कुलचन्द्र गौतमको आत्मकथा ‘ग्लोबल सिटिजन फ्रम गुल्मी’ सार्वजनिक
कुलचन्द्र गौतमको आत्मकथा ‘ग्लोबल सिटिजन फ्रम गुल्मी’ सार्वजनिक गरिएको छ ।
आज ललितपुरमा पब्लिकेशन्स नेपालयले आयोजना गरेको समारोहमा पुस्तक सार्वजनिक गरिएको हो ।
संयुक्त राष्ट्रसंघको उपमहासचिव र राष्ट्रसंघीय बालकोष (युनिसेफ) को कार्यकारी उपनिर्देशकसम्मको जिम्मेवारी निभाएका गौतमको भोगाइ यस पुस्तकमा समेटिएका छन् ।
‘ग्लोबल सिटिजन फ्रम गुल्मी’मा गौतमको बाल्यकाल, स्कूल, बिजुली र मोटरबाटो नभएको दुर्गम गाउँदेखि राष्ट्रसंघ र युनिसेफको उच्च ओहदासम्मको यात्रा समेटिएको छ ।
पुस्तकमा नेल्शन मण्डेला, बिल गेट्स, एडवार्ड शेभर्नात्जेदेखि थाइल्याण्डका राजा भूमिबोल अदुल्यादेज अनि युनिसेफका थुप्रै सद्भावनादूतहरु सम्मका रोचक भेटघाटहरुको प्रसंग उल्लेख गरिएको छ ।
आज सार्वजनिक गरिएको पुस्तक अमेजोनको प्रिन्ट अन डिमाण्ड(पीओडी) र किण्डलमार्फत संसारभर उपलब्ध हुने पब्लिकेसन्स नेपालयले जनाएको छ ।
गौतमले विशिष्ट कूटनीतिज्ञ र विकास अभियन्ताको हैसियतले अहिले पनि थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थामा सक्रिय सहभागिता जनाइरहेका छन् । साथै, नागरिक समाजको एक अनुभवी सदस्यका रुपमा उनले मानवअधिकार, सामाजिक, आर्थिक विकास, लोकतन्त्र र सुशासनका क्षेत्रमा पनि योगदान पु¥याउँदै आएका छन् ।
पुस्तकको मूल्य पातलो गाताको ८९५ र मोटो गाताको १३९५ रुपैयाँ राखिएको छ ।