‘सिंघम’ रिलिजको ७ वर्ष पुरा, साढे ४ महिनामा तयार भएको खुलासा
नयाँ दिल्ली (एजेन्सी)– रिलायन्स इन्टरटेनमेन्टले निमार्ण गरेको फिल्म ‘सिंघम’ ले आइतबार रिलिजको सातौं वर्षगाढ मनाएको छ। निर्देशक रोहित शेट्टीले यस अवसरमा फिल्मका मुख्य कलाकार अजय देवगनको चरित्र बाजीराव सिंघमको अभिनयलाई जीवन्त बनाउन दर्शकहरूले गरेको मायाका लागि विशेष धन्यवाद भनेका छन्।
सिंघम २०११ मा सार्वजनिक भएको थियो। उनले यस अवसरमा फिल्म साढे चार महिनामा तयार भएको गोप्यता पनि सार्वजनिक गरेका छन्।
शेट्टीले भने, ‘सुटिङ भएको दिनदेखि समाप्त हुन साढे ४ महिना लागेको थियो। यसले बक्स अफिसमा एकदमै राम्रो कमाइ मात्र गरेन, दर्शकले निकै रुचाए र सम्मान पनि दिए।’
सिंघममा देवगनले इमान्दार र बहादुर पुलिस अफिसरको भूमिका निर्वाह गरेका थिए, जसलाई अन्यायविरूद्ध लडेको देखाइएको थियो।फिल्मले २ सय करोडभन्दा बढी कमाइ गरेको थियो।