राराः सौन्दर्य र जैविक सम्पदाको खानी (फोटो एसे)
अच्युतराज भण्डारी, मुगु
चारैतिर घना जंगल, बीचमा नीलो ताल । नेपालकै ठूलो ताल राराले छिनछिनमा रुप फेर्ने चिनारी बोकेको छ । तर, यो ताल क्षेत्र प्राकृतिक सौन्दर्यसँगै जैविक सम्पदाले पनि सुसज्जित छ ।
१०.८ वर्ग किमि क्षेत्रमा फैलिएको तालमा विश्वमै दुर्लभ तीन प्रजातिका असला माछा पाइन्छन् । ताल रारा राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्छ । १०६ वर्ग किमि क्षेत्रमा फैलिएको निकुञ्जमा विभिन्न वन्यजन्तु, चराचुरुंगी र वनस्पति पाइन्छन् ।
निकुञ्जका निमित्त संरक्षण अधिकृत यज्ञराज रोकाया भन्छन्, “निकुञ्ज क्षेत्रमा बँदेल, रेडपाण्डा, कस्तुरी, घोरल लगायत ५१ प्रकारका वन्यजन्तु पाइन्छन् । २२४ प्रकारका वनस्पति र डाँफे, कालिजलगायत २७२ जातका चरा छन् ।”
निकुञ्ज क्षेत्रमा गुच्ची च्याउ, पाँचऔंले, कटुकी, सुगन्धवाललगायत विभिन्न प्रकारका जडिबुटी पनि पाइन्छन् । चैत–बैशाखमा ताल किनारमा लालीगुराँस र साउन–भदौमा विभिन्न प्रजातिका फूल फुल्दा रारा झनै सुन्दर देखिन्छ । समुद्री सतहबाट २९ सय ९० मिटर उचाइमा रहेको रारा तालको गहिराइ १६७ मिटर छ ।
घुम्ने मौसम र आकर्षण
रारा घुम्न बैशाखदेखि कात्तिकसम्म उपयुक्त मौसम मानिन्छ । तर, रंगीविरंगी फूल फुल्ने, विभिन्न जातका चरा हेर्न पाइने भएकाले बैशाखदेखि असारसम्म रारा घुम्न राम्रो हुने मुर्माटपका होटल व्यवसायी डबल रोकाया बताउँछन् ।
रारा पुगेपछि छुटाउनै नहुने ठाउँ हो, मुर्माटप । तालबाट ३ घण्टा उकालो पैदलपछि मुर्माटप पुग्न सकिन्छ । मुर्मा गाउँका स्थानीय कलबहादुर रोकायाका अनुसार, थुम्काबाट नेपालका १२ वटा जिल्लाका भूभाग र चीनको सीमा भाग देख्न पाइन्छ । मुर्माटपको टुप्पोबाट रारा तालको पूरै दृश्य अवलोकन गर्न सकिन्छ ।
कसरी पुग्ने ?
रारा पुग्न हवाई र स्थल यातायात गरी दुई विकल्प छन् । जहाजमा जाँदा नेपालगञ्जबाट ४५ मिनेट र सुर्खेतबाट ३५ मिनेटमा रारा (ताल्चा) विमानस्थल पुगिन्छ । ताल्चाबाट हिँडेर करीब साढे दुई घण्टामा ताल पुगिन्छ ।
काठमाडौंबाट पनि जिप र मोटरसाइकलमा रारा पुग्ने पर्यटक थुप्र्रै भेटिन्छन् । त्यसरी सुर्खेत भएर कालीकोट, जुम्लाको नाग्म हुँदै रारा पुग्न करीब तीन दिन लाग्छ । सुर्खेतबाट बिहान मुगु जाने बस चढ्यो भने भोलिपल्ट दिउँसो ३/४ बजेतिर रारा पुग्न सकिन्छ । कर्णाली राजमार्गमा खान र बास बस्न होटलहरुको व्यवस्था छ ।
हवाई मार्गबाट नेपालगन्जबाट रारा आउन र एक–दुई दिन घुमेर फर्कन एक जनालाई करिब २५ हजार खर्च लाग्छ । नेपालगन्जदेखि रारासम्मको एकतर्फी हवाई भाडा रु.५ हजार ८०० छ । नेपालगञ्जबाट रारासम्मको गाडी भाडा भने एकतर्फी रु.२ हजार ५०० जति पर्छ ।