कृषकका लागि असहज कमोडिटी बजार
नेपाली कृषिजन्य उत्पादनको कारोबार गराउन कानून बनाइए पनि नयाँ खुल्ने कमोडिटी एक्सचेञ्जमा कृषि उत्पादनको सहज कारोबार नहुने अवस्था छ।
लामो विवाद, बहस र प्रतीक्षापछि सञ्चालनमा आउन लागेको वस्तु विनिमय बजार (कमोडिटी एक्सचेन्ज मार्केट) ले अपेक्षा गरिएजस्तो नेपालका कृषि उत्पादनहरूको कारोबार गर्ने प्लेटफर्म उपलब्ध गराउन अझै लामो समय कुर्नुपर्ने भएको छ ।
नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) का कार्यकारी निर्देशक निरज गिरी हाललाई कृषिजन्य उत्पादनको कारोबार सम्भव नहुने बताउँछन् ।
भण्डारण गर्ने गोदाम घर (वेरहाउस) र गुणस्तर प्रमाणीकरण गर्ने ग्रेडरको व्यवस्था नभएकाले तत्काललाई कमोडिटी बजारमा कृषि उपज किनबेच गर्न नसकिने उनले बताए ।
वस्तु विनिमय बजार सम्बन्धी ऐन– २०७४ ले कमोडिटी एक्सचेञ्जमा आलु, गहुँ, मकै, धान, फापरको कारोबार गर्न सकिने व्यवस्था छ । कानून अनुसार फलफूल र जुसको पनि कारोबार हुन सक्छ ।
यी वस्तुको गुणस्तर छुट्याउने, प्रमाणीकरण गर्ने, सुरक्षित भण्डारण गर्ने र त्यसको निस्सा जारी गर्ने संरचना तत्काल बनाउन नसकिने सेबोनको भनाइ छ ।
“कृषि वस्तुहरूको व्यापारलाई दीर्घकालीन लक्ष्यसहित प्रवर्द्धन गर्ने हो” कार्यकारी निर्देशक गिरी भन्छन्, “अहिलेलाई सुन, चाँदी, कच्चा तेल र आल्मुनियम जस्ता धातुको कारोबार हुन्छ ।”
नेपालमा करीब एक दशकअघि कमोडिटी बजार शुरू भएको हो । नियमन नहुँदा गलत तरिकाले कारोबार भएर लगानीकर्ताहरूले ठूलो धनराशि गुमाएपछि सरकारले ऐन ल्याएको हो ।
कमोडिटिज र डेरिभेटिभ बजारको नियमन गर्न ऐन बनेपछि कमोडिटी एक्सचेञ्जहरू सञ्चालनमा ल्याउने प्रक्रिया शुरू भएको छ । हाल पाँच वटा कम्पनीले सेबोनमा एक्सचेञ्ज सञ्चालनका लागि आवेदन दिएका छन् ।
तर सेबोनका अधिकारीहरू यति धेरै एक्सचेञ्ज नेपाली बजारमा आवश्यक नरहेको बताउँछन् । शेयरको दोस्रो बजार कारोबार शुरू भएको २५ वर्षसम्म पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) एक मात्र एक्सचेञ्ज कम्पनीको रूपमा छ ।
वस्तुबजारका लागि पनि एक वा दुई वटा एक्सचेञ्जलाई मात्र लाइसेन्स दिनु उचित हुने विज्ञ बताउँछन् । सेबोनका कार्यकारी निर्देशक गिरीले सम्भावित बजार, जोखिम र नियमनको सामथ्र्य समेतलाई ध्यानमा राखेर कति एक्सचेञ्जलाई इजाजत दिने भन्ने अध्ययन भइरहेको बताए ।
कमोडिटी बजार पनि शेयर बजार जस्तै निस्साको कारोबार गर्ने वित्तीय बजार हो । कुनै कम्पनी वा परियोजनामा पूँजी लगानी गरेको निस्साको कारोबार शेयर बजारमा हुन्छ भने कुनै वस्तुको स्वामित्व जनाउने निस्साको कारोबार कमोडिटी बजारमा हुन्छ ।
विकसित मुलुकमा शेयर बजारको सूचकांक निश्चित समयपछि घट्छ वा बढ्छ भन्ने भविष्यवाणीलाई पनि डेरिभेटिभ्स बजारमा कारोबार गर्न पाइन्छ । यस्ता थुपै्र फाइनान्सियल डेरिभेटिभ्सको कारोबार गर्नेबारे पनि सेबोनले यो वर्षदेखि अध्ययन थाल्ने बताएको छ ।
हाललाई भने सीमित वस्तुको कारोबारबाट बजार सञ्चालन गराउने गरी कानूनी व्यवस्था भएको छ । विद्यमान कानूनले धान, गहुँलाई कारोबार गर्न खुला गरे पनि कोदोको कारोबार गर्न दिंदैन ।
प्याज, लसुन, गोलभेंडा मात्र होइन, चाना, सिन्की, गुन्द्रुक, सुकुटी जस्ता टिकाउ हुने तरकारी समेत कारोबारका लागि प्रतिबन्धित नै छ । लप्सी, अदुवा लगायत चकलेट, हातेकागज र हस्तकलाका सामग्री, मूर्तिकला वा यस्तै सिर्जनात्मक वस्तुको कारोबार गर्न बाटो खोलिएको छैन ।
त्यस्तै, आल्मुनियम जस्ता धातुहरूको कारोबार गर्न पाइने भए पनि स्वदेशमै उत्पादन हुने महँगा काठको कारोबार गर्न कानूनले बाटो खोलेको छैन ।
जडीबुटी, जिरा, खुर्सानीको कारोबार खुला गरिएको छ । तर, जिरामा मिसाउने धनियाँको कारोबार गर्न पाइन्न । यस्ता वस्तुहरूलाई कमोडिटी बजारमा कारोबार गर्न आवश्यक अनुसार नियमावली संशोधन गरेर बाटो खोल्न सकिने गिरी बताउँछन् ।
उनी भन्छन्, “कृषि वस्तुहरूको कारोबार हुन अझै लामो समय लाग्ने भएकाले कुन–कुन वस्तुको कारोबार गर्ने भन्ने सूचीको हेरफेर गर्न हामीसँग प्रशस्त समय छ ।” अहिले नै अण्डाको कारोबार शुरू भइसकेकाले त्यसलाई भने निरन्तरता दिन सकिने उनले बताए ।