आमिर खान किन पारिश्रमिक नलिएर फिल्ममा ८० प्रतिशत हिस्सा लिन्छन् ?
बलिउड फिल्म उद्योगमा आमिर खानलाई 'मिस्टर पर्फेक्सनिस्ट'को उपनाम यत्तिकै दिइएको होइन । उनको काम गर्ने तौरतरिका अरु अभिनेताभन्दा भिन्न छ । निकै छनोट गरेर फिल्म खेल्ने उनी फिल्मको स्क्रिप्टदेखि निर्माण टोलीमै संलग्न हुन्छन् । यसरी काम गर्दा उनी पारिश्रमिक लिँदैनन्, बरु फिल्ममा निश्चित प्रतिशत तोकेरै हिस्सा लिन्छन्।
यसै क्रममा आमिरले फिल्ममा आफूले ८० प्रतिशत हिस्सा लिनुको कारण बताएका छन् । पाँचौं इन्डियन स्क्रिन राइटर्स कन्फ्रेन्समा उनले यसबारे चर्चा गरेका हुन् । उनले यसरी फिल्म निर्माणमै हिस्सा लिँदा आफूलाई मात्र धेरै प्रतिफल आउँछ भन्ने धेरैको सोचाइ रहे पनि यो कुरा सत्य नभएको बताए ।
आमिरले आफूलाई फिल्मको कमाइको प्रतिफल सबैभन्दा पछि प्राप्त हुने भन्दै फिल्मको व्यापारबाट हुने मुनाफाको पूरै प्रक्रियाबारे नै खुलस्त पारे ।
उनले भने, "यदि कुनै फिल्म एक सय करोडमा बनेमा लेखक, प्राविधिक, कलाकारहरुका साथै काम गर्ने सबैलाई सोही एक सय करोडबाट पारिश्रमिक दिइन्छ । तर, मैले भने पैसा सुरुमै पाउँदिनँ । किनभने म त त्यो फिल्मको प्रोफिट पार्टनर हुँ ।" आमिरका अनुसार, यदि फिल्मको प्रचारप्रसारमा २५ करोड खर्च गरिएको छ भने मुनाफाको रकमबाट सबैभन्दा पहिले त्यो खर्च काटिन्छ ।
यसरी त्यो फिल्मको एक सय २५ करोडको कमाइपछि जति पनि व्यापार हुन्छ, त्यसबाट आफूलाई तोकिएको ८० प्रतिशत हिस्सा आफूले पाउने उनले बताए । उनले भने, "यसै कारण फिल्म निर्माता मसँग काम गर्न आत्तिँदैनन् । उनीहरुलाई मेरो पारिश्रमिकको बोझ हुँदैन । खासमा मैले सबैभन्दा अन्तिममा पैसा पाउँछु ।"
यसमा ठूलो जोखिम पनि हुने भन्दै उनले थपे, "केही गरी फिल्म चलेन भने सबैभन्दा पहिला मलाई नै नोक्सान हुन्छ ।"
एजेन्सी