तरकारी बेचेरै करोड भित्र्याउँछ लक्ष्मीपुर
रोहितचन्द्र भट्टराई
साबिकको लक्ष्मीपुर गाविस हाल सूर्योदय नगरपालिका– १३ र १४ का १०० भन्दा बढी किसान परिवारले तरकारी खेतीबाट राम्रो कमाइ गरिरहेका छन् ।
चार वर्ष अघिसम्म कच्ची घरमै बस्दै आएका इलाम सूर्योदय नगरपालिका–१४ की हेमकुमारी सुवेदी (६१) को परिवार अहिले दुईतले पक्की घरमा बस्छ ।
तरकारी खेतीबाट सुवेदी परिवारको जीवनशैली फेरिएको हो । उनीहरूको ७ रोपनी जग्गामा यो सिजनमा इस्कुसको मुन्टा, काँक्रा र खुर्सानी उत्पादन भइरहेको छ । अहिले उनीहरू हप्तामा २०० देखि ३०० मुठासम्म इस्कुसको मुन्टा स्थानीय व्यापारीलाई बेच्छन् । काँक्रा पनि हप्तामा २० देखि ५० गोटासम्म टिप्ने गरेको हेमकुमारी बताउँछिन् । उनी भन्छिन्, “अकबरे खुर्सानी, सिमी, रायोको साग लगायत तरकारी पनि लगाएका छौं । तरकारी बेचेरै हप्तामा रु.५ हजारसम्म हात पर्छ ।”
सेनाको जागिर छाडेर तरकारी खेती गरिरहेका सूर्योदय नगरपालिका–१४ कै शिव राई पनि यतिबेला हप्तामा २०० मुठासम्म इस्कुसको मुन्टा बेच्छन् । पछिल्लो दुई वर्षदेखि इस्कुसको मुन्टा बेच्न थालेका राई प्राप्त मुनाफाबाट सन्तुष्ट छन् । उनी भन्छन्, “टुप्पा, फल र जरा बेच्न पाइन्छ । एक सिजनमा इस्कुसबाट मात्रै ७५ हजार जति कमाउँछु ।”
शिवले ६ रोपनी जग्गामा गरेको तरकारी खेतीकै आम्दानीबाट छोराछोरीलाई भारतमा पढाइरहेका छन् । छोराले इन्जिनियर र छोरीले नर्स पढ्दै गरेको उनले बताए । इस्कुसको मुन्टा बाहेक काउली, सिमी, खुर्सानीबाट पनि एक सिजनमा रु.१ लाखभन्दा बढी आम्दानी गर्ने उनको भनाइ छ ।
सूर्योदय नपा–१३ की टीका ढुंगेल (७३) पनि दुई रोपनी जग्गामा तरकारी खेती गर्छिन् । तरकारीबाटै अहिले हप्तामा रु.३ हजार कमाइ हुने टीका बताउँछिन् । छोराबुहारीसँग संयुक्त परिवारमा रहेकी टीका परिवारका अरू सदस्यसरह नै बारीमा काम गर्छिन् । उनी भन्छिन्, “म पनि आफूले सकेको काम गर्छु । नाफा लिन त इस्कुसलाई बिहानैदेखि हेरचाह गर्नुपर्छ ।” छोराले गाडी किनेर चलाउने गरेको र त्यही गाडीमा आफूले तरकारी बेच्न लैजाने गरेको उनले बताइन् ।
सूर्योदय नपा–१४ कै बिन्दु पौडेल पनि अहिले हप्तामा २०० देखि ३०० मुठासम्म इस्कुसको मुन्टा बेचिरहेको बताउँछिन् । दुई रोपनी बारीमा लगाएको इस्कुसले उनको घरखर्च धानेको छ । उनी भन्छिन्, “अहिले इस्कुसको मुन्टाबाटै हप्तामा चार हजार जति कमाइ हुन्छ ।”
चैतदेखि नै उत्पादन भए पनि जेठदेखि भदौसम्म चार महीना इस्कुसको मुन्टा बढी मात्रामा उत्पादन हुने बिन्दु बताउँछिन् ।
हेमकुमारी, शिव, टीका र बिन्दु प्रतिनिधि किसान हुन् । साबिकको लक्ष्मीपुर गाविस हाल सूर्योदय नगरपालिका–१३ र १४ का १०० भन्दा बढी किसान परिवारले तरकारी खेतीबाट राम्रो कमाइ गरिरहेका छन् ।
चैतदेखि उत्पादन हुन थाल्ने इस्कुसको मुन्टा कात्तिकसम्म पनि टिपेर बेच्न सकिने भएकाले यसबाट राम्रो आम्दानी भएको किसानको भनाइ छ ।
बजारको विस्तार
पछिल्लो चार–पाँच वर्षयता झापा, काठमाडौं रभारतको सिलिगुडीसम्म तरकारी निकासी हुन थालेपछि व्यावसायिक रूपमै यहाँका किसान तरकारी उत्पादनमा लागेका हुन् ।
यो सिजनमा लक्ष्मीपुरबाट इस्कुसको मुन्टा बोकेर दिनहुँ दुई–तीन वटा पिक अप गाडीहरू बाहिरिन्छन् । गोलभेंडा, इस्कुसको दाना समेत भरिने ती गाडीमा लगिएको मुन्टा सबैभन्दा बढी झापाको चारआलीमा बिक्री हुने गरेको छ । त्यसबाहेक बिर्तामोड, दमक, सूर्योदय नपाकै फिक्कल बजार, पशुपतिनगर बजार तथा मेची राजमार्गका विभिन्न स्थानमा बिक्री गरिन्छ ।
स्थानीय तरकारी व्यापारी राम पौडेलका अनुसार आफू र अन्य व्यापारीले संकलन गरेको इस्कुसको मुन्टा दिनमै ३००० देखि ३५०० मुठासम्म लक्ष्मीपुरबाट बाहिरिन्छ । लक्ष्मीपुरमा राम जस्ता व्यापारी १० जना जति छन् । हरेकले १०० देखि ५०० मुठासम्म मुन्टा दैनिक खरीद गर्ने बताउँछन् ।
स्थानीय व्यापारीले किसानलाई प्रति मुठा रु.१५ देखि रु.३० सम्म दिने गरेका छन् । मुन्टा निस्किने सिजनको शुरूआतमा एक मुठाको रु.३५ सम्म दिए पनि अहिले रु.१५ मा खरीद गरिरहेको रामले बताए ।
आफूले लक्ष्मीपुरबाट लैजाने मुन्टा मेची राजमार्गको कोल्बुङ क्षेत्रका फूटपाथ व्यापारीलाई बिक्री गर्ने उनले बताए ।
अन्य केही व्यापारीले पनि उनी जस्तै राजमार्गमै बिक्री गर्छन् । राजमार्गमा गुड्ने गाडीका यात्रुले धेरै तरकारी खरीद गर्ने भएकाले राजमार्ग किनारमा बग्रेल्ती तरकारी बेच्न राखिएको छ । अहिले त्यहाँ सबैभन्दा बढी इस्कुसको मुन्टा नै देख्न सकिन्छ ।
कतिपय व्यापारीले भने झापाका बजारमा तरकारी लैजान्छन् । भारतको नक्सलबाडी, पानीट्यांकी र सिलिगुडीसम्म पनि इस्कुसको मुन्टा पुग्ने गर्छ । चारआलीबाट साइकलमा साना व्यापारीले ती बजारमा मुन्टा लिएर जान्छन् । कहिलेकाहीं भारततिर तरकारी लैजान भारतीय भन्सारले रोक लगाएका बेला भने मुन्टा ती बजारमा पुग्दैन ।
हप्तामा तीन दिन झापाको चारआली र बिर्तामोडमा इस्कुसको मुन्टा पुर्याएर बिक्री गर्दै आएका स्थानीय व्यापारी गोविन्द पौडेल पनि दैनिक तीन हजार मुठा हाराहारीमा मुन्टा बाहिरिएको बताउँछन् । उनी भन्छन्, “भारततिर जान पाउँदा भाउ राम्रै हुन्छ, नत्र हुँदैन ।”
किसान शिव राईका अनुसार सिजनको शुरूशुरूमा प्रति मुठा रु.४० सम्ममा किसानले बेचेका हुन् । शिव भन्छन्, “हामीले भाउ राखेर नहुने, व्यापारीले भारततिर लैजान पाइएन, मुन्टा नै धेरै उत्पादन भयो भन्छन् । यहाँ अहिले एक मुठाको रु.१५ मात्र छ ।”
‘एक सिजनमा रु.१ करोड आम्दानी’
वर्षैभरि सिजन अनुसार तरकारी उत्पादन गर्ने यहाँका किसानले यतिबेला इस्कुसको मुन्टाबाट मनग्गे आम्दानी लिइरहेका छन् । लक्ष्मीपुरबाट एकै सिजनमा रु.१ करोड बराबरको इस्कुसको मुन्टा निकासी हुने सूर्योदय–१३ का वडाध्यक्ष धनबहादुर राई बताउँछन् ।
उनी भन्छन्, “ठ्याक्कै यति नै बिक्री हुन्छ भन्ने लगत त कसैले राखेको छैन, तर यसको कारोबार र ओसारपसार हेर्दा करोडको हाराहारीमा पुग्छ ।”
वडाध्यक्ष राईका अनुसार प्रत्येक दिन दुई–तीन वटा पिक अप गाडीमा मुन्टा बाहिर जान्छ । “स्थानीय आठ–दश जना व्यापारीले दिनमा तीन हजार मुठा भन्दा बढी बाहिर लैजान्छन्” राई भन्छन्, “उनीहरूले प्रति मुठा रु.३० देखि रु.३५ मा बेचे पनि एक सिजनमा करोड त भित्रिहाल्छ नि !”