पेरिस ज्याक्सनको शरीरको ट्याटु फेरि गायब
न्युयोर्क (एजेन्सी)– हलिउड नायिका पेरिस ज्याक्सन आफ्नो शरीरमा खोपेको अनगिन्ति ट्याटुका कारण चर्चित छिन्। उनी सार्वजनिक स्थलमा पनि आफ्नो ट्याटु प्रदर्शन गर्न हिचकिचाउँदिनन्।
तर, केही दिन अगाडि नयाँ ‘फोटो सुट’ का क्रममा उनको शरीरमा भएको ट्याटु एकाएक गायब भएपछि उनको प्रसंसक अहिले चकित परेका छन्। ज्याक्सनले आफ्नो शरीरमा ५० भन्दा बढी ट्याटु खोपेकी थिइन्। तर, उनको नयाँ ‘फोटो सुट’ मा ट्याटु नदेखिएको बेलायतबाट प्रकासित ‘मेट्रो’ ले जनाएको छ।
‘फोटो सुट’ का क्रममा रातो लुगा पहिरिएकी ज्याक्सनको फोटो पापराजीले खिच्न भ्याएका थिए। ज्याक्सनले आफ्नो हातको पाखुरा र छातीमा हिन्दु सभ्यताको सात चक्र, ठूलो सूर्यमुखी फूल र दिवंगत बुबाको सम्झनामा ट्याटु खोपेकी थिइन। तर, फोटो खिच्ने क्रममा कुनै ट्याटु नदेखिएको बताइएको छ।
ज्याक्सन यसअघि आफूले शरीरमा खोपेको ट्याटुको समर्थनमा बोल्दै आइरहेकी थिइन र उनी शरीरमा खोपेको ट्याटुप्रति आफ्नो प्रेम रहेको बताउँथिन।
ज्याकसनले आफ्नो शरीरबाट ट्याटु हटाएको यो नै पहिलो घटना होइन। यसअघि काल्भिन क्लेनको ‘फोटो सुट’ का क्रममा पनि ट्याटु हटाएकी थिइन। त्यतिबेला उनका समर्थक भड्किएका थिए। ट्याटु खोप्नु भन्दा त्यसलाई हटाउन सबैभन्दा गाह्रो मानिन्छ। पेरिस चर्चित गायक माइकल ज्याक्सनकी छोरी हुन्।