श्रीदेवीकी छोरी जाह्नवी नयाँ रेकर्ड राख्दै
मुम्बई (एजेन्सी)– चर्चित अभिनेत्री श्रीदेवीकी ठूली छोरी जाह्नवी कपुरले अभिनय गरेको पहिलो फिल्म ‘धड्क’ ले बलिउडमा राम्रो व्यापार गरेको छ। नयाँ अभिनेत्रीको रुपमा ‘डेव्यु’ फिल्ममा राम्रो कमाइ गर्ने कलाकारको रुपमा जाह्नवी स्थापित भएकी छिन्।
उनको फिल्मले पहिलो दिन नै ८ करोड ७१ लाख रुपैयाँ व्यापार गरेको थियो, जुन फिल्म समीक्षकका लागि चकित पार्ने नतिजा हो। उनको फिल्मले दोस्रो दिन पनि राम्रो व्यापार गरेको भारतीय सञ्चार माध्यमले बताएका छन्। फिल्मको व्यापार २६ दशमलव ७५ प्रतिशतले बढेको छ।
व्यापार विश्लेषक तरण आदर्शका अनुसार शनिवार ‘धड्क’ को कमाइ ११ करोड ४ लाख देखिएको थियो।
फिल्मले भारतको मुख्य शहर तथा आन्ध्र प्रदेशमा राम्रो व्यापार गरेको छ। दुई दिनभित्र फिल्मको व्यापार १९ करोड ७५ लाख पुगेको छ। फिल्मले पहिलो साता ३० करोड बराबर व्यापार गर्न सक्ने तरणले बताएका छन्।
शशांक खेतानको निर्देशनमा बनेको ‘धड्क’ २० जुलाईमा रिलिज भएको थियो। करण जोहरको धर्मा प्रोडक्सन र जी स्टुडियोले मिलेर यसलाई बनाएका हुन्। फिल्ममा जाह्नवी कपुरको कामको तारिफ भएको छ। जाह्नवीलाई यो फिल्म गर्न बलिउडकी चर्चित नायिका श्रीदेवीले निकै सहयोग गरेकी थिइन। तर, दूर्भाग्य श्रीदेवीले आफ्नो छोरीको पहिलो फिल्म हेर्ने अवसर पाइनन्। फिल्म रिलिज पूर्व नै श्रीदेवीको दुबईमा निधन भएको थियो।
‘धड्क’ मराठी फिल्म ‘सैराट’ को रिमिक हो। ‘सैराट’ ले राष्ट्रिय पुरस्कार जितेको थियो।