अण्डरडगको ट्यागले गर्यो कमाल
ज्ञानेन्द्र आचार्य
ब्राजिलका दुई विगंर नेयमार र विलियानलाई पोष्टमा प्रहार गर्ने मौका नदिनका लागि बेल्जियमको डिफेन्स सक्दो खुम्चिएर खेलेको थियो ।
यसपटक सम्भावित विजेताको सूचीको पहिलो स्थानमा ब्राजिललाई राखिएको थियो । विश्व विजेताको दावेदावर टिम ब्राजिललाई हराएर सेमिफाइनलमा पुगेको ‘अण्डरडग’ बेल्जियमले विपक्षी खेलको सुक्ष्म अध्ययन गरेको र त्यस अनुरुपकै रणनीति बनाएको देखिन्छ ।
ब्राजिलसँगको खेलमा बेल्जियमका प्रशिक्षक रोबर्टो मार्टिनेजले शुरुआती एघारमै केभिन डी ब्रुयनेको स्थान परिवर्तन गरे । यसअघिका हरेक खेलमा उनलाई पछाडीका तीन सेन्टर ब्याकको ठीक अघि डिफेन्सिभ मिडफिल्डरको भुमिका दिइएको थियो ।
ब्राजिल विरुद्ध उनलाई राईट विगंर खेलाइयो । आक्रमक भुमिका नै सुहाउने डी ब्रुयनेले ब्राजिल विरुद्ध त्यही लय समाते जुन यस सिजन म्यानचेस्टर सिटीबाट खेल्दा देखाएका थिए ।
डी ब्रुयनले आक्रमक खेलाडीको भुमिका पाउँदा डिफेन्सिभ मिडफिल्डमा मारुआन फेलाइनी खेले र यो भुमिकाका लागि उनी अभ्यस्त पनि थिए ।
दुई वर्ष यता ब्राजिलले निकै सुन्दर फूटबल खेलिरहेको छ । टिटे प्रशिक्षक भएदेखि ब्राजिल सक्दो खँदिलो भएर प्रस्तुत हुँदै आएको छ । सेन्टर ब्याकहरु पनि अघि बढेर आक्रमणमा सघाउन पुग्छन् ।
यो मौकामा बल खोसेर उल्टै आक्रमणको जालो बुन्ने बेल्जियमको रणनीति सफल भएको छ । यसैका लागि अभ्यास मैदानमा गरेको मेहनत बेल्जियमको दोस्रो गोलमा देखिन्थ्यो ।
आफ्नै हाफमा बल खोस्दा दाँया वा बाँया दुबैतिर पास दिने मौका हुँदापनि बेल्जियमका स्ट्राइकर लुकाकुले सिधै बल अगाडि बढाएर विगंरहरुलाई सही स्थानमा पुग्न दिए ।
ठीक यहि मौकामा डी ब्रुयने अगाडि बढिसकेका थिए । र, लुकाकुबाट पास पाउना साथ ब्राजिलका डिफेन्सलाई हल्का आफुतिर तानेर बनाएको स्पेसमै प्रहार गरे । त्यो गोलमा डी ब्रुयनेको फिनिसिङ क्षमता पनि देखिन्छ । पहिलो गोल उपहार पाएपनि आफ्नो खुट्टामा बल हुँदा जुनसुकै समयमा गोल गर्न सक्ने टिम हो–बेल्जियम ।
खेलको अन्तिम २० मिनेटमा मात्रै ब्राजिल हाबी देखिएको थियो । ब्राजिलका दुई विगंर नेयमार र विलियानलाई पोष्टमा प्रहार गर्ने मौका नदिनका लागि बेल्जियमको डिफेन्स सक्दो खुम्चिएर खेलेको थियो ।
र, खुुम्चिएको डिफेन्सलाई तन्काएर स्पेस खोज्न ब्राजिलका खेलाडीले बल विनाको मुभमेन्ट प्रभावकारी बनाउन सकेनन् ।
नेयमारलाई क्लब फूटबलमा पीएसजीबाट उनीसँगै खेल्ने थोमस मुनीयरले कडा निगरानीमा राखेका थिए । नेयमार, विलियानसहित कुटिन्होले गरेको प्रहार रोक्न गोलकिपर थीबाउट कोर्टूवाँले गरेका सेभ पनि गज्जबकै थियो ।
दोस्रो हाफमा डग्लस कोष्टा र रेनेटो अगस्टो आएपछि ब्राजिलले केही मौका सिर्जना गरेको थियो । तर, त्यसलाई गोलमा परिणत गर्न सकेन । पहिलो गोल गरे लगत्तै ब्राजिलले अर्को मौका पनि सिर्जना गरेको थियो । त्यसमा रेनेटो अगस्टोको प्रहार सही ठाउँमा जान सकेन ।
समग्रमा ब्राजिलभन्दा बेल्जियम नै बढी रणनैतिक देखिएको थियो । त्यसमा पनि बेल्जियमका लुकाकु, डी ब्रुयने र एडिन हजार्डको पेस र स्किल ब्राजिलका लागि निकै घातक देखियो ।
काभानी विनाको उरुग्वे
यसपटक उरुग्वे निकै कम्प्याक्ट टिमको रुपमा देखा परेको थियो । उरुग्वेको मिडफिल्डमा युवा र निकै चलायमान खेलाडी भएका कारण उरुग्वे एक सशक्त टिम देखिन्थ्यो ।
त्यसमाथि स्वारेज र काभानीजस्ता स्ट्राइकर हुँदा उनीहरु जुनसुकै टिम विरुद्ध गोल गर्न सक्षम देखिन्थे ।
काभानीले प्रि–क्वाटरफाइनलमा बोकेको चोटका कारण क्वाटरफाइनल खेल्न सकेनन् । र, उरुग्वेमा उनको अभाव स्पष्टै देखियो ।
काभानीजस्ता चलायमान खेलाडी नहुँदा अर्का स्ट्राइकर लुईस स्वारेज पनि अलमलिए । त्यसैकारण पनि उरुग्वेका हरेक आक्रमण फ्रान्सको डिफेन्स लाइन अगाडि प्रभावहिन देखिए ।
तर, कर्नर र फ्रि–किकमा उरुग्वे सधैँभैm खरो उत्रिएको थियो । पहिलो हाफमा फ्रि–किकबाट एउटा सुन्दर मौका सिर्जना गरेर पनि उरुग्वे गोल गर्नबाट चुक्यो ।
त्यसमाथि दोस्रो हाफमा गोलकिपर फर्नान्डो मुस्लेराले हातैमा आएको बल सही तरिकाले पन्च गर्न नसक्दा उरुग्वे दोस्रो गोल खाना पुग्यो ।
अर्कोतिर सेमीफाइनल प्रवेश गरेपनि फ्रान्सको प्रदर्शन खासै राम्रो हुन सकेको छैन । फ्रान्सको मिडफल्डले अझै सोचे अनुरुप प्रदर्शन गर्न सकेको छैन ।
त्यसमाथि पनि पल पोग्बाको खेल एकनाशको छैन । उरुग्वे विरुद्ध उनले केही राम्रो मुभ बनाउन खोजे पनि अधिकांश समय अलमलिएका थिए ।
युवा फरवार्ड आन्टोईन ग्रिजम्यानको स्थिति पनि पोग्बाको जस्तै छ । ग्रिजम्यान सहित अर्का स्ट्राइकर ओलिभियर जिरुका लागि प्रयाप्त मौका सिर्जना गर्न नसक्नुले पनि फ्रान्सको मिडफिल्डले क्षमताअनुसारको खेल खेल्न नसकेको देखाउँछ ।
उरुग्वेका डिफेन्डर निकै तल बसेर खेलेको हुनाले पनि किलियन एमबाप्पे त्यति प्रभावकारी हुन सकेनन् जति उनी अर्जेन्टिना विरुद्ध देखिएका थिए ।
फ्रान्सको हालसम्मको खेल हेर्ने हो भने अर्जेन्टिना विरुद्ध बाहेक अन्य कुनैमा गतिलो टिमवर्क देखिँदैन र हालसम्म उसका खेलाडीको व्यक्तिगत प्रदर्शनमै भर परेको देखिन्छ । त्यसमा सुधार गरेर क्षमताअनुसार टिम गेम खेल्ने हो भने फ्रान्स निकै सशक्त टिम बन्न सक्छ ।