रणवीर-दीपिकाको विवाहको मिति तय
प्रेम सम्बन्धमा रहेका बलिउड स्टार रणवीर सिंह र दीपिका पादुकोणको विवाह लामो समयदेखि बलिउडमा चर्चाको विषय बनिरहेको छ । यसै क्रममा यी दुईबीचको विवाहको मिति तय भएको खबर आएको छ ।
फिल्मफेयरको रिपोर्ट अनुसार, रणवीर र दीपिकाले यही वर्षको २० नोभेम्वरमा विवाह गर्ने भएका छन् । उनीहरुको विवाहबारे विगतमा बेलाबेलामा विभिन्न खबर आए पनि ती गसिपमै सीमित हुँदै आएका थिए ।
मितिसँगै विवाह हुने ठाउँको पनि टुंगो लागेको छ । इटालीमा हुने विवाह समारोहमा केही साथी र आफन्तलाई मात्र निम्ता गरिने बताइएको छ । खबर अनुसार, विवाहमा परिवार र निकट साथी गरी करीब ३० जना सहभागी हुनेछन् । विवाहपछि भारतमा पार्टी आयोजना हुनेछ ।
इटाली रणवीर र दीपिका दुवैलाई मन पर्ने देश भएकाले विवाह समारोहको गन्तव्य बनाउने निर्णय गरेको जानकारी भारतीय सञ्चार माध्यमले दिएका छन् ।
विवाहको मिति थाहा पाएर दुवैका प्रशंसकहरु रोमाञ्चित भइरहँदा दुवै तर्फबाट अहिलेसम्म विवाहबारे आधिकारिक रुपमा केही पनि भनिएको छैन ।
रणवीर र दीपिकाबीच सन् २०१३ देखि निकटता बढेको हो । 'गोलियों की रासलीला: रामलीला' को सुटिङका क्रममा उनीहरु नजिकिएका थिए ।
यसपछि विभिन्न अवार्ड समारोह, अन्तर्वार्ता र सामाजिक सञ्जालमा दुवैले एक-अर्काप्रति प्रेम दर्शाएको देखिएको थियो । उनीहरुले एकसाथ विभिन्न फिल्ममा काम गरेका छन् । पछिल्लो पटक गत जनवरीमा रिलिज भएको 'पद्मावत' मा उनीहरु सँगै देखिएका थिए ।
सामाजिक सञ्जालमा यो जोडीको फ्यान फलोइङ ठूलो छ । सञ्जालका प्रयोगकर्ताहरुले जोडीको कैयौं फ्यान पेज पनि बनाएका छन् । यो जोडीप्रति प्रशंसकहरुको प्रेम कस्तो छ भने, उनीहरुले जोडीको नाम 'दीपवीर' राखेका छन् ।
एजेन्सी