‘डढेलोभित्रका सतिसाल’ हङकङमा प्रिमियर
सार्थक जनसंगीत प्रतिष्ठान नेपालका लागि हङकङ हिमायतीले यसको निर्माण गरेको डकुमेण्ट्री फिल्म ‘डढेलोभित्रका सतिसाल’को प्रिमियर ७ कार्तिक साँझमा हङकङको युनलङ थिएटरमा भएको छ ।
यो डकुमेन्ट्री पाँच दशकदेखि देश र जनतामा गीत–संगीतको माध्यमबाट सामाजिक, राजनीतिक चेतना छर्न सक्रिय रामेश र उनीजस्तै स्रष्टाहरुको सागीतिक जीवन यात्रामाथि बनेको छ । यसले बन्द समाजमा चेतनाको बिगुल फुक्ने राल्फा, संकल्प, आस्था परिवार र रामेशहरुको जीवन–संघर्ष र संगीतहरुलाई लिपीबद्ध गरेको जनाएको छ ।
गायक रामेशको ५५ वर्ष लामो गायन यात्रा तथा जीवनको आरोह–अवरोहसँगै नेपाली सार्थक जनसंगीतका सर्जक तथा जानकारहरूको अनुभव समेत समेटिएको फिल्मको निर्देशन फिल्मकर्मी प्रणय लिम्बू र पत्रकार डम्बरकृष्ण श्रेष्ठ (अनुशील)ले गरेका हुन् । रेड क्यामरा प्रयोग गरिएको वृत्तचित्रको छायाङ्कन बाबुराम नेपालीले गरेका छन् भने सम्पादन सन्तोषी नेपालले गरेकी छिन् ।
फिल्मको प्रर्दशनीसँगै हङकङ हिमायतीले युग गायक रामेशलाई हङकङवासीका तर्फबाट र फिल्मका निर्देशक डम्बरकृष्ण श्रेष्ठलाई सम्मान गरिएकोे छ । हङकङ हिमायतीका अध्यक्ष शिव सुब्बाले सम्मान पत्र हस्तान्तरण गरेका थिए । सो अवसरमा रामेशले जनता नै देशका मालिक भएकाले देश बनाउँन जनता अघि सर्नु पर्ने र भ्रष्ट नेताहरु विरुद्ध खबरदारी गरिरहनु पर्ने बताए ।
फिल्म निर्माण गर्नमा महत्वपूर्ण भुमिका खेलेका हङकङका ईन्द्र वनेम ‘डढेलोभित्रका सतिसाल’ले नेपाली जनताको लागी जीवन समर्पण गर्ने रामेशलगायतका सर्जहकरुलाई नयाँ पुस्तामा परिचित गराउँने बताए । करिब दुई घण्टा लामो वृत्तचित्रमा जनसंगीतमा लागेका रायन, मञ्जुल, राल्फा समूहका सदस्यहरुसहित स्वतन्त्र र पार्टीमा आवद्ध भएका कलाकार, गीतकार, संगीतकार, लेखक, विश्लेषक, नेताहरुको अनुभव समेटिएको छ ।
वृत्तचित्रको हङकङ प्रिमियरपछि नेपालका प्रमुख शहर र डायस्पोरासँगै बिभिन्न अन्तराष्ट्रिय फिल्म फेस्टीभलहरुमा प्रर्दशन गरिने योजना रहेको जनाएको छ । च्यारीटी शो र प्रर्दशनीबाट संकलित रकम सार्थक जनसंगीत प्रतिष्ठानको कोषमा जम्मा गरी यस्तै सार्थक संगीतको संरक्षण र प्रर्वद्धनमा खर्च गरिने छ ।