ऋतिक र कंगनाको भिड्न्त अब फिल्ममा पनि
नयाँ दिल्ली (एजेन्सी)– व्यक्तिगत जीवनलाई लिएर वाक–युद्धमा अल्झेका बलिउड स्टार कलाकार ऋतिक रोशन र कंगना रनौतबीच फेरि एकपल्ट भिड्न्त हुने भएको छ। तर, यतिबेला उनीहरू वाक–युद्धमा नभइ आगामी वर्ष रिलिज हुन लागेको फिल्ममार्फत भिड्न लागेका हुन्।
आगामी वर्ष कंगनाको फिल्म ‘मणिकर्णिकाः द क्वीन अफ झासी’ र ऋतिकको फिल्म ‘सुपर ३०’ रिलिज हुँदैछ। यी दुवै फिल्म २५ जनवरीमा रिलिज हुने लगभग पक्का छ। ‘मणिकर्णिका’ यसै वर्षको अप्रिलमा रिलिजको तयारीमा थियो। यसलाई बढाएर १५ अगस्टमा गर्ने भनियो। यो पनि सम्भव नभएपछि सेप्टेम्बरमा रिलिजको तयारी गरियो। तर, जी स्टुडियो र फिल्म निर्माता कमल जैनले ट्वीटमार्फत गणतन्त्र दिवसको अवसर पारेर फिल्म रिलिज गर्ने घोषणा गरे।
‘मणिकर्णिका’ मा कंगना रानी लक्ष्मीबाईको भूमिकामा छिन्। यस्तै, ऋतिकको फिल्म ‘सुपर ३०’ पटनामा बसोबास गर्ने गणितज्ञ आनन्द कुमारको जीवनीमा आधारित छ, जसले प्रत्येक वर्ष आइआइटी अध्यनका लागि ३० विद्यार्थीलाई तयारी गराउने गर्छन।
कंगनाले २०१६ मा एउटा साक्षात्कार कार्यक्रममा ऋतिकतर्फ संकेत गर्दै मुर्ख पूर्व प्रेमी भनेपछि दुवैबीच वाक–युद्ध सुरु भएको थियो। दुवैले एक–अर्कालाई कानुनी नोटिस पनि पठाएका थिए।