नेपथ्यको ‘गाउँ गाउँबाट उठ’ सार्वजनिक
नेपाली राजनीति आन्दोलन र सामाजिक जागरणका अभियानताको ढुकढुकी बनेको ‘गाउँ गाउँबाट उठ’ गीत अब नेपथ्य ब्याण्डको म्यूजिक भिडियोमा तयार भएको छ।
श्याम तमोटले लेखेको ‘संकल्प गीत’ का रुपमा लोकप्रिय यस सिर्जनालाई नेपथ्य ब्याण्डले एक दशक अघिदेखि आफ्नो हरेक कन्सर्टमा सुनाउँदै आइरहेको थियो।
बाम विचारधाराबाट प्रभावित भर्इ कुनै समय रामेश र मन्जुलले सुरु गरेको देशव्यापी सांगीतिक जागरणको महत्वपूर्ण सिर्जनाका रुपमा उभिएको यो गीतलाई धेरैले विभिन्न भाषामा अनुवाद गर्दै गाउने गरेका छन्।
३० वर्षे पञ्चायतकालमा यो गीतले सांकेतिक रुप जनताको हक अधिकारको आवाज उठाएको थियो। रेडियो नेपालले यस गीतलाई प्रतिवन्ध पनि लगाएको थियो।
पहिलो जनआन्दोलन लगत्तै बनेको फिल्म ‘बलिदान’मा समावेश गर्नको निम्ति यसको व्यवस्थित रेकर्ड भएको थियो।
पछिल्लो समय भने यस गीतलाई नेपथ्यले रेकर्ड गरेको छ र ब्याण्डले आइट्युन, गुगलप्ले र स्पोटिफाइजस्ता ‘भर्चुअल स्टोर’ का माध्यमबाट यो गीत सार्वजनिक गरेको छ। हालसम्म नाम नजुरेको नेपथ्यको दसौं एल्बममा यो गीत समेटिएर आउने तयारीमा छ।