मोरङका हाट बजारमा ‘हिमाली मस्ताना’ को बिगबिगी
शरीरका हरेक अंगको जस्तोसुकै दुखाई निको पार्ने दाबी गर्दै मोरङका हाटहबजारहरुमा भारतीय व्यापारीले बेच्ने औषधि भनिएकोे तेलको कारोबार निकै फस्टाएको छ ।
हिमाली मस्ताना भनिने उक्त तेल विभिन्न साइजका प्याकेट र बोतलमा रु ५०, १०० र २०० मा बिक्री भइरहेको छ ।
‘हिमालबाट खोजी गरी ल्याएको जडिबुटीबाट बनेको तेलले दुखाई चट् पार्नेे’ भन्दै माइकबाट प्रचार गरिन्छ । रेकर्ड गरिएको विज्ञापन ठूलो स्वरमा बजाउने उनीहरु आफैं भने नेपाली भाषा बुझ्दैनन् ।
तेलको शिशीमा उत्पादक संस्था, उत्पादन मिति र व्यापारको आधिकारिकताका बारेमा केही उल्लेख हुँदैन ।
यस्ता व्यापारीे तेल बाहेक बिभिन्न खाले दिर्घरोग निको पार्ने टोनिक भनेर नाम बिनाका औषधि पनि बिक्री गरिरहेका छन् ।
अशुद्ध नेपाली भाषामा लेबल गरिएको टोनिकको प्याकेटमा यौन शक्ति २५ मिनेटसम्म बढाउंने उल्लेख छ ।
यस्तै तेल बेच्दै हिंड्नेमध्येका एक भारतीय नागरिक राजेन्द्र सिंहले भगवती आयुर्वेद सेवा संस्थान, भारतबाट व्यवसायका लागि पाएको इजाजतपत्र देखाए ।
हेर्दा आधिकारिक जस्तो नदेखिने उक्त पत्रमा ‘सोहन सिंहलाई सन २०१३ देखि २०१५ सम्म छत्तिसगढ उत्तर वनौषधि प्रचारकका रुपमा नियुक्त गरिएको’ उल्लेख छ ।
बिभिन्न जडिबुटी लिएर सहजै नेपाल छिरेका उनीहरुलाई रोक्न कसैले चासो दिएको देखिंदैन ।
दुःखाई कम गर्ने औषधीय तेल भनेर नेपालीसंग रकम लिईरहेका यस्ता ब्यक्तिहरुको ब्यापारका बारेमा मोरङका प्रहरी उपरीक्षक मनोज केसीसंग जिज्ञासा राख्दा उनी यो विषय औषधि ब्यवस्था कार्यालयसँग सम्बन्धित भएको बताउँछन् ।
केसीका अनुसार, औषधि ब्यवस्था कार्यालयलाई यस बारे जानकारी दिइएको छ ।
मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीले लेवन बिनाका र दर्ता नभएका औषधि बिक्रि भएको पाइए कारवाही हुने बताए ।
औषधि ब्यवस्था कार्यालय विराटनगरका प्रमुख आशा थापासँग बजारमा औषधिका नाममा ठगी भई रहेको बारे प्रतिक्रिया लिन पटक पटक मोबाइलमा फोन गर्दा पनि सम्पर्क हुन सकेन ।
विराटनगरका औषधि पसलहरुमा नक्कली लेबल लगाएर बिक्री गर्नेहरुलाई पक्राउ गरी सामान्य धरौटीमा छाड्दै आएको विराटनगरको औषधि ब्यवस्था कार्यालय अहिले विवादीत भएको छ ।