सिंहदरबारको दोस्रो शृृंखला आउँदै
सर्च फर कमन ग्राउण्डले टेलिशृंखला ‘सिंहदरबार’को दोस्रो संस्करण ल्याउने तयारी गरेको छ ।
हाल निर्माणको क्रममा रहेको सिंहदरबारको दोस्रो शृृंखलालाई नवीन सुब्बाले निर्देशन गरिरहेका छन् ।
दोस्रो शृंखलामा पनि अभिनेत्री गौरी मल्ल पुनः प्रधानमन्त्री आशा सिंहका रूपमा देखिने भएकी छन् ।
आफ्नो भूमिकाकाबारे प्रष्ट्याउँदै मल्लले देश ठुलो राजनीतिक परिवर्तन गरेर अगाडि बढिरहेको बेला समयसामयिक भूमिका निर्वाह गर्न पाएकोमा आफू उत्साहित भएको बताइन् । लामो अध्ययन र अनुसन्धान गरी तयार पारिएको शृंखलाले सुशासनको मार्ग देखाउने उनको भनाइ छ ।
दोस्रो शृंखलाले सिंहदरबारको पर्खालभित्र हुने राजनीतिक दृश्य र चुनौतिको सामना गर्दै परम्परागत सोच बदलेर सहकार्यात्मक संस्कारमा अगाडि बढ्न चाहने एक महिला प्रधानमन्त्रीको राजनीतिक यात्राका आरोह–अवरोहलाई उजागर गर्नेछ ।
यो शृृंखलाले संघीयता, असल शासन, मौलिक हक, समावेशीकरण तथा लैङ्गिक अल्पसंख्यकहरूको अधिकारजस्ता मुद्दाहरूलाई पनि अगाडि सारेको छ ।
अमेरिकी सहयोग नियोग (युएसएड)को आर्थिक सहयोगमा सर्च फर कमन ग्राउण्ड नेपालले उत्पादन गरेको टेलिशृंखला असारको अन्तिम सातादेखि प्रसारणमा आउनेछ । यसको निर्माण साझेदार शुभ मिडिया होम हो ।
दोस्रो शृृंखलामा मल्लका साथै रमेशरञ्जन झा, प्रमोद अग्रहरि, हेमन्त चालिसे, आलोक थापा, प्रकाश घिमिरे, बादल भट्ट आदि प्रमुख भूमिकामा देखिनेछन् ।