‘लिखे जो खत तुझे’ गीतका लेखक गोपालदास रहेनन्
नयाँ दिल्ली (एजेन्सी)– बलिउडका चर्चित गीतकार गोपालदास निरजको ९३ वर्षको उमेरमा निधन भएको छ। उनको निधन दिल्लीस्थित एम्स अस्पतालमा विहिबार साँझ ७ बजेर ३५ मिनेटमा भएको थियो।
उनका छोरा शशांक प्रभाकरले आगरामा प्रारम्भिक उपचारपछि उनलाई बुधबार दिल्लीस्थित एम्स अस्पताल पुर्याइएको जानकारी दिए।
उनको पार्थिव शरीरलाई पहिले आगरा त्यसपछि अलीगढ लगेर अन्तिम संस्कार गरिने बताइएको छ।
उनको पुरा नाम गोपालदास सक्सेना हो। उनी भारतका चर्चित साहित्यकार मात्र नभई बलिउडमा गीत लेखनीका कारण पनि परिचित छन्। भारत सरकारले उनलाई साहित्य क्षेत्रबाट पद्म श्री र पद्म भूषणबाट सम्मानित गरिसकेको छ। उनले तीन पल्ट फिल्म फेयर अवार्ड पनि जितेका थिए।
उनले हिन्दी फिल्मका लागि लेखेको ‘लिखे जो खत तुझे’ निकै चर्चित छ। यस्तै, ‘आज मदहोस हुँआ जाए’, ‘ए भाई जरा देखके चलो’, ‘दिल आज शायर हे, गम आज नगमा हे’, ‘शोखियो मे घोला जाये, फुलो का शबाब’ जस्ता अमर गीत लेखेका थिए।
निरजको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गहिरो शोक व्यक्त गरेका छन्।