नवाजुद्दीन विवादित लेखकको भूमिकामा 'मन्टो' मा देखिँदै
नवाजुद्दीन सिद्दीकीको मुख्य भूमिका रहेको 'मन्टो' को ट्रेलर सार्वजनिक भएको छ । सन् १९४७ को आसपासको परिवेशमा निर्माण गरिएको फिल्म भारतको स्वतन्त्रता दिवसको अवसर पारेर रिलिज गरिएको छ ।
अभिनेत्री नन्दिता दास निर्देशित फिल्म पाकिस्तानी लेखक सादत हसन मन्टो (१९१२-१९५५) को जीवनकथामा आधारित छ ।
ट्रेलरमा मन्टोको भूमिकामा देखिएका नवाजुद्दीनको संवाद प्रभावशाली रुपमा प्रस्तुत गरिएको छ, जसमा उनको समयको यथार्थ प्रकट भएको छ । एक ठाउँमा मन्टो भन्छन्, "जब हामी गुलाम थियौं, स्वतन्त्रताको सपना देख्थ्यौं । अहिले स्वतन्त्र भएपछि कस्तो सपना देख्नु !"
उर्दू भाषाका साहित्यकार मन्टो आफ्नो समयका विवादित लेखक थिए । उनको कथा विरुद्ध मुद्दा समेत दायर गरिएको थियो ।
'मन्टो' मा ऋषि कपुर, जावेद अख्तर पनि देखिएका छन् । फिल्ममा भारतीय स्वतन्त्रता अगाडि र पछाडिको दुवै समय देखाइएको छ ।
अभिव्यक्ति स्वतन्त्रताबारे सोधिएको प्रश्नमा निर्देशक नन्दिता दासले भनिन्, "लेखक र कलाकार आफ्नो काम मार्फत आफ्नो यथार्थ व्यक्त गर्न जारी राख्नेछन् भन्नेमा म आशावादी छु । पाठक र दर्शकका रुपमा हामीले एक सवल र परिपक्व समाजका लागि उनीहरुको समर्थन गर्नु आवश्यक छ ।"
फिल्म २१ सेप्टेम्बरमा रिलिज हुनेछ ।