भारतीय टोलीको सुझाव– नेपालको चलचित्र नगरी बनाउन गोरखाको पालुङटार र धादिङका सल्यानटार उत्तम
काठमाडौँ– चलचित्र नगरी निर्माणका लागि भारतको एक टोलीले गोरखाको पालुङटार र धादिङको सल्यानटारको स्थलगत अध्ययन गरेको छ।
भारत एक्सेल ग्रुपका प्रमुख तथा जी इन्टरटेन्मेन्ट इन्टरप्राइजेज लिमिटेडका अध्यक्ष सुवास चन्द्रा, भारतीय राजनीतिक व्यक्तित्व अमर सिंह तथा वरिष्ठ सिने कलाकार जया प्रदासहितको टोलीले स्थलगत अध्ययनपछि काठमाडौँ फर्केर प्रधानमन्त्री केपी शर्मा ओलीसँग शनिबार भेट गरेको छ।
यसअघिका सरकारले चलचित्र नगरी निर्माणका लागि दोलखाको लाँकुरीडाँडामा अध्ययन गरेको थियो। अमेरिकामा हलिउड र भारतको मुम्बई चलचित्र नगरीका रुपमा चिनिन्छन्।
भारतीय टोलीलाई भेटका क्रममा प्रधानमन्त्री ओलीले धन्यवाद दिए। नेपाली कलाकारसमेतको उपस्थितिमा भएको भेटमा प्रधानमन्त्री ओलीले भारतीय कलाकार जया प्रदाले नेपाल–भारत सम्बन्धका लागि सांस्कृतिक राजदूतको भूमिका निर्वाह गर्दै आएको बताइन।
जी इन्टरटेन्मेन्ट इन्टरप्राइजेज लिका अध्यक्ष चन्द्राले पालुङटारका नदीदेखि पहाडसम्मको सुन्दर परिवेशले आफूलाई आकर्षित गरेको बताए।
भारतीय राजनीतिकर्मी तथा राज्यसभा सदस्य सिंहले प्रधानमन्त्री ओलीको समृद्ध नेपाल सुखी नेपाली नारा सफल पार्न आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। सो अवसरमा नेपालका वरिष्ठ कलाकार नीर शाहले नेपाली चलचित्र उद्योगको समग्र अवस्थाबारे अवगत गराएका थिए।