फोटो काठमाडौं: एशियाली दृश्यकथा
संसारभरिका फोटोग्राफरले खिचेका एशियाका उत्कृष्ट फोटोहरू एकै ठाउँमा हेर्ने मौका आएको छ । फोटो काठमाडौं महोत्सवमार्फत फोटो सर्कलले यो अवसर जुटाएको छ, ललितपुरको पाटनमा ।
नेपालमा आयोजना हुने एक्लो अन्तर्राष्ट्रिय फोटो महोत्सव ‘फोटो काठमाडौं’ को दोस्रो संस्करणमा देशभित्रका मात्रै नभएर एशियाभरका फोटो समावेश गरिएका छन् । पहिलो संस्करणमा भने महोत्सव नेपालमै खिचिएका फोटोहरूमा मात्रै केन्द्रित थियो । ५ कात्तिकदेखि पाटनमा शुरु भएको दुईहप्ते महोत्सवले पाटन, यसको इतिहास तथा पाटनवासीका आकांक्षा र सपनाबीचको सम्बन्धलाई पनि केलाउने प्रयत्न गरेको आयोजकको विश्वास छ ।
नेपाललाई जीवन्त सांस्कृतिक गन्तव्यका रुपमा प्रवद्र्धन गर्ने उद्देश्यले फोटो काठमाडौंको आयोजना गरिएको महोत्सवकी सह–निर्देशक नयनतारा गुरुङ कक्षपति बताउँछिन् । “विदेशमा हुने फोटो महोत्सवहरूमा सहभागी हुँदा नेपालमा यस्तो किन हुँदैन भनी खट्किरहन्थ्यो” फोटो काठमाडौंको परिकल्पनाकार समेत रहेकी उनी भन्छिन् । दृश्य माध्यमबाट कथा भन्ने कलाकार तथा स्थानीय दर्शकबीच संवादका लागि वैकल्पिक मञ्चको रूपमा महोत्सवले सेतुको काम गरिरहेको उनको विश्वास छ ।
महोत्सवका क्रममा पाटन र आसपासका क्षेत्रमा विभिन्न कार्यक्रमहरू भइरहेका छन् । २२ देशका ५२ जना फोटोग्राफर, क्युरेटर, सम्पादक तथा कला साधकको सहभागिता रहने महोत्सवमा १२ वटा फोटो प्रदर्शनी, ७ वटा स्लाइड सो, १४ वटा कलाकार वार्ता तथा संवाद, ६ वटा कार्यशाला र आवासीय मिक्स्ड–मिडिया कार्यक्रम समावेश गरिएको छ ।
महोत्सवमा प्रदर्शनका लागि एशिया भरबाट छानिएका फोटोहरू राखिएका छन् । अफगानिस्तानका सान्ड्रा क्यल्लिगारोको ‘अफगान ड्रिम’ फोटो शृङ्खलाले सञ्चारमाध्यममा प्रस्तुत गरिने युद्धका भयावह तस्वीर विपरीत काबुलवासीको सामान्य दैनिकी प्रस्तुत गरेको छ । कम्बोडियाका किम हाकले खमेर रुज शासनको कोपभाजनमा पर्ने डरले लुकाइएका ४० वर्ष पुराना फोटा र व्यक्तिगत सामग्रीको श्रृंखला ‘अलाइभ’ तस्वीर पनि महोत्सवको खास प्रस्तुति रहेको छ । यो श्रृंखला टंगालमा हेर्न सकिन्छ ।
आजादे अख्लागीको ‘बाई एन आइविटनेस’ फोटो शृंखला इरानको इतिहासमा भएका रहस्यमय हत्याकाण्ड र घटनाहरूको काल्पनिक चित्रण हो । यसलाई च्यासलको मंका खल हलमा राखिएको छ । त्यस्तै दुई असमान वर्गबीच सम्बन्धबारेको जन्नतुल मावाको ‘क्लोज डिस्टेन्स’ लबिम मल पुल्चोकमा प्रदर्शनमा रहेको छ । त्यस्तै शिखर भट्टराईको ‘द अदर साइड अफ अन्नपूर्ण’ ले मार्फा गाउँ र त्यससँगको स्थानीय बासिन्दाको सम्बन्धलाई खोतलेको छ, लबिम मल, पुल्चोकमा । नेपाली दलितले भोगेका सामाजिक, आर्थिक, राजनीतिक तथा बौद्धिक असमानताको चित्रण दिवस राजा केसीले क्युरेट गरेका छन् । पाटनमा प्रदर्शन भइरहेको ‘दलितः अ क्वेस्ट फर डिग्निटी’ भने ११ मंसीरसम्म चल्नेछ ।
फोटो प्रदर्शनीको अतिरिक्त फोटोग्राफीसम्बन्धी कार्यशाला महोत्सवका आकर्षण हुन् । कार्यशालाका लागि केभिन बुब्रिस्की र प्याट्रिक विटी (अमेरिका), पाब्लो बार्थोलोम्यु (भारत), लार्स विल्युमेट (जर्मनी), यान मिन्गार्ड (स्वीट्जरल्यान्ड), केभिन डब्ल्यु वाई ली (सिंगापुर) र नेपालबाट किशोर शर्मा, शिखर भट्टराई, प्रवीण अधिकारीको प्रस्तुति रहनेछ । त्यस्तै कला र शिक्षा विशेष कार्यक्रम अन्तर्गत विद्यार्थी, शिक्षक, अभिभावकसँग अन्तरक्रिया पनि पाटन बहुमुखी क्याम्पसमा चलिरहेका छन् । जहाँ निःशुल्क शैक्षिक सामग्री वितरण, प्रदर्शनीहरूको भ्रमण, कला–कार्यशाला तथा शिक्षक गोष्ठी लगायतका कार्यक्रम भइरहेको आयोजकले जनाएका छन् ।
फोटो काठमाडौंको अर्को आकर्षण ६ जना कलाकारको एउटै प्रस्तुति हो । एक महीनादेखि एउटै घरमा बसेका अर्जित भट्टाचार्य (भारत), जुलिया सुस्टर (अष्ट्रेलिया), राजन श्रेष्ठ (नेपाल), क्याट्रिन भल (जर्मनी), ड्यानियल अर्थर पन्ज्वानी (पाकिस्तान) र शिमुल शाह (बंगलादेश) ले संयुक्त प्रदर्शनी तयार गरेका छन् ।
बुङ्गमतीमा फ्रान्सेली कलाकार ब्रुस म्याक्व अइन्सले ४० वर्षदेखि खिचेका रातो मत्स्येन्द्रनाथका तस्वीरहरूले परिवर्तित संस्कृतिको झल्को दिनेछ । उनी प्रत्येक वर्ष फ्रान्सबाट आएर रातो मत्स्येन्द्रनाथको जात्रामा फोटो खिच्दै आएका छन् । “भूकम्पबाट क्षति भएको बुङ्गमतीलाई सघाउने लक्ष्य राखेका छौं”, महोत्सवकी सह–निर्देशक कक्षपति भन्छिन् ।
गतवर्षदेखि शुरु भएको फोटो काठमाडौंको तेस्रो संस्करण भने अबको दुई वर्षपछि मात्र हुनेछ । दुई वर्षको बीचमा देशभर घुम्ती फोटो महोत्सव गर्ने कामलाई जारी राख्ने कक्षपतिले बताइन् ।