अभिनयमा मेरो कुनै सूत्र छैन: मनोज बाजपेयी
मनोज बाजपेयी अब्बल अभिनयले विशेष छाप छाड्ने बलिउड अभिनेता हुन्। आर्ट फिल्म र व्यावसायिक फिल्मको बीच सन्तुलन राखेर काम गर्दै आएका उनको नयाँ फिल्म 'सत्यमेव जयते' १५ अगस्टमा रिलिज हुँदैछ।
'सत्या', 'राजनीति', 'ग्याङ्स अफ वासेपुर', 'अलिगढ' जस्ता फिल्ममा आफ्नो क्षमता देखाएका बाजपेयीको भनाइमा एक कलाकारका रुपमा उनी कुनै पनि भूमिकामा खेल्न निश्चित सूत्र पालना गर्दैनन्। बरु हरेक पटक नयाँ दृष्टिकोण दिन्छन् ।
उनी भन्छन्, "मसँग कुनै भूमिका निर्वाह गर्न कुनै सूत्र छैन। भूमिका अनुसार म हरेकलाई अलग दृष्टिकोणले हेर्छु। मैले अहिलेसम्म विभिन्न फिल्ममा मध्यमवर्गीय व्यक्ति र प्रहरी अधिकारीको भूमिका ५० पटक निर्वाह गरिसकेको छु । तर, तिनमा हरेक पटक फरक तरिकाले काम गर्नुपर्छ। होइन भने प्रस्तुतिमा के मजा हुन्छ र?"
आउन लागेको फिल्म 'सत्यमेव जयते' व्यावसायिक फिल्म भएको उनको भनाइ छ। यसैले 'अलिगढ' जस्तो आर्ट फिल्ममा गरेको प्रस्तुतिभन्दा निकै फरक हुनुपर्ने उनी बताउँछन्। 'सत्यमेव जयते' मा उनी डिसिपी शिवांशको भूमिकामा देखिँदै छन् । फिल्म र आफ्नो भूमिकाबारे उनी भन्छन्, "यो एक्सन-थ्रिलर फिल्म हो। यसमा दुई पात्र प्रहरी र अपराधीको बीच बिरालो र मुसाको दौड छ।" फिल्ममा जोन अब्राहम वीरेन्द्रकुमार सिंहको भूमिकामा देखिनेछन्।
४९ वर्षीय बाजपेयीको आगामी प्रोजेक्टमा 'लभ सोनिया', 'इन द स्याडोज' र 'सोनचिरिया' रहेका छन् । – एजेन्सी