प्रदेश–१ मा ‘ब्याड फ्राइडे’
कमल रिमाल, विराटनगर
शुक्रबारलाई ‘गुड फ्राइडे’ भनेर मनोरञ्जन गर्ने दिनका रूपमा लिने गरिए पनि प्रदेश–१ मा भने ‘ब्याड फ्राइडे’ साबित हुँदै आएको छ ।
११ साउनमा चैनपुर नगरपालिका–६, संखुवासभाकी चित्तकुमारी राई (५५) ले रूखमा झुण्डिएर आत्महत्या गरिन् । बेलबारी नगरपालिका–४, मोरङकी प्रभा तामाङ (१४) ले घरभित्रै पंखामा झुण्डिएर ज्यान गयो । झापा हल्दीबारी गाउँपालिका–४ का मानबहादुर राई (६०) घर पछाडिको रूखमा झुण्डिएको अवस्थामा मृत भेटिए ।
मेचीनगर–१५, झापाका हुलास पाहान (५०) अत्यधिक मदिरा पिएर मृत अवस्थामा फेला परे । म्याङलुङ–१०, तेह्रथुमका ठगबहादुर पुर्कुटी (६८) मृत अवस्थामा भेटिए । इटहरी–२, सुनसरीका रत्न राई (५०) ले विषादी सेवन गरेर आत्महत्या गरे । यस्तै, उर्लाबारी–४, मोरङकी १८ वर्षीया किशोरी र देवानगञ्ज–३, सुनसरीकी २१ वर्षीया युवती विष खाएर मृत्युको मुखमा पुगेर फर्किए ।
यो तथ्यांक ११ साउन शुक्रबार एकै दिनको हो, जुन दिन ६ जनाले आत्महत्या गरे । अघिल्लो दिन बिहीबार र भोलिपल्ट शनिबार यतिका घटना भएनन् । ११ साउनमा २० वटा अपराधका घटना हुँदा अघिल्लो दिन बिहीबार सात र भोलिपल्ट शनिबार १० घटना भए । जसमा बिहीबार दुई जनाले आत्महत्या गरे भने शनिबार दुई मृत भेटिए ।
यसभन्दा अघिल्लो साता हेर्ने हो भने पनि ४ साउन शुक्रबार २६ वटा घटना भएका थिए । जबकि ३ साउनमा १३ र ५ साउनमा १६ वटा घटना भएका थिए ।
प्रदेशको प्रस्तावित राजधानी विराटनगरमा पनि शुक्रबार नै बढी अपराध भएको देखिन्छ । ११ साउन शुक्रबार भएका अपराधबारे जिल्ला प्रहरी कार्यालय, मोरङमा १४ वटा उजुरी परे । अन्य दिन सरदर दुई वटादेखि ७ वटासम्म उजुरी परेको देखिन्छ ।
“सातामा सबैभन्दा बढी घटना शुक्रबार हुन्छन्” प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) केदार रिजालले भने, “शुक्रबार गुड फ्राइडे मनाउने नाममा बढी घटना भएको पाइन्छ ।”
सुनसरीमा बढी अपराध
प्रदेश–१ का १४ जिल्लामध्ये सुनसरीमा अपराधका घटना बढी भएको पाइएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार, गत आर्थिक वर्ष २०७४÷७५ मा सुनसरीमा एक हजार ९९० अपराधका घटना भए ।
सबैभन्दा कम पहाडी जिल्ला तेह्रथुममा १०० वटा घटना दर्ता भएका छन् । तथ्यांकले पहाडी जिल्लामा औसत वर्षमा १५० को हाराहारीमा घटना भएको देखाउ“छ ।
रातको तुलनामा दिउ“सो नै अपराधका घटना बढी हुने गरेको डीआईजी रिजालले बताए । उनका अनुसार, दिउ“सो १२ बजेदेखि सा“झ् ६ बजेसम्म अपराधका घटना बढी हुने गरेका छन् । प्रहरी उपस्थिति बढाउँदै सुरक्षा व्यवस्था बलियो बनाउन प्रदेशका विभिन्न ठाउँमा यसै वर्ष प्रहरी कार्यालयहरू स्थापना गरिने उनको भनाइ छ ।
प्रदेश सरकारले यसै वर्ष ल्याएको घरघरमा प्रहरीको फोन नम्बर सहितको स्टिकर टाँस्ने कार्यक्रम प्रभावकारी भएको डीआईजी रिजाल दाबी गर्छन् । स्टिकर टा“सेपछि प्रहरीसँग जनताको पहुँच बढ्न गई सूचना आउने क्रम बढेको उनी बताउँछन् । प्रदेश–१ अन्तर्गत ११ लाख १५ हजार घरधुरीमध्ये १० लाख ६६ हजार घरधुरीमा स्टिकर टाँसिएको छ ।
‘गाउँमा भन्दा शहरमा बढी’
दिनहुँ हुने अपराधको तथ्यांक हेर्दा प्रदेश १ मा अन्य दिनभन्दा शुक्रबार बढी घटना हुने गरेको देखिन्छ । यस्ता घटना ग्रामीण क्षेत्रभन्दा शहरी क्षेत्रमा बढी हुने गरेका छन् । धेरै युवाले शुक्रबार समूहमा बसेर मोजमस्ती गर्ने नाममा मदिरा पिउने गर्छन् । शनिबार क्याम्पस र कार्यालय बिदा हुने भएकाले शुक्रबार अबेरसम्म मापसे गर्ने प्रचलन छ ।
केदार रिजाल, प्रहरी नायव महानिरीक्षक
प्रहरी प्रमुख, प्रदेश–१
झै–झगडा, ज्यान मार्ने उद्योग, सार्वजनिक अपराध जस्ता घटना शुक्रबार नै बढी हुने गरेको छ । सीमापारि भारततर्फ लागूऔषध सेवन तथा ओसारपसार गर्न जाने युवा पनि शुक्रबार नै बढी भेटिन्छन् ।
होटलहरूले शुक्रबार नै विभिन्न कार्यक्रम आयोजना गर्छन् । मेला र सांगीतिक कार्यक्रम पनि शुक्रबारलाई लक्षित गरेर आयोजना हुन्छ । दिउँसो १२ देखि बेलुका ६ बजेसम्म बढी घटना हुने गरेका छन् ।
सम्भावित घटना र अपराध रोक्न बढी जमघट हुने कार्यक्रम आयोजना गर्दा प्रहरीलाई अग्रिम जानकारी दिन आग्रह गर्न थालेका छौं । घटनालाई विश्लेषण गरी शुक्रबार बेलुका शहरी क्षेत्रमा चेकिङ बढाइएको छ ।
युवा र विद्यार्थी लक्षित सचेतनामूलक कार्यक्रम चलाउनुका साथै एफएम रेडियो मार्फत सन्देश दिन थालिएको छ । युवालाई आपराधिक कर्मतिर जानबाट रोक्न अभिभावक पनि गम्भीर हुनुपर्छ । हरेक महीनाको घटनाको प्रकृतिलाई हेरेर थप रणनीति बनाउँदै लैजानेछौं ।