सप्तरी घटनाको छुट्टै छानवीन गर्न प्रदेश सरकारले गठन गर्यो समिति
महेन्द्रनगर– प्रदेश नं २ सरकारले सप्तरीको मलेठ घटनाको छानवीन गर्न आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवको संयोजकत्वमा तीन सदस्यीय मन्त्रिस्तरीय समिति गठन गरेको छ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले छुट्टै गठन गरेको छानवीन समितिको सदस्यमा सामाजिक विकासमन्त्री नवलकिशोर साह र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्र साह तथा सदस्य सचिवमा उपन्यायाधिवक्ता कृष्णप्रसाद बराललाई समावेश गरेको छ। समितिलाई १५ दिनभित्र
मलेठ घटनाको निष्पक्ष छानवीन गरी मन्त्रिपरिषद्मा प्रतिवेदन बुझाउन समय दिइएको छ।
मलेठ घटनामा सुरक्षाकर्मीको गोली प्रहारबाट २०७३ फागुन २३ मा पाँच आन्दोलनकारीको मृत्यु भएको थियो भने थुप्रै व्यक्ति घाइते भएका थिए।
राष्ट्रिय मानवअधिकार आयोगले मलेठ घटनाको छानवीन गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीश ताहिर अली अन्सारीको संयोजकत्वमा उच्चस्तरीय छानवीन आयोग गठन गरेको थियो। आयोगले २०७४ जेठ २९ मा राष्ट्रिय मानवअधिकार आयोगलाई आफ्नो प्रतिवेदन बुझाएको थियो।
मानवअधिकार आयोगले सार्वजनिक गरेको मलेठ घटनाको प्रतिवेदन खारेजीको माग गर्दै जनकपुरमा विरोध हुँदै आएको छ।
रासस