सिरियलका 'कृष्ण' पहाडमा ध्यान शिविर चलाउँदै
एक समय भारतीय टिभी च्यानलमा प्रसारण हुने सिरियल 'श्री कृष्ण' हेर्नुभएको थियो भने ठूलो अनुहारका हँसमुख कृष्णको छवि तपाईंको स्मृतिमा ताजै होला। रामानन्द सागरले निर्माण तथा निर्देशन गरेको उक्त सिरियलमा कृष्णको भूमिका निर्वाह गर्ने कलाकार थिए, सर्वदमन डी बनर्जी। सिरियलका ती भगवान् लामो समयदेखि अभिनयको दुनियाँदेखि गायब छन्।
गुमनाम जिन्दगी बाँचिरहेका उनी अहिले कहाँ के गरिरहेका छन् त ?
सर्वदमन पछिल्लो समय कलिला बालबालिकाहरुको सहयोगमा खटिएका छन्। ग्लामरको दुनियाँदेखि पर रहेका उनी बच्चाहरुलाई ध्यान विधि सिकाउने काम गरिरहेका छन्। नदी र पहाडको बीचमा रहेको ऋषिकेशमा उनको मेडिटेसन सेन्टर छ।
उनले 'पङ्ख' नामको संस्था पनि चलाइरहेका छन्। उक्त संस्थाले २०० बालबालिकाको पठनपाठनको जिम्मा लिएको छ। साथै, करीब ५० महिलालाई विभिन्न सीपमूलक तालिम दिँदै आएको छ।
'कृष्ण'को लोकप्रियता
भारतको उत्तर प्रदेशमा जन्मिएका सर्वदमन अभिनय नै पढेर आएका कलाकार हुन्। पुणे फिल्म इन्स्टिच्युटबाट स्नातक गरेका उनले हिन्दी, संस्कृत र तेलगु फिल्महरुमा काम गरेका छन्। तर, टिभी सिरियल 'श्री कृष्ण' मा अभिनय गरेपछि भने उनको परिचय र लोकप्रियता व्यापक बन्यो।
सिरियलमा कृष्ण भगवानको भूमिकामा देखिन थालेपछि सर्वमदनलाई मानिसहरुले वास्तविक जीवनमा पनि पुज्न थालेका थिए। कतिपय समयमा त उनलाई आफ्ना प्रशंसकहरुको घेराबाट फुत्कनै गाह्रो पर्थ्यो।
आजसम्म विभिन्न धार्मिक सिरियलमा कैयौं कलाकारले कृष्णको भूमिका निर्वाह गरिसकेका छन्। तर, सर्वदमनले जस्तो लोकप्रियता कसैले पाएनन्।
दुई 'कृष्ण'बीचको टक्कर
भारतीय धार्मिक सिरियलहरुमा धेरै 'कृष्ण' हरु छन्। रामानन्द सागरले बनाएको 'श्री कृष्ण' मा सर्वदमन कृष्णको भूमिकामा देखिए भने बीआर चोपडाको मेगा सिरियल 'महाभारत' मा अर्का कलाकार नीतिश भारद्वाज कृष्ण बने। सर्वदमन र 'महाभारत'का कृष्ण अर्थात् नीतिशबीच तिक्ततापूर्ण सम्बन्ध रहेको देखिन्छ।
एक कार्यक्रममा सर्वदमनलाई सम्मान दिन बोलाउँदा यी दुईबीचको शीतयुद्ध सार्वजनिक भएको हो। कार्यक्रममा एक प्रशंसकले उनलाई 'महाभारत'का कृष्ण नीतिशबारे सोध्दा उनले भनेका थिए, "को कृष्ण ? तपाईं दुनियाँभरमा फैलिएका कृष्ण भक्तहरुमध्ये कसैले चासो नदिएका तिनै व्यक्तिबारे कुरा गर्दै हुनुहुन्छ ? मसँग भेट्न बीबीसीको पूरै टोली गुजरातको लक्ष्मी स्टुडियोसम्म आएको थियो। मैले सबैतिर चर्चा पाएको छु।"
जब यो खबर नीतिशको कानसम्म पुग्यो, उनले उखान मिसाउँदै भने, "जसबाट घरको दियो बलेन, ऊ मस्जिद उज्यालो पारेको दाबी गरिरहेको छ। उन (सर्वदमन)लाई कति भारतीयले चिन्छन् र !"
– एजेन्सी