‘म्याद तामेलीमा अवरोध पुर्याउनेलाई एक वर्ष कैद सजाय’
ओमप्रकाश अर्याल, अधिवक्ता
सर्वोच्च अदालतबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीको घरमा म्याद सूचना टाँस्न गएका टोलीलाई एउटा समूहले अवरोध पुर्याए । अख्तियार प्रमुखमा नियुक्तिको विषयमा सर्वोच्च अदालतले कार्कीलाई सुनुवाईको मौका दिनका लागि म्याद तामेली गर्न लागेको हो ।
म्याद तामेली कार्यविधि अनुसार मुद्दाको पक्षलाई सूचना दिने, पक्ष नभेटिए परिवारको सदस्यलाई, परिवारको सदस्य पनि नभेटिएको अवस्थामा घरदैलो र स्थानीय निकायको सूचना पार्टीमा टाँस्ने गरिन्छ ।
यस्तै गरी, पक्षको वकिल वा वारेसलाई सूचना दिन सकिने, घरद्वार पत्ता नलागेमा टोलमा सबैले देख्ने ठाउँमा टाँस्ने, टोल पत्ता नलागे अड्डाको नजिकै सबैले देख्ने गरी टाँस्ने, फ्याक्स इमेल आदि विद्युतीय माध्यमबाट पठाउने अथवा राष्ट्रिय दैनिक पत्रिका वा रेडियो वा टिभीबाट प्रसारण गर्न सकिन्छ ।
अवरोध पुर्याउनेलाई सजाय
अदालतबाट खटिएका तामेलदार टोलीलाई अवरोध पु¥याउनेलाई अदालतको अवहेलना अन्तर्गत कारवाही हुन्छ । अदालतको अवहेलना गर्नेलाई एक वर्षसम्म कैद सजायको व्यवस्था छ । यति मात्रै होइन म्याद सूचना टाँस्न नदिने प्रतिकार समूह वा भिजिलान्तेहरूलाई सार्वजनिक अपराध तथा सजाय ऐन अन्तर्गत पनि कारवाही हुने प्रावधान छ ।
म्याद टाँस्न गएको तामेलदारले तामेल नगरेमा १५ दिन कैद सजाय वा एक हजार रुपियाँसम्म जरिवाना वा दुबै सजाय हुन सक्दछ ।
यस्तै म्याद तामेलीमा असहयोग गर्ने कर्मचारीलाई विभागीय कारवाही र रु. एक सय जरिवाना हुनसक्छ । जस्तो लोकमानसिंह कार्कीको घरमा म्याद तामेली गर्दा पटक पटक अनुपस्थित भएर असहयोग गरेकी वडा सचिव सरिता राईको हकमा यो कारवाही हुन सक्दछ । म्याद तामेलीमा असहयोग गर्दा स्थानीय व्यक्ति पनि सजायको भागीदार बन्न सक्छन् ।