बन्ने भयो 'बाहुबली' को तेस्रो भाग, नेटफ्लिक्समा आउने
बलिउडमा अहिलेसम्मकै सर्वाधिक व्यापार गर्न सफल बहुचर्चित फिल्म 'बाहुबली' को तेस्रो भाग बन्ने भएको छ ।
‘बाहुबली: द बिगनिङ’ र ‘बाहुबली: द कन्क्लूजन’ को प्रिक्वल (पूर्वकथा) बताइएको फिल्म ‘बाहुबली: बिफोर द बिगनिङ’ नेटफ्लिक्समा सिरिजका रुपमा आउने भएको हो । यो प्रिक्वल भारतीय लेखक आनन्द नीलकण्ठनको ऐतिहासिक उपन्यास ‘द राइज अफ शिवगामी’ (२०१७) मा आधारित हुनेछ।
बाहुबलीका अघिल्ला दुई फिल्म बनाएका एस एस राजामौलीले नै यसको निर्देशन गर्नेछन् । तेस्रो भागमा कटप्पाको कथाका साथै खासगरी विद्रोही युवतीदेखि बुद्धिमान रानी बन्नेसम्मको शिवगामीको यात्रा देखाइने निर्माण टोलीले जनाएको छ।
नेटफ्लिक्सले फिल्मको सिरिज निर्माणबारे बिहीबार घोषणा गरेको हो। कम्पनीले दुई संस्करणको अर्डर पाइसकेको छ। सिरिजको एउटा संस्करणमा नौ भाग हुनेछन्। नेटफ्लिक्सले सिरिज बनाउन ‘बाहुबली’ को निर्माणमा सहभागी आर्का मिडिया वर्क्स र राजामौलीसँग टिम बनाएको छ। सिरिजको सह-निर्देशन देवा कट्टा र प्रवीण सतारुले गर्ने भएका छन्।
यो प्रिक्वलले यसअघिका फिल्मले जस्तै दर्शकको साथ पाउने अपेक्षा निर्देशक राजमौलीले गरेका छन्।
– एजेन्सी