गदाल, क्षेत्री र राणालाई छिन्नलता पुरस्कार
काठमाडौँ– गीतकार ज्ञानेन्द्र गदाल र संगीतकार वसन्त क्षेत्री यस वर्षको छिन्नलता पुरस्कारबाट सम्मानित भएका छन्। वरिष्ठ गीतकार रमोला देवी शाह छिन्नलताको ९६ औँ जन्मजयन्तीको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा गदाल र क्षेत्रीलाई पुरस्कार राशि जनही ५० हजार र सम्मानपत्र प्रदान गरियो।
गायिका संगीता प्रधान राणालाई पनि सो पुरस्कारबाट सम्मान गरिएको थियो। राणालाई पनि ५० हजार तथा सम्मानपत्र प्रदान गरियो।
राजनराज शिवाकोटी र मेलिना चाम्लिंग राई प्रतिभा पुरस्कारबाट सम्मानित भए। उनीहरूलाई ३५ हजार तथा सम्मानपत्र प्रदान गरियो। लोकप्रिय गायिका शान्ति ठटाल तथा शिवशंकर थापालाई पनि जनही ५० हजार राशिको विशेष सम्मान प्रदान गरिएको थियो।
पुरस्कार प्रधानमन्त्री केपी ओलीले प्रदान गरेका थिए। यस अवसरमा राष्ट्रियसभाका सदस्य कोमल ओली र गुठीका संरक्षक ज्योति राज्यलक्ष्मी शाह सिंहले छिन्नलताले गीत संगीत क्षेत्रमा गरेको योगदान बिर्सन नसकिने बताए। गुठीका अध्यक्ष प्रा डा वासुदेव त्रिपाठीले समारोहको सभापतित्व गरेका थिए।