आमिरको ‘पीके’ लाई कडा टक्कर दिँदै ‘सञ्जु’
मुम्बई (एजेन्सी)– बलिउडमा ‘बाबा’ उपनाम पाएका सञ्जय दत्तको जीवनीमा आधारित ‘सञ्जु’ ले बक्स अफिसमा धमाका गरिरहेको छ। रणवीर कपुर अभिनित फिल्मले तेस्रो साता पनि आफ्नो कमाइ खस्किन नदिएपछि यो फिल्म बक्स अफिसमा सर्वाधिक कमाउने सूचीमा पाँचौ नम्बरमा पुगेको छ।
सञ्जुले अहिलेसम्म ३ सय २६ करोडभन्दा बढी कमाइ गरिसकेको छ। तेस्रो साता पनि यसको कूल कमाइ ३१ दशमलव ६२ करोड रह्यो। सञ्जुको सफलता चौथो साता पनि यस्तै रहे आमिर खानको ‘पीके’ लाई उछिन्ने पक्का छ।
अहिलेसम्म हिन्दी सिनेमामा सर्वाधिक कमाइ गर्ने चलचित्रमा ‘बाहुबली–२’ कूल ५ सय १० करोड ३६ लाख सहित शीर्ष स्थानमा छ। यसपछि आमिर खानको ‘दंगल’ ३ सय ७४ करोड ५३ लाख सहित दोस्रो, सलमान खानको ‘टाइगर जिन्दा हे’ ३ सय ३९ करोड सहित तेस्रो र आमिर खानकै ‘पीके’ ३ सय ३७ करोड ७२ लाख सहित चौथो स्थानमा छ।
‘सञ्जु’ ले पहिलो दिन नै ३४ दशमलव ७५ करोड आम्दानी गरेको थियो। सन् २०१८ मा रिलिज भएको फिल्ममा ‘सञ्जु’ पहिलो दिन सर्वाधिक रकम कमाउने फिल्म बनेको थियो। ‘सञ्जु’ ले पहिलो साता नै २ सय करोडभन्दा बढी कलेक्सन गरेको थियो। दोस्रो साता यसको कमाइ ८९ दशमलव ७५ करोड रहयो।