हत्याका अभियुक्त राज्यमन्त्री शर्माद्वारा अदालतमा आत्मसमर्पण
प्रहरी हत्याका अभियुक्त प्रदेश–२ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्माले जिल्ला अदालत महोत्तरीमा आत्मसमर्पण गरेका छन् ।
शर्मा भर्खरै राज्यमन्त्रीका हैसियतले पाएका सुरक्षाकर्मीका साथ जिल्ला अदालत, महोत्तरीमा उपस्थित भएका हुन् ।
उनी मधेस आन्दोलनका बेला सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणका अभियुक्त हुन् । आन्दोलनका क्रममा घाइते भएका विकलाई थप उपचारका लागि जनकपुर ल्याउने क्रममा एम्बुलेन्सबाट थुतेर हत्या भएको थियो ।
उनीसंगै जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्रलाई पनि अदालतले पक्राउ गर्न आदेश दिएको छ । मिश्र भने अझै पक्राउ परेका छैनन् ।
राज्यमन्त्री शर्मा र मेयर मिश्र राष्ट्रिय जनता पार्टी (राजपा) बाट निर्वाचित भएका हुन् ।