ग्रे–मार्केटको सामग्रीले व्यवसायमा धक्का
अनौपचारिक माध्यमबाट भित्रिने लोकप्रिय ब्राण्डका टेलिभिजन सेट बजारमा पुग्दा आधिकारिक व्यवसायीलाई मात्र मर्कामा पारेको छैन, राज्यले राजस्व पनि गुमाइरहेको छ ।
नेपालमा राज्यलाई कर तिरेर वार्षिक करीब रु.२० अर्ब बराबरको टेलिभिजन सेट र पार्टपुर्जा आयात हुन्छ । व्यवसायीहरूको दाबी अनुसार टेलिभिजनको ग्रे मार्केट (अनौपचारिक बजार) को आकार पनि यत्रै छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक भित्रिने टेलिभिजन सेटमध्ये करीब ५०० सेट अनौपचारिक माध्यमबाटै भित्रिने गरेको उनीहरूको भनाइ छ ।
ग्रे–मार्केटको सामानले व्यवसायमा ५० प्रतिशत कमी ल्याएको व्यवसायीहरू बताउँछन् । एक टेलिभिजन ब्राण्डका आधिकारिक बिक्रेता भन्छन्, “भन्सारका कर्मचारीको संलग्नता विना ग्रे–प्रडक्ट भित्रिन सम्भव नै छैन ।” अनौपचारिक बजारबाट टेलिभिजन भित्रिंदा व्यवसायमा आएको कमीले रोजगारीमा समेत असर परेको उनीहरू बताउँछन् ।
छूटको दुरुपयोग
विदेशमा ६ महीना बसेर फर्कने नेपालीले ३२ इन्चसम्मको एउटा टेलिभिजन सेट ल्याउँदा भन्सार शुल्क लाग्दैन । तर, ३२ इन्चभन्दा माथि ३९ इन्चसम्मको टेलिभिजन ल्याउँदा प्रति इञ्च रु.५०० र ४० देखि ४९ इन्चसम्मको टिभीमा प्रति इन्च रु.५५० तथा ५० इन्चभन्दा माथिको टिभी ल्याउँदा रु.१२०० का दरले भन्सार महसुल बुझाउनुपर्छ । जस अनुसार ३३ इन्चको टेलिभिजनमा रु.१६ हजार ५०० भन्सार महसुल लाग्छ भने ६५ इन्चको ल्याउँदा रु.७८ हजार । प्रत्येक टेलिभिजनमा अतिरिक्त भन्सार सेवा शुल्क बापत रु.५६५ छुट्टै बुझाउनुपर्छ । ऐनले दिएको छूट सुविधालाई केही समूहले संगठित रूपमै दुरुपयोग गरिरहेको व्यवसायीहरूको आरोप छ ।
दैनिक ५०० सेट टेलिभिजन अनौपचारिक माध्यमबाट भित्रिने गरेको व्यवसायीको तथ्यांकलाई मान्ने हो भने राज्यले दैनिक करीब रु.८० लाख राजस्व गुमाइरहेको छ । के साँच्चिकै अनौपचारिक बजारका कारण यति ठूलो परिमाणमा राजस्व गुमिरहेकोे छ त ? भन्सार विभागका महानिर्देशक तोयम राय व्यवसायीको भनाइसँग सहमत छैनन् ।
उनी भन्छन्, “वैदेशिक रोजगारबाट फर्कने नेपालीले पाएको सुविधा केही व्यवसायीका लागि असह्य भएको छ, संगठित रूपमा ग्रे–मार्केटबाट सामान भित्रियो भन्नु गलत हो ।” विदेश गएका नेपालीले राज्यले दिएको सुविधा उपयोग गरी ल्याउने टेलिभिजन सेट एउटा फ्लाइटमा ८ देखि १० वटासम्म मात्रै हुने गरेको उनको भनाइ छ ।
व्यवसायी भने सरकारले दिएको सुविधा दुरुपयोग गरेर ३२ इन्चभन्दा ठूला टेलिभिजन सेट भित्रिरहेको दाबी गर्छन् । यसरी भित्रिने टेलिभिजनमध्ये ९० प्रतिशत ३२ इन्च साइजभन्दा ठूला हुने गरेको बताउने एक व्यवसायी भन्सार शुल्क छूटको सदुपयोगभन्दा बढी दुरुपयोग भइरहेको बताउँछन् ।
उनी भन्छन्, “ग्रे–प्रडक्ट बेच्ने समूहले ३२ इन्चको नाममा भन्सार महसुल नबुझएरै त्योभन्दा ठूला टेलिभिजन सेट भित्र्याइरहेका छन् ।” एउटा व्यक्तिले एउटा मात्र टेलिभिजन सेट ल्याउन पाउने ऐनमा व्यवस्था भए पनि त्योभन्दा बढी भित्रिइरहेको उनको दाबी छ । यसरी भित्रिएका टेलिभिजन सेट यहाँबाट भारतसम्म पुग्ने गरेको एक व्यवसायीले दाबी गरे पनि उक्त दाबी झूटो भएको महानिर्देशक राय बताउँछन् ।
उपभोक्तालाई घाटा
मल्टी ब्राण्ड शोरुममा पाइने ग्रे–मार्केटका टेलिभिजन सेटको मूल्य आधिकारिक शोरुमबाट किनिएको भन्दा सस्तो भएकाले आफ्नो व्यवसायमा धक्का पुगेको व्यवसायीहरूको गुनासो छ । यद्यपि त्यसरी ग्रे–मार्केटका प्रडक्ट किन्दा उपभोक्ताले अन्ततोगत्वा घाटा ब्यहोर्नुपर्ने उनीहरूको भनाइ छ ।
अहिले टेलिभिजनका आधिकारिक बिक्रेताहरूले प्रत्येक सेटमा ६ महीनादेखि दुई वर्षसम्म वारेन्टी दिन्छन् । तर, ब्राण्डेड नै भए पनि अनौपचारिक बजारमा किनिएको टेलिभिजनमा वारेन्टी पाइँदैन ।
निर्माता कम्पनीले क्षेत्र र देश अनुसारको कोडिङ गरेर पठाउने भएकोले विदेशका स्थानीय बजारबाट किनिएका टेलिभिजन मर्मत गर्दा पनि गाह्रो हुने अधिकृत बिक्रेताहरू बताउँछन् । विश्वकप फूटबल–२०१८ नजिकिंदै गर्दा टेलिभिजनको बजार उकालो लागेसँगै विभिन्न कम्पनीहरूले ल्याएका अफर पनि अनौपचारिक बजार भएर आएको टेलिभिजन किन्ने उपभोक्ताले पाउँदैनन् ।