पोखरामा फाइनप्रिन्टको एकदिने साहित्य महोत्सव
प्रकाशन संस्था फाइनप्रिन्टले २ भदौमा पोखरामा एकदिने घुम्ती साहित्यिक महोत्सव आयोजना गर्ने भएको छ ।
'फाइनप्रिन्ट फिभर' नाम दिइएको महोत्सव पोखरास्थित सिटी स्क्वायर रेष्टुरेन्टको सहकार्यमा हुने भएको हो । यसअघि गत वैशाख मध्यमा सुर्खेत, धनगढी र कोहलपुरमा साहित्य महोत्सव गरेको थियो ।
पठन संस्कृति प्रवर्द्धन गर्नुका साथै लेखक-पाठकबीचको आत्मीयता अझ प्रगाढ बनाउनु महोत्सवको उद्देश्य रहेको फाइनप्रिन्टले जनाएको छ ।
उत्सवमा फाइनप्रिन्टले २०७४ सालमा छापेका ‘महको म का लेखक मदनकृष्ण श्रेष्ठ, ‘रजगज’का लेखक हरिबहादुर थापा, ‘माङ्गेना’का लेखक युग पाठक, ‘काठमाडौंमा एक दिन’का लेखिका शिवानी सिंह थारु, ‘यार’ का लेखक नयनराज पाण्डे सहित लेखक अमर न्यौपाने तथा केही स्थानीय लेखक, पत्रकार सहभागी हुनेछन् ।
आयोजकका अनुसार, बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म चल्ने कार्यक्रममा प्रवेश निःशुल्क रहनेछ ।
फाइनप्रिन्ट फिभरको समापन लगत्तै साँझ ६ बजे ‘अ कन्भर्ससेन एन्ड मुजिकल इभिनिङ विथ मदनकृष्ण श्रेष्ठ एन्ड कन्दरा ब्याण्ड’ नाम दिइएको रात्रिभोजसहितको कार्यक्रम हुनेछ । स-शुल्क हुने यस कार्यक्रममा मदनकृष्णसँग संवाद गरिनुका साथै श्रेष्ठ र कन्दरा ब्याण्डले आफ्ना चर्चित गीतहरु प्रस्तुत गर्नेछन् ।