पुर्जा नागरिक
सरिता तिवारी
अब समात्छ उसले दाहिने
हातमा पेस्तोल
दबाउँछ ट्रिगर
र बनाउँछ आफ्नै कन्चटलाई निशाना
सारै सजिलो छ उसलाई सिध्याउन
चाहिंदैन उसका लागि कोही पेशेवर हत्यारा
खोज्नुपर्दैन कुख्यात डन
उसलाई मार्न
काफी छ देशको व्यवस्था
हरेक दिन घरबाट निस्केर
दाखिल नहुञ्जेल घरमा
उसलाई बेरिरहेको छ
व्यवस्थाको खुनी गलफन्दाले
तानिरहेको छ रगतका बुँद बुँदबाट
प्रत्येक सास अक्सिजनको ट्याक्स
खोसिरहेको छ उसका नानीहरूको
मुखबाट सिता सिता गाँस
र पोसिरहेको छ यो दलाल जस्तो राज्यको भुँडी
उसलाई छेकी छेकी
दपेटेर, अँठ्याएर
मरुन्जेल पारेर तानेको छ
ऊसँग भएका साबुत दुई चार नोट पनि
उसका बूढा बाउको चश्मा
छोरीको कलर बक्स
र आफ्नै ब्लड प्रेसरको औषधिको मूल्यमा
फस्ट वर्ल्डमा बनेको
खास्सा ब्रिफकेश झिकाउँछ सरकार
र फुकाउँदै रातो रिबन
सुनाउँछ
कहिल्यै पूरा गर्नु नपर्ने
परिकथा जस्तो बजेट भाषण
जहाँ चौगुना रफ्तारले बढ्छ
तलब स्केलभन्दा महँगी
जब उभ्याउँछ विरोधमा हात
घोषित हुन्छ आतङ्ककारी
जब ओर्लिन्छ सडकमा
भनिन्छ आततायी
राज्यको नजरमा नजर राखेर
जबजब कट्कटाउँछ आफ्नै बङ्गारा
बनिन्छ युद्धपिपासु
खोई कहाँनेर छ यतिखेर
प्रतिरोधको स्पेस?
यो 'शान्तिप्रिय' र 'समझदार' हरूको समयमा
यी जम्मै कुरा भन्दा
बहुत कम अवगालको कुरा हुनेछ
आत्मघाती बन्नु
कम्तीमा बाँच्ने छ 'शान्तिको देश'
जोगिने छ 'बुद्धको देश'
तर के हुन्छ
अवगालको भयले
जिल्लतको डरले
यो देशका पुर्जा जस्ता नागरिकहरूले
आफ्ना कन्चटहरूलाई निशाना लगाएर
भकाभक ट्रिगर दबाए भने?
त्यतिबेला
कहाँ गएर लुकाउँछ नाक
यो 'सुन्दर' 'शान्त' मुलुकको ठेकेदारले हँ?