ठाउँ छैन, कहाँ फाल्ने फोहोर ?
२२ जेठ २०६२ देखि काठमाडौंको फोहोर ‘डम्प’ गरिंदै आएको नुवाकोटको सिसडोल भरिएको छ । सिसडोलको विकल्प नभएपछि भरिएकै ठाउँमा काठमाडौं महानगरपालिकाले जर्बजस्ती फोहाेर थुपार्दै आएको छ ।
फोहाेर व्यवस्थापनको समस्या समाधान गर्न ९ वर्ष अघि सरकारले लगानी बोर्डको कार्यालय अन्र्तगत रहेर बञ्चरे डाँडामा प्रोजेक्ट अगाडि बढाएको थियो ।
तर, उक्त प्रोजेक्टले अहिलेसम्म फोहाेर व्यवस्थापनका लागि न्यूनतम पूर्वाधार पनि तयार पार्न सकेको छैन ।
१७ सय ७१ रोपनीमा रहेको उक्त क्षेत्रमा २० वर्षसम्मको फोहाेर व्यवस्थापन गर्न सकिने काठमाडौं महानगरपालिकाको बुझाइ छ ।
फोहाेर व्यवस्थापनको विकल्प खोजी गर्न उपत्यकाका अन्य स्थानीय तहले पनि सघाउनुपर्ने काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागका प्रमुख हरिबहादुर कुँवरले बताएका छन् ।
उनले उपत्यकाको फोहाेर व्यवस्थापनका लागि काठमाडौं महानगरपालिका एक्लैले जिम्मेवारी लिंदै आएको भन्दै अन्य निकायले पनि त्यसमा लगानी गर्न तत्परता देखाउनुपर्ने बताए ।
“अहिले काठमाडौं महानगरपालिकाको फोहाेर मात्रै सिसडोल जाँदैन, अन्य नगरपालिकाले पनि सिसडोलको प्रयोग गर्दै आइरहेका छन्” कुँवरले भने, “अब अन्य तहले पनि हामीसँग सहकार्य गर्नुपर्छ ।”
उनले सिसडोल नजिकै रहेको आलेटार क्षेत्र यसको विकल्प हुन सक्ने धारणा राखे ।
अहिले काठमाडौंबाट फोहाेर बोकेर हिडेको गाडीलाई सिसडोल पुग्न दुई दिन लाग्ने गरेको छ । साँघरो र कच्ची सडकका कारण नुवाकोटको रातामाटेदेखि सिसडोलसम्म गाडी जाममा फस्छन् ।
सडक जाम र फोहर खन्याउने ठाउँ पर्याप्त नहुँदा दैनिक २२ ट्रक फोहर पनि सिसडोलसम्म पु¥याउन कठिन भइरहेको कुँवरको भनाइ छ ।