्ने हुन्छ । परिश्रम अनुसार कमाइ नहुनु, त्यसमाथि बजारको महँगी र राज्यको कर आदिका कारण अनुपमले अन्ततः आफ्नो चट्टानी इमान त्याग्न पुग्छ ।
बजार र व्यवस्थाको अगाडि निम्न वर्गको इमान र आदर्श कसरी कमजोर बन्न पुग्छ, विश्व समाजमै नैतिकता र इमान कसरी पूँजीवादको पञ्जामा पर्दैछ भन्ने नाटकमा देखाइएको छ ।
अनुपम र प्रहरीदेखि सामान लुकाउँदा गर्भवती जस्तै देखिएकी प्रमिला नाटकमा भयानक रूपक हुन् । फोले पात्रलाई कृत्रिम गर्भवती बनाएर पूँजीवादी र पुरुषवादी विश्वमा महिलाको अहं अस्तित्व, अधिकार, चाहना र सपनातिर संकेत गरेको आभास हुन्छ ।
ध्वनि नाट्य अर्थात् वाचिक अभिनय प्रधान यस नाटकमा थुप्रै कथनोपकथन छन् । पात्रले विभिन्न प्रसंगलाई कथन मार्फत प्रष्ट्याउनुपर्ने हुन्छ । रंगमञ्चमा खारिएकी सरिता गिरीले नाटकलाई शुरुदेखि अन्त्यसम्म लयमा राखेकी छन् ।
सत्य लुकाउने र खोल्ने दोहोरो चरित्रमा सरिताले जीवन्त अभिनय गरेकी छन् । प्रमिलाको श्रीमान् र ट्याक्सी ड्राइभरको चरित्र निभाएका विजय बरालको उपस्थितिले मात्रै नाटकमा नयाँ तरंग सिर्जना गर्छ । आ–आफ्नो चरित्र अनुसार प्रमिला, अनुपम र उमेश नाट्यलयमा छन् ।
डा. दशरथ ओझाको पुस्तक ‘हिन्दी नाटक 'उद्भव और विकास’ मा उल्लेख छ, “व्यंग्य नाटक प्रहसनको ध्येय केवल मनोरञ्जन हुन्छ, तर व्यंग्यमा एक विशेष उद्देश्य हुन्छ ।”
१० भदौसम्म मञ्चन हुने यस नाटकले कर वृद्धि, महँगी र बेथितिले निम्त्याउन सक्ने संकटलाई संकेत गरेको छ । नाटकमा विकास श्रेष्ठले पात्र, परिवेश र कथानक सुहाउँदो मञ्चको परिकल्पना गरेका छन् । नाटक शतप्रतिशत सामूहिक कार्य हो, यद्यपि कला, मानवीय संवेदना र अर्थ–बजार झल्काउने नाटकलाई नेपाली परिवेशमा नाट्य रूपान्तरण र निर्देशन गरेको जस जोशीलाई पनि जान्छ ।