अमरीश पुरीका नातिले बलिउडमा डेब्यू गर्दै
पर्दामा आफ्नो भयानक अवतारबाट सबैलाई डरमर्दो पार्ने बलिउडका अभिनेता अमरीश पुरीका नाति वर्धनले फिल्ममा मुख्य भूमिकामा डेब्यू गर्ने भएका छन्। वर्धनलाई फिल्म निर्माता जयन्तीलाल गाडाले एक रोमान्टिक थ्रिलर फिल्मबाट बलिउडमा डेब्यू गराउने तयारी गरेका छन्। नाम सार्वजनिक नगरिएको फिल्मको सुटिङ आगामी सेप्टेम्बरबाट सुरु हुने बताइएको छ।
यसअघि बर्धनले यशराज फिल्मसले बनाएका 'इश्कजादे', 'दावत-ए-इश्क', 'शुद्ध देसी रोमान्स' मा सहायक निर्देशकका रुपमा काम गरिसकेका छन्।
आफ्नो डेब्यूबारे एक पत्रिकासँग कुरा गर्दै वर्धनले भने, ''म जयन्तीलालको पिरियड ड्रामा फिल्ममा काम गर्न लागे पनि केही कारणवश उक्त फिल्मको निर्माण अगाडि बढ्न सकेन। पछि उहाँले मलाई यो फिल्मको लागि प्रस्ताव गर्नुभयो। म तत्काल राजी भएँ। यो फिल्म हलिउडको 'गोन गर्ल' जस्तै हुनेछ।"
सन् २००५ मा अमरीश पुरीको मृत्यु भएपछि वर्धनले अभिनयमा हजुरबुवाको विरासत अगाडि बढाउने निर्णय गरेका हुन्। वर्धनले भने, ''हजुरबुवा मेरो लागि भगवान् जस्तै हुनुहुन्छ, म पूजा गर्छु। म उहाँसँग असाध्यै नजिक थिएँ। उहाँ र हजुरआमाको बीचमा सुत्ने गर्थेँ। उहाँको मृत्यु भएपछि मलाई यस्तो लाग्यो, मानौं मेरो छाताको ओत दिने कपडा नै उजाडियो। मैले त्यसै बेला निर्णय लिएँ, अब जे पनि गर्छु, हजुरबुवाकै लागि गर्नेछु। यो फिल्म उहाँकै लागि हो।''
वर्धनले अभिनयको तालिम फिल्ममेकर र लेखक सत्यदेव दूबेबाट लिएका हुन्। आफूलाई फिल्म लेखन र निर्देशनमा रुचि भए पनि अभिनयमा विशेष झुकाव रहेको भन्दै उनी थप्छन्, "शुरुमा सत्यजीत दूबेले मलाई ब्याकस्टेजमा चिया-पानी ल्याउने र सरसफाइ गर्ने जस्ता काम लगाउनुहुन्थ्यो। पछि स-साना रोल पाउन थालेँ।"
वर्धनले अहिलेसम्म ९० भन्दा बढी नाटकमा काम गरिसकेका छन्। – एजेन्सी