‘थ्रि इडियट्स’ का चर्चित पात्र वाङचुक म्याग्सेसे अवार्डको मनोनयनमा
मुम्बई (एजेन्सी)– भारतको चर्चित फिल्म ‘थ्रि इडियट्स’, जुन व्यक्तिको कथाबाट प्रेरित भएर निमार्ण भएको थियो, उनी एसियाको नोबेल पुरस्कार मानिने रमन म्याग्सेसे अवार्डका लागि मनोनयनमा परेका छन्।
बलिउड स्टार आमिर खान अभिनित फिल्म ‘थ्रि इडियट्स’ उत्तर भारतको कठिन भूगोल भएको ठाउँ लद्दाखमा वैज्ञानिक शिक्षा फैलाइरहेका सोनाम वाङचुकको कहानीमा आधारित थियो। ५१ वर्षीय उनै वाङचुक म्याग्सेसे अवार्डका लागि मनोनयनमा परेका हुन्।
लद्दाखी युवाहरूको जीवनयापन सुधार्न वाङचुकले थालेको अभियान बहुउपयोगी भएको र स्थानीय युवाहरूको आर्थिक प्रगतिमा यसले ठूलो फड्को मारेको भन्दै म्याग्सेसे कमिटीले उनको नाम समावेश गरेको हो।
वाङचुकसँगै यसपालि अर्का भारतीय भरत वटवाणी पनि म्याग्सेसे पुरस्कारको मनोनयनमा समावेश छन्। वटवाणीले मानसिक रूपमा पीडित आर्थिक अवस्था कमजोर भएका व्यक्तिको उपचारमा सहयोग पुर्याउँदै आएका छन्।
यसपालि म्याग्सेसे पुरस्कारको सूचीमा कम्बोडियाका युक चाङ, पूर्वी टिमोरका मारिया डि लोर्ड्स क्रुज, फिलिपिन्सका होवर्ड डी र भियतनामका वि टी होयाङ येन रोम पनि समावेश छन्। म्याग्सेसे पुरस्कार फिलिपिन्सको तेस्रो राष्ट्रपतिको स्मृतिमा १९५७ मा स्थापना भएको थियो। यसपालिको पुरस्कार ३१ अगस्टमा फिलिपिन्सको सांस्कृति केन्द्रमा भब्य आयोजनाको बीच प्रदान गरिदैछ।