किशोर साहित्यलाई ५० हजारको पुरस्कार
राष्ट्रिय युवा साहित्य परिषद्ले किशोरलाई लक्षित गरेर निस्किएको पुस्तकलाई ५० हजार राशीको पुरस्कार प्रदान गर्ने भएको छ ।
वर्षभरि निस्किएका किशोर लक्षित पुस्तकमध्ये उत्कृष्ट एउटा पुस्तकलाई उक्त पुरस्कार प्रदान गरिने भएको हो ।
त्यसैगरि वर्षभरी विभिन्न सञ्चार माध्यममा प्रकाशित/प्रशारित युवा सामग्रीमध्ये दुई वटालाई १०/१० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ ।
किशोर साहित्यमा कलम चलाउने लेखकहरुको भेलाले ‘राष्ट्रिय युवा साहित्य परिषद’ गठन गरेको हो । भेलाले लेखक तथा पत्रकार आश्विनी कोइरालाको अध्यक्षतामा १५ कार्यकारी सदस्य चयन गरेको छ ।
जसको वरिष्ठ उपाध्यक्षमा महेश पौड्याल, उपाध्यक्षमा सम्पदा मल्ल, सचिवमा मिलन संग्रौला र कोषाध्यक्षमा सीमाना पौडेल चयन भएका छन् ।
परिषद्को सदस्यमा कृष्ण आचार्य, सुरेश बादल, कृष्ण ढुंगेल, सुधीर कुमार ‘सुमन’, नविन प्यासी, आयुष भट्टराई, प्रदीप बस्नेत, संघर्ष क्षेत्री र दीपक कोइराला छन् ।
किशोर साहित्य ‘साहित्य पठनको प्रारम्भिक बिन्दु’ भएको निष्कर्ष निकाल्दै भेलाले यसलाई मूलधारको साहित्यले स्वीकार गर्ने सामग्री उत्पादनमा जोड दिने लक्ष्य राखेको छ ।
“बिक्री र पाठकका हिसावले नेपालको किशोर साहित्य मूलधारको साहित्यभन्दा धेरैमाथि छ ।” नवनिर्वाचित अध्यक्ष कोइरालाले भने, “तर यसलाई मूलधारका साहित्यका रुपमा स्वीकार गरिएको छैन । यो अवस्थाको अन्त्य गर्ने लक्ष्यका साथ म आफ्नो कार्यकाल पूरा गर्नेछु ।”
परिषद्ले प्रकाशनको पहुँचबाट टाढा रहेका लेखकलाई सम्पादन तथा प्रकाशनमा सहयोग तथा सिफारिस गर्ने, देश तथा विदेशमा रहेका युवा साहित्यकारलाई संगठित गर्ने, किशोर साहित्यको स्तरीयता सम्बन्धी विभिन्न कार्यक्रम, गोष्ठी समेत संचालन गर्नेछ ।