अमिताभकी छोरीको ‘डेव्यु’ विज्ञापन रोकियो
मुम्बई (एजेन्सी)– बलिउडका महानायक अमिताभ बच्चनकी छोरी श्वेताले ४४ वर्षको उमेरमा ‘ग्ल्यामर इन्डस्ट्री’ मा पाइला टेकेकी थिइन। यसैक्रममा उनले भर्खरै आफ्नो बुबासँग आभूषणको एउटा विज्ञापनमा काम गरेकी थिइन।
तर, त्यो विज्ञापन विवादमा मुछिएको छ। ‘अल इन्डिया बैंक अफिसर्स कन्फेडरेशन’ को उजुरीपछि विज्ञापन एकाएक टेलिभिजनबाट गायब भएको छ।
अमिताभ र उनको छोरी श्वेता बच्चनले अभिनय गरेको यो विज्ञापनमा आभूषणको तारिफ कम गरिएको थियो भने सरकारी बैंकको दुष्प्रचार धेरै थियो। त्यसैले बैंक अफिसर्स कन्फेडेरेशनले विज्ञापन गर्ने कम्पनी कल्याण ज्वेलर्सविरूद्ध उजुरी दर्ता गराएको थियो। यसपछि विज्ञापन रोकिएको हो।
विवाद बढेपछि अमिताभ र उनको छोरीले अभिनय गरेको डेढ मिनेट लामो विज्ञापनलाई आफूहरूले हटाउने निर्णय गरेको कल्याण ज्वेलर्सले जानकारी दिएको छ। कल्याण ज्वेलर्सका कार्यकारी निर्देशक रमेश कल्याणरमनले विज्ञप्ती सार्वजनिक गर्दै भनेका छन्, ‘हामीलाई दुःख लागेको छ, असावधानीका कारण मानिसहरूको भावनामा ठेस पुग्यो। हामीले सबै मिडियाबाट तुरुन्त विज्ञापन हटाउने निर्णय गरेका छौं।’