पद्मश्री पुरस्कार र पद्मश्री साधना प्रदान
खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले पद्मश्री साधना सम्मान–२०७२ र पद्मश्री पुरस्कार वितरण गरेको छ । प्रतिष्ठानद्वारा कोजाग्रत पूर्णिमाको अवसर पारेर २९ असोजमा काठमाडौंमा आयोजित कार्यक्रममा पद्मश्री साधना सम्मान वरिष्ठ साहित्यकार बैरागी काइँलालाई प्रदान गरिएको हो । पाँच दशकभन्दा बढी समयदेखि नेपाली र लिम्बु साहित्यमा कलम चलाउँदै आएका काँइलालाई नेपालका अन्य स्थानीय भाषा र तिनका साहित्यको उत्थान तथा अनुसन्धानमा योदगान पुर्याएको, उनको नेतृत्वले सुरु गरेको तेस्रो आयाम आन्दोलनले नेपाली साहित्यमा वैकल्पिक चिन्तनलाई प्रवेश गराए लगायतका योगदानका लागि पद्यश्री साधनाबाट सम्मानित प्रतिष्ठानले जनाएको छ ।
पद्यश्री साहित्य पुरस्कार–२०७२ नीलम कार्की निहारिकाको उपन्यास ‘चीरहरण’लाई प्रदान गरिएको छ । पुरस्कार वितरण समारोहमा बोल्दै प्रतिष्ठानका संरक्षक जीवा लामिछानेले महाभारतकालीन नारीले भोगेका दुःख, पीडा, अनिश्चिचता, विभेद तथा अन्यायलाई नारीकोणबाट लेखिएको उपन्यास ‘चीरहरण’लाई पुरस्कृत गर्न पाउँदा आफूलाई गौरव लागेको बताए ।
दुबै सर्जकलाई अभिनन्दनसहित प्रमाणपत्र र दुई/दुई लाख रुपैंया नगद पुरस्कार वितरण गरिएको थियो ।
निर्णायक समितिको अन्तिम सूचिमा रामलाल जोशीको कथासंग्रह ‘ऐना’, निहारिकाको उपन्यास ‘चीरहरण’, कुमार नगरकोटीको उपन्यास ‘मिस्टिका’, गिरीश गिरीको ‘वीरगञ्जः मेरो शहरको कथा’, भूपिनको कवितासङ्ग्रह ‘सुप्लाको हवाइजहाज’ गरी पाँच कृति परेका थिए ।
पद्यश्री साहित्य पुरस्कार २०६३ सालमा मोफसलका सर्जकको उत्कृष्ट साहित्यिक कृतिलाई पुरस्कृत गर्ने गरी स्थापना भएकोमा २०६६ देखि देशभरकै कृतिलाई समेट्न थालेको हो ।