नाम्जेमा ‘देशै रमाइलो’
कमल रिमाल
पहिले यहाँका मगर युवा तिहारताका घर–घर पुगेर हुर्रा नाच्थे, दक्षिणास्वरुप उठेको रकम गाउँकै विकासमा लगाउँथे, अहिले होमस्टेमा आउने पाहुनाको स्वागतमा नाच्छन् ।
“नाम्जे गाउँमा हौ पाहुना आउँदा,
घाम लाग्यो घमाइलो देशै रमाइलो... !”
धनकुटा साँगुरीगढी गाउँपालिका–६ नाम्जे र थुम्की गाउँमा प्रायः हरेक बेलुका गाइने गीत हो, यो । मगर जातिको यो ‘हुर्रा’ गीत र नृत्य यहाँ पाहुनाको स्वागतमा नाच्दै गाइन्छ ।
स्थानीय देवीकुमारी मगर पाहुना नियमित हुने भएकाले हरेक साँझ हुर्रा नाच्ने बताउँछिन् । भन्छिन्, “गीतले भनेजस्तै पाहुना आउँदा रमाइलो हुन्छ ।”
मोरङ कटहरी गाउँपालिका–२ का वडाध्यक्ष किशोरकुमार पाण्डे भन्छन्, “नाम्जेको चिसो मौसममा न्यानो आतिथ्य अनि हुर्राको मज्जा लिन महीनामा एकपटक पुग्ने गरेको छु ।”
होमस्टेमा बस्न आउनेको माग अनुसार प्रदर्शन गरिने हुर्राका लागि पाहुनाले रु.२ हजार तिर्नुपर्ने हुन्छ । तर, पाहुनाले खुशी भएर रु.२५ हजारसम्म दिएका छन् । काठमाडौं, पेप्सीकोला निवासी ममता अधिकारीले आफ्नी आमा मगरकी छोरी र आफू मगरकी भान्जी भए पनि मगर जातिको हुर्रा नाच नाम्जेमै आएर देखेको बताइन् । “हुर्रा नाच्दा कस्तो मज्जा, मावलीगाउँ बारामा गएर हुर्रा सिक्न भन्छु”, उनले भनिन् ।
पञ्चकन्या आमा समूहले सञ्चालन गर्ने हुर्रामा पुरुषले पनि साथ दिन्छन् । यो नाचमा पुरुषले खाँडीबाट बनेको ‘गादो’ (दुवै काँधबाट पछाडि तेर्सो पारेर बाँध्ने पहिरन) लगाउँछन् भने महिलाले गुन्यूँ–चोली र मखमलीको गादो लगाउँछन् ।
आमा समूहकी कोषाध्यक्ष दिलमाया मगर भन्छिन्, “हुर्रामा सहभागी नहुने सदस्यलाई रु.१०० जरिवाना गरिने भएकाले सबैको उपस्थिति हुन्छ ।” यसरी हुर्राबाट संकलित रकमबाट आमा समूहले खरीद गरेको जमीनमा सामुदायिक भवन बन्दैछ । दिलमायाका अनुसार, हुर्राबाट संकलित रु.३ लाख २० हजार जमीन खरीद र भवन निर्माणमा खर्च भइसकेको छ भने ब्यांक खातामा रु.३ लाख जम्मा छ ।
मारुनी छाडेर हुर्रा
नाम्जेमा ५० वर्ष अघिसम्म मारुनी नाचिन्थ्यो । यहाँका मगर समुदायले आफ्नो जातीय नृत्य हुर्रा जानेकै थिएनन् । स्थानीय जगतबहादुर मगर (६८) आफू तन्नेरी हुँदा साथी वीरबहादुरसहित धनकुटाकै मुढेबास पुगेर हुर्रा सिकेको बताउँछन् ।
“दुई भाइले सिकेर आएपछि गाउँका तन्नेरी, तरुनीलाई सिकायौं” जगत भन्छन्, “गाउँमा हुर्रा सबैले रुचाए, बाउले पनि कालेले पारा ल्यायो भने ।”
अहिले नाम्जेमा हुर्रा स्थापित भयो, मारुनी हरायो । युवायुवती एकले अर्काको हात समाएर एकै स्वरमा गाउँदै खुट्टाको चाल मिलाएर नाच्ने भएकाले गाउँमा हुर्राप्रति सबै आकर्षित हुन थाले ।
स्थानीय कर्णमाया मगर (८०) भन्छिन्, “हुर्रा सिक्नेबित्तिकै निकै रमाइलो गरियो, अहिले तन्नेरीहरू नाच्छन्, हामी हेरेर रमाउँछौं ।”
जगतबहादुरका अनुसार, २०२८ सालमा हुर्रा नाच्दै २५ जना जति युवायुवती धरानतर्फ झ्रे । हुर्रा नाचेर चार दिनमा दानस्वरूप रु.८०० उठेको थियो । “राँको बालेर हिंडेका हामी त्यही पैसाले पेट्रोमेक्स किनेर नाच्दै फर्कियौं” जगतबहादुर भन्छन्, “अरू पैसाले समाजका लागि भाँडा–बटुका किन्यौं ।”
पहिले यहाँका मगर युवा तिहारको औंसीदेखि पूर्णिमासम्म गाउँका घर–घरमा पुगेर नाच्थे, दक्षिणाबाट उठेको रकम समाजका लागि प्रयोग गर्थे, अहिले उनीहरू होमस्टेमा बस्न आउने स्वदेशी–विदेशी पाहुनाको स्वागतमा हुर्रा प्रदर्शन गर्छन् । “नाम्जे आउँदा–आउँदा हुर्रा नाच्न सिकिसकें”, विराटनगर हाटखोलाका सञ्जय मण्डलले भने, “कामको तनाव बिर्सिन नाम्जे होमस्टेमा बस्न पुगिहाल्छु ।”
विश्वको आठौं गन्तव्य !
समुद्री सतहबाट १५८५ मिटर उँचाइमा रहेको नाम्जे र थुम्की गाउँ हिजोआज पाहुनाले भरिभराउ हुन्छ । अमेरिकी समाचार एजेन्सी सीएनएन ले विश्वका १२ सर्वश्रेष्ठ अनौठा स्थलमध्ये आठौंमा राखेर २०६८ मा समाचार प्रसार गरेपछि छिमेकी जिल्लामा समेत नचिनिएको नाम्जे विश्वचर्चित भयो ।
“नाम्जेको नाम निकै चल्यो । २०७० मा हामी पार्टीका कार्यकर्ता ६० जना पुग्यौं, सबैले बास पायौं”, नेपाल विद्यार्थी संघ, मोरङका पूर्वअध्यक्ष रविन बानियाँ भन्छन्, “धेरै जना गएकाले कसैको घरमा भात पाक्यो, कसैले दाल र कसैले तरकारी पकाए, धेरैबेर कुर्नै परेन ।”
स्थानीय गुन्जमान मगरका अनुसार, २०५८ सालमा अमेरिकी नागरिक राजीवकुमार गोयल स्वयंसेवक बनेर आएपछि नाम्जे चम्कन थालेको हो । दुई वर्ष स्थानीय विद्यालयमा पढाएर गएका गोयल त्यसपछि पनि आउने–जाने गरिरहे । “१७औं पटक आउँदा गोयलले २०६८ मा विभिन्न देशका २४ जनालाई लिएर आए” गुञ्जमान भन्छन्, “ती मानिसले ११३ वटा चिहानको उत्खनन् गरेर आत्मघर (चिहानको संग्रहालयजस्तो) बनाए, हामीले सघायौं ।”
सो समूहमा दुई विदेशी पत्रकार पनि थिए । उनीहरू मगरका पुराना घर देवताका थान, धामी नाच हेर्थे र टिपोट गर्थे । त्यसको दुई महीनापछि नै नाम्जे विश्वका १२ अनौठा स्थलमध्ये आठौंमा परेको समाचार विभिन्न पत्रपत्रिकामा आयो ।
“समाचारले गर्दा पर्यटक आउन थाले, होमस्टे थिएन, तर आउनेलाई बास दिन्थ्यौं” गुन्जमान भन्छन्, “त्यसपछि पर्यटन कार्यालय काँकरभिट्टामा २०७० मा होमस्टे दर्ता गरायौं ।” अहिले नाम्जेमा १३ र थुम्की गाउँमा ९ गरी २२ घरमा होमस्टे सञ्चालित छ । नाम्जे–थुम्की सामुदायिक होमस्टे समितिका सचिव तथा स्थानीय विद्यालयका शिक्षक तुफानकुमार मगरका अनुसार, होमस्टे जाडो र वर्षायाममा पनि खाली रहँदैन ।
होसस्टेमा बसेपछि घरमा पाकेको खानेकुरा पाहुनाले खानुपर्ने र मागेर खान नपाइने नियम छ । थोरै खर्चमै स्वागत, सम्मानसहित खान–बस्न पाइने भएकाले नजिकैका होटलमा भन्दा यहाँको होमस्टेमा पाहुना बढेका छन् ।
भेडेटारबाट साढे तीन किलोमिटर पूर्वमा रहेको नाम्जेमा मगर समुदायले सामुदायिक भवन समेत निर्माण गर्दैछन् । हुर्रा नाचका लागि ठूलो हलसहितको दुईतले भवन निर्माण हुँदैछ । यहाँ ४०० परिवार मगर जातिको बसोबास छ ।
होमस्टे समितिका अध्यक्ष अनिल मगरका अनुसार, विभिन्न सरकारी निकायले दिएको रु.२७ लाख र स्थानीयले संकलन गरेको रु.१० लाख भवनमा खर्च भइसकेको छ । अनिल भन्छन्, “अब रु.५० लाख भए जनजातिको मिनी म्युजियम सहितको सामुदायिक भवन तयार हुन्छ ।”